ठाकुरप्रसाद आचार्य
म्याग्दी, चैत २ गते । पर्यटन प्रवर्धनमा टेवा गर्ने उद्देश्यले अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्ने मार्ग र म्याग्दी र पर्वतका केही गाउँहरू समावेश गरेर बनाइएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गको नक्सा सार्वजनिक गरिएको छ ।
शनिबार एक कार्यक्रममार्फत संविधानसभाका सदस्य गोविन्द पौडेल, प्रतिनिधिसभाका पूर्व सदस्य भुपेन्द्रबहादुर थापा, नेकपा (एमाले) जिल्ला कमिटी म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुन, नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका समितिका अध्यक्ष कृष्णप्रसाद बरुवाल, एक्याप धान्द्रुक कार्यालयका प्रमुख भिम उपाध्याय र म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले सामुहिक रूपमा नक्सा सार्वजनिक गर्नुभएको हो ।
जिल्लाको पर्यटन विकासमा सघाउने उद्देश्यले चन्दा सहयोग सङ्कलन गरेर प्राप्त भएको ६ लाख रुपियाँ खर्चिएर मौरिस हर्जोग ट्रेल र अन्नपूर्ण–धौलागिरि सामुदायिक ट्रेकको नक्सा तयार पारिएको पर्यटनकर्मी चित्र तिलिजाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘जिल्लाको पर्यटन विकासमा टेवा गर्ने उद्देश्यले चन्दा सहयोग जुटाएर नक्सा तयार पारेका हौं । नक्सा तयार पर्न यहाँका होटल व्यावसायी र विदेशमा रहेका म्याग्देलीले सहयोग गर्नुभएको छ ।’’
पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्ने मौरिस हर्जोग पदमार्गका बारेमा नक्सा तयार पारिएको पदमार्गका अभियान्ता तेज गुरुङले बताउनुभयो ।
यसअघि तयार पारिएको नक्सा पूर्ण नभएकाले यसपाली सबै समेटेर नक्सा बनाइएको गुरुङले बताउनुभयो । नक्साले यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने आशा गरिएको उहाँको भनाइ छ ।
७५ वर्षअघि फ्रान्सेली आरोही मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमाल चढ्ने क्रममा पुगेको आधार शिविर र त्यहाँ पुग्ने पदमार्गको नक्साले पर्यटकलाई सहज हुने अपेक्षा गरिएको संविधानसभा सदस्य गोविन्द पौडेलले बताउनुभयो । जिल्लामा रहेका मुख्य पदमार्गका बारेमा तयार पारिएको नक्साले जिल्लाको पर्यटन विकासमा ठुलो टेवा पुग्ने उहाँको भनाइ छ । स्थानीय सरकारले पदमार्गको विकास, पूर्वाधार निर्माण र प्रचार–प्रसारमा सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।
प्रतिनिधिसभाका पूर्व सदस्य थापा र म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रेष्ठले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन पूर्वाधार निर्माणमा जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो । अन्नपूर्ण प्रथम हिमाल र मौरिस हर्जोग पदमार्गको प्रचार–प्रसार गरेर आरोहीलाई यहाँ ल्याउन सकेमा आर्थिक विकासमा टेवा पुग्ने उहाँहरूको भनाइ छ ।
मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको पर्यटन प्रवर्धन, प्रचार–प्रसार र पूर्वाधार निर्माणमा गाउँपालिका जुटेको बताउँदै पालिका अध्यक्ष भारतकुमार पुनले नक्साले पर्यटन प्रवर्धन थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले करिब एक करोड २५ लाख लगानीमा मौरिस हर्जोग पदमार्गमा पर्यटकीय पूर्वाधार निर्माण थालिएको जानकारी दिनुभयो ।