• २ चैत २०८१, शनिबार

पीडित परिवारलाई नगद सहायता प्रदान

blog

रिन्जे शेर्पा दम्पती ई चेक प्रदान गर्नुहुँदै गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत २ गते। ताप्लेजुङको मैवाखोला गाउँपालिकाले बालबालिका गुमाएकासमेत पीडित तीन परिवारलाई राहत सहायता रकम प्रदान गरेको छ। गाउँपालिकाले आफ्ना बालबालिका गुमाएका रिन्जे शेर्पा र सञ्चहाङ बराइलीको परिवारलाई राहत रकम प्रदान गरेको हो। 

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार वडा नं २ ढुङ्गेसाँघु, खानी टोलका शेर्पा र बराइलीको परिवारलाई ५० हजार रुपियाँका दरले राहत रकम प्रदान गरिएको छ। शेर्पाका १२ वर्षीया छोरी ऐतमाया शेर्पा र बराइलीका छोरा ११ वर्षीय सन्देश बराइलीको गत असोज तेस्रो साता पौडी खेल्ने क्रममा खोलाले बगाएर मृत्यु भएको थियो।

बालबालिका गुमाएका पीडित परिवारलाई गाउँपालिका विपत् व्यवस्थापन कोषबाट सहायता रकम उपलब्ध गराइएको अध्यक्ष वनेमले जानकारी दिनुभयो। यस्तै वडा नं. ४ साँघुका मिर्गौलाका रोगी किपादोर्ची शेर्पाको उपचारका लागि पनि गाउँपालिकाले ५० हजार रुपियाँ सहयोग रकम उपलब्ध गराएको छ। मिर्गौला रोगी शेर्पाकी श्रीमती खाङ्डु शेर्पालाई सहयोग रकम हस्तान्तरण गरिएको गाउँपालिकाका प्रवक्ता चन्द्रकुमार तामाङले जानकारी दिनुभयो।

प्रवक्ता तामाङका अनुसार मिर्गौलाका रोगी शेर्पाको उपचारका लागि मैवाखोला गाउँपालिका अध्यक्ष स्वास्थ्य सहयोग कोषमार्फत रकम उपलब्ध गराइएको हो। राहत सहायता रकमको चेक गाउँपालिका अध्यक्ष वनेमले पीडित परिवारलाई हस्तान्तरण गर्नुभएको पनि प्रवक्ता तामाङले जानकारी दिनुभयो।