• ३ चैत २०८१, आइतबार

गण्डकी प्रदेशसभामा क्यालेन्डर लागू : चैतमा आठ दिन संसद बैठक बस्ने

blog

फाइल तस्बिर

फडिन्द्र अधिकारी

लेखनाथ, फागुन २ गते। अघिल्लो वर्ष सरकार गठन, विश्वासको मत जस्ता प्रक्रियामै लामो समय खर्चिएको गण्डकी प्रदेशसभा यसपालि व्यवस्थित देखिएको छ।प्रदेशसभाले संसद बैठकको सम्भावित कार्यपालिका बनाएर लागू गरेको छ।

फागुन महिनाबाट कार्यपालिका बनाएर बनाएर कार्यान्वयन गरेको प्रदेशसभाले चैत महिनाको सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ। प्रदेशसभाका उपसचिव प्रेम सुवेदी कार्य व्यवस्था परामर्श समितिको बैठकबाट सम्भावित कार्यतालिका बनाएर सार्वजनिक गरिएको बताउनुहुन्छ।

कार्यतालिका अनुसार चैतको १० देखि १८ गतेसम्म आठ दिन बैठक बस्ने तय छ।चैत १६ गते शनिबार भने बैठक हुने छैन।प्रत्येक बैठकको प्रारम्भमा आकस्मिक समय रहने र कार्यतालिकामा समावेश नभएका तर तत्काल छलफल आवश्यक पर्ने विषयवस्तुहरू कार्यसूचीमा थप्न सकिने निर्णयसमेत कार्यव्यवस्था परामर्श समितिले गरेको छ।चैतमा विषयगत समितिका बैठक भने ९ दिन बस्ने तय भएको छ।

प्रदेश सभाका प्रवक्तासमेत रहनुभएका उपसचिव सुवेदीले विषयगत समितिका बैठकहरु बस्ने दिन सदनको बैठक नहुने गरी समय मिलाइएको सुनाउनुभयो।“फागुन महिनाको कार्यतालिका लागू भयो।चैत महिनाको सम्भावित कार्यतालिका सार्वजनिक गरेका छौँ,” उहाँले भन्नुभयो, “कार्यतालिकाले बैठक सञ्चालन र समितिा बैठकलाई व्यवस्थित बनाउन सघाएको छ।”

प्रदेशसभामा चैत १० गते ‘जीवनाशक विषादी व्यवस्थापनसम्बन्धी विधेयक’ दफावार छलफल गरी निर्णयार्थ पेस हुनेछ भने ११ गते ‘गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तीकरणसम्बन्धी विधेयक’ र ‘मगर तथा गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने विधेयक’माथि सैद्धान्तिक छलफल हुने तय छ।

चैत १२ र १३ गतेका लागि ‘गण्डकी प्रदेश सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार विधेयक’ सम्बन्धी छलफलका लागि समय तय गरिएको छ।चैत १४ गते ‘खानी तथा खनिज सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘भवन निर्माण तथा बस्ती विकास विधेयक’माथि छलफल हुनेछ।

सदनमा चैत १५ गते मुख्यमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ भने चैत १७ र १८ गते विभिन्न विधेयकलाई सम्बन्धित समितिमा पठाइने तालिका छ। सँगसँगै यी दिनमा शून्य, विशेष समय र आकस्मिक समयमा सांसदहरुले उठाएका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने तालिका छ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार संसद बैठक सञ्चालन हुँदा बैठक प्रभावकारी हुने र सांसदहरुलाई समय व्यवस्थापन, अध्ययन, तयारी र अरु कार्यक्रम व्यवस्थापन गर्न सजिलो भएको छ।सत्तारुढ नेकपा (एमाले)का प्रमुख सचेतक गोविन्दबहादुर नेपाली सम्भावित कार्यतालिका कार्यान्वयनको मूल्याङ्कन गर्ने बेला भइनसकेको भए पनि यसले सहजता ल्याएको बताउनुहुन्छ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) की सांसद दमयन्ती रुचालले यसले समय व्यवस्थापनमा सघाएको उल्लेख गर्नुभयो।