• २ चैत २०८१, शनिबार

प्रधानमन्त्री कप : पुलिसको लगातार चौथो जित

blog

ब्याटिङ गर्दैै पुलिसका खेलाडी ।

काठमाडौँ, चैत २ गते । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ ।

दाङको लमही क्रिकेट मैदानमा शनिबार भएको खेलमा पुलिसले मधेश प्रदेशलाई एक सय ९३ रनले हरायो । जितसँगै चार खेलबाट आठ अङ्क जोड्दै पुलिस शीर्षस्थानमा उक्लिएको छ । यसअघि पुलिसले लुम्बिनी प्रदेश, कोशी प्रदेश र एपिएफ क्लबलाई हराएको थियो । मधेशले लगातार दोस्रो हार खेपेको छ । 

जितका लागि पुलिसले दिएको दुई सय ८९ रनको लक्ष्य पछ्याएको मधेशले २६.१ ओभरमा सबै विकेटको क्षतिमा ९५ रन मात्र बनाउन सक्यो । मधेशका लागि दीपेश दासले सर्वाधिक ३१ रन बनाउनुभयो । यस्तै रुपेश सिंहले १६ र विशाल पटेलले १३ रन बनाउनुभयो । 

बलिङमा पुलिसका ललितनारायण राजवंशीले पाँच विकेट लिनुभयो । कुशल भुर्तेलले दुई तथा करण केसी, सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट झार्नुभयो ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ८८ रन बनाएको थियो ।

पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६३ रन बनाउनुभयो । आरिफ शेखले ५५, दीलिप नाथले ४५, अर्जुन साउदले ४७,  शंकर रानाले २७ र रशिद खानले १४ रन बनाउनुभयो । बलिङमा मधेशका रुपेश सिंहले चार विकेट लिनुभयो । विशाल पटेलले तीन तथा कमल गुप्ताले दुई र रञ्जित कुमारले एक विकेट झार्नुभयो ।

यस्तै रुपन्देहीको सिद्धार्थ क्रिकेट मैदानमा शनिबार नै भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई सात विकेटले हरायो । 

जितका लागि कोशीले दिएको दुई सय ३१ रनको लक्ष्य पछ्याएको आर्मीले ४७.१ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । आर्मीको पनि यो लगातार चौथा जित हो ।

जितसँगै आर्मीले आठ अङ्क बनाएको छ । कोशीले लगातार चौथो हार खेपेको छ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहेको छ ।