• २ चैत २०८१, शनिबार

गाजा दहमा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

blog

पर्यटकीय क्षेत्र गाजा दहमा आन्तरिक पर्यटकहरु । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, चैत्र २ गते । बागलुङको जैमिनी र गल्कोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको संगमस्थलमा गाजा दह पर्छ । समुद्री सतहदेखि २ हजार ५ सय मिटरको उचाइमा रहेको गाजा दहमा सदरमुकाम बागलुङ बजारदेखि २४ किलोमिटरको यात्रा पूरा गरेपछि पुग्न सकिन्छ । 

गाजा दह पर्यटकीय र धार्मिक दृष्टिकोणले आकर्षक गन्तव्य पनि हो । यहाँ रहेको सिद्ध बराहको थानमा जैमिनी, गलकोट, बागलुङ, काठेखोला र बरेङका बासिन्दा नियमित पूजा गर्छन् । यो दहबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेसहितका हिमालको दृश्याबलोकन गर्न सकिने भएपछि पछिल्लो समय आन्तरिक पर्यटक त्यहाँ पुग्नुहुन्छ ।  

हरेक वर्ष सिद्धथानमा बैकुण्ठ चतुदर्शी तथा बाला चतुदर्शीमा मेला लाग्ने गर्छ । बाला चतुदर्शीमा सतबीज छर्नेको भीड समेत लाग्छ । पूर्णिमा मेला र विभिन्न चाडपर्वमा गाजा दहमा स्नान गरी सिद्वबराहको दर्शन गर्न भक्तजन पुग्ने गर्छन् । गण्डकी प्रदेशले दहलाई पर्यटन क्षेत्रमा सूचीकृत गरे पनि पूर्वाधार निर्माणमा बजेट नपाउँदा स्थानीय निराश छन् ।

गाजा दहमा आन्तरिक पर्यटकको चहल–पहल बढ्न थालेपछि सो क्षेत्रमा सामुदायिक घरबास समेत सञ्चालन आएको छ । गाजा दहमा चिसो मौसममा हिमपातमा रमाउनेदेखि अत्यधिक गर्मी छल्न आन्तरिक पर्यटकहरु आइरहने स्थानीय नरबहादुर थापाको भनाइ छ ।  

गाजा दहमा पर्यटकीय पूर्वाधार निर्माण गर्न गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गर्न बेवास्ता गरेपछि स्थानीय तहको पहलमा सिद्ध बराहको थानमा मूर्ति निर्माण गर्न सुरु गरिएको छ । मन्दिर व्यवस्थापन समितिको १० लाख र दाताबाट संकलन गरिएको १० लाख गरी २० लाख रुपियाँको लागतमा २० फिट अग्लो मूर्ति निर्माण सुरु गरिएको जैमुनी नगरपालिका –३ का वडा अध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिनुभयो ।

केही महिनाअघि गाजा दहमा गरिएको महायज्ञबाट ७२ लाख रुपियाँ संकलन भएको रकमबाट १० लाख रुपियाँ मूर्ति निर्माणका लागि छुट्टाइएको हो । मूर्तिको शिलान्याश गर्दै पूर्व जनप्रतिनिधि तथा समाजसेवी मानबहादुर छन्त्यालले गाजा दहलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सबैले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मूर्ति निर्माणका लागि १ लाख २५ हजार रुपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । यस्तै, जैमनी नगरपालिका –९ दमेक देउरालीखानी निवासी डम्बरबहादुर छन्त्याल र उहाँकी पत्नी भिमकली छन्त्यालले पनि गाजा क्षेत्रको सम्रग विकासका लागि एक–एक लाख रुपियाँ सहयोगको घोषणा गर्नुभएको छ । 

महायज्ञमा संकलन भएको रकम पर्यटकीय पूर्वाधार निर्माणमा खर्च गरिने वडाध्यक्ष भुजेलले बताउनुभयो । धार्मिक आस्थाको केन्द्र रहेको गाजा दहस्थित सिद्ध बराहको मन्दिर जीर्ण भएकाले पुननिर्माण गर्नेदेखि ताल संरक्षणसंगै एकीकृत विकासका लागि गुरुयोजना बनाउने तयारी भइरहेको वडाध्यक्ष भुजेलको भनाइ छ ।