राजकुमार भट्टराई
खोटाङ, चैत २ गते । खोटाङको हलेसी तुवाचुङ नगरापलिका–१० अर्खौलेस्थित ८१ वर्षीया वृद्धा जयथकु श्रेष्ठले आफ्नो घर जग्गा विद्यालयलाई दान गर्नुभएको छ ।
घर नजिकै रहेको सरस्वती माध्यमिक विद्यालयलाई वृद्धा श्रेष्ठले घरसहित ६ आना, २ पैसा, २ दाम जग्गा दान गर्नुभएको हो ।
स्वर्गीय दिलबहादुर श्रेष्ठकी श्रीमती जयथकु हाल छोरा बुहारीसँग जिल्ला बाहिर बस्दै आउनुभएको छ । तीन छोराहरुको स्वीकृतिमा आमा जयथकुले पुर्खौली घर र जग्गा विद्यालयलाई दान गर्नुभएको हो ।
अर्खौले बजारमा रहेको करिब ८ लाख बराबरको घर र जग्गा फागुन २७ गते वृद्धा जयथकुले मालपोत कार्यालय दिक्तेलमा उपस्थित भएर विद्यालयलाई निःशुल्क नामसारी गरिदिनुभएको हो ।
आफ्नो पुर्खौली घर जग्गा पैसामा बिक्री गर्नु भन्दा विद्यालयलाई दिन आमाले उचित ठाने पछि विद्यालयलाई दान गरिएको जयथकुका छोरा गोपाल श्रेष्ठले बताउनुभयो । छोरा गोपाल सरस्वती माध्यमिक विद्यालयका पूर्व शिक्षक पनि हुनुहुन्छ ।
आफ्नो सबै परिवार सोही विद्यालयमा अध्ययन गरेकाले विद्यालयलाई निःशुल्क जग्गा दिन परिवार राजी भएको श्रेष्ठले बताउनुभयो । हरेक मानिसले ज्ञान लिने ठाउँ विद्यालयलाई सहयोग गर्ने आमाको इच्छा अनुसार केही रकमको लोभ नगरी परिवारले विद्यालयलाई पुर्ख्याैली घर जग्गा दान गरेको उहाँको भनाइ छ ।
निःशुल्क घर जग्गा दान गर्ने जयथकुसहित सबै परिवारलाई विद्यालयले धन्यवाद दिएको छ । विद्यालय भन्दा करिब ६ सय मिटर टाढा रहेको उक्त घर जग्गालाई विद्यालयको हितमा सदुपयोग गरिने प्रधानाध्यापक नविन चाम्लिङले बताउनुभयो ।
उक्त घरलाई शिक्षक आवासको रूपमा प्रयोग गर्न सकिने उहाँको भनाइ छ । घरलाई भाडामा लगाएर विद्यालयको आम्दानी थप्दै शैक्षिक सुधारमा खर्च गर्न पनि सकिने प्रधानाध्यापक चाम्लिङको भनाइ छ ।