• २ चैत २०८१, शनिबार

माछा मार्ने क्रममा एक युवकको मृत्यु

blog

राममणि दाहाल

हेटौँडा, चैत २ गते । करेन्ट लगाई माछा मार्ने क्रममा मकवानपुरको मनहर गाउँपालिका वडा नं. ६ नयाँबस्ती बस्दै आएका एक युवकको मृत्यु भएको छ ।

मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ४ घर भई सात–आठ महिनादेखि नयाँबस्तीस्थित आफन्तको घरमा बस्दै आएका इन्द्रलाल मोक्तानको स्थानीय नहर खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय मनहर, मकवानपुरका प्रहरी निरीक्षक विशाल सापकोटाले जानकारी दिनुभयो । 

३१ वर्षीय मोक्तानले आफन्तको घरबाट करिब १५–२० मिटर दक्षिणतर्फ रहेको नहर खोलामा बिहीबार साँझ १७ः३० बजेको करेन्ट लगाई माछा मार्ने क्रममा घाइते भएको थिए । 

घाइते मोक्तानलाई आफन्तले उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन लगेकोमा उपचारको क्रममा १९ः३० बजे मृत्यु भएको थियो । तर परिवारका सदस्यले यसअघि मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते भएको प्रहरीलाई जानकारी गराएकोमा हाल जिल्ला प्रहरी कार्यालय चितवनमा भने करेन्ट लगाई माछा मार्ने क्रममा घाइते भएको बेहोरासहित निवेदन दिएको प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो । 

उहाँका अनुसार सुरुमा करेन्ट लगाई माछा मार्ने क्रममा घाइते भएको भन्दा समस्या हुने डरले मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको बताएको हुनसक्छ ।

मोक्तानको शव हाल सरकारी अस्पताल चितवनमा रहेको छ ।