गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ३ गते । कलाकार शशिविक्रम शाहलाई भीमदर्शन रोका आदर्श गुरु सम्मान पुरस्कार प्रदान गरिएको छ । भीम दर्शन रोका स्मृतिकोषद्वारा कलाकार शाहलाई भीमदर्शन रोका आदर्श गुरु सम्मान पुरस्कार प्रदान गरिएको हो । सिद्धार्थ वनस्थली–२०४० को संयोजनमा स्मृतिकोषद्वारा आयोजित कार्यक्रममा साहरा ज्येष्ठ नागरिक समाज, पनौती खोपासीलाई भीमदर्शन रोका समाज सेवा सम्मान पनि प्रदान गरिएको छ । सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा पढाउनुहुने गुरु भीमदर्शन रोकाको स्मृतिमा सो इन्स्टिच्युटका विसं. २०४० सालमा एसएलसी दिएका विद्यार्थीद्वारा ‘भीमदर्शन रोका स्मृतिकोष’ को स्थापना गरेर समाज सेवा र आदर्श गुरुका रूपमा काम गरिरहनुभएका व्यक्तित्वलाई सम्मानित गर्दै आएको छ ।
साहित्यिक पत्रकार रोचक घिमिरेले सादा जीवन र उच्च विचारका धनी गुरु र नेपालमा मुक्तक विधा भित्र्याउने भीम दर्शनका असल विद्यार्थीले आफ्ना गुरुको सम्झनामा बनाएको स्मृतिकोषले कलाकार शाह र साहरा ज्येष्ठ नागरिक समाजलाई सम्मान गर्नु सह्रानीय काम भएको बताउनुभयो । सम्मानित व्यक्तित्व कलाकार शशिविक्रम शाहले ८४ वर्षको उमेरमा पनि आदर्श गुरुको सम्झनामा स्थापना भएको पुरस्कार पाउँदा आफूमा जोश, जाँगर थपिएको बताउनुभयो ।
समाजमा हाल ३६० जना ज्येष्ठ नागरिक सङ्गठित भएको, स्वास्थ्य शिविर, नजिकका तीर्थको भ्रमण, भजनकीर्तन, व्यायाम, प्रवचनलगायतका गतिविधिमार्फत ज्येष्ठ नागरिकका दिनचर्यालाई सहज बनाउने काम गर्दै आएको छ । मुक्तक समाजका अध्यक्ष रामकाजी कोनेले नेपाली साहित्यमा मुक्तक विधालाई प्रवेश गराउनुहुने भीमदर्शन रोकाको नाममा मुक्तक समाजले पनि पुरस्कार स्थापना गरेको जानकारी दिनुभयो ।