• ३ चैत २०८१, आइतबार

पाँचथर गोल्डकप उपाधिका लागि नमोबुद्ध र मच्छिन्द्र भिड्दै

blog

नारायण तुम्बापो

फिदिम, चैत २ गते । पाँचथरको फिदिममा जारी पाँचौं पाँचथर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि भिडन्त आज मच्छिन्द्र फुटबल क्लब काठमाडौँ र नमो बुद्ध यूथ क्लब सप्तरीबिच हुँदै छ । शुक्रवार आयोजित प्रि–म्याच प्रेस कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षकहरूले उपाधि कब्जा गर्ने दाबी गरेका छन् । जसले खेललाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ । 

मच्छिन्द्रसँग अनुभव र स्टार खेलाडीको टिम रहेको छ । मच्छिन्द्र फुटबल क्लबलाई अनुभवी खेलाडीहरूको बलियो समर्थन छ । घरेलु खेलाडीहरूमा पूर्व राष्ट्रिय टिमका स्टार नवयुग श्रेष्ठ, जया गुरुङ, विशाल घलान जस्ता उत्कृष्ट खेलाडी छन् भने विदेशी खेलाडी स्टेफन र इब्राहिम टिमको बलियो पक्ष हुन् । प्रशिक्षक सबिन अधिकारीले अघिल्ला कमजोरी सुधारेर उपाधि जित्ने लक्ष्य राखेका छन् ।

यता नमोबद्धसँग अपराजित यात्रासँग उच्च मनोबल छ । नमो बुद्ध यूथ क्लबले यसअघि ए डिभिजनका दुई ठुला टोली नेपाल पुलिस क्लब र लिग लिडर चर्च ब्वाइजलाई हराएर फाइनलमा स्थान बनाएको हो । गोलकिपर जिहारत शेख टिमका सशक्त पहरेदार हुन् । जेनिस प्रजापति, राज भुसाल, दीपेश चाम्लिङ राई तथा विदेशी खेलाडी एलेक्स विलियम जस्ता खेलाडीको उत्कृष्ट प्रदर्शन नमोबुद्धका लागि निर्णायक हुन सक्छ । प्रशिक्षक सुरेश लामाले दबाबमुक्त रहेर आक्रामक फुटबल खेल्ने रणनीति लिएको बताउनुभयो । 

विजेता टोलीले रु. ११ लाख १ हजार १११ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले रु. ५ लाख ५५ हजार ५५५ पाउनेछ । उत्कृष्ट खेलाडीहरूलाई विभिन्न पुरस्कार वितरण गरिनेछ आयोजक पाँचथर क्लब उपाध्यक्ष योगराज सेढाईले बताउनुभयो । 

आजको खेलले पाँचथर गोल्ड कपको इतिहासमा अर्को रोचक अध्याय थप्नेछ । फुटबल प्रेमीहरूका लागि यो भिडन्त उत्साहजनक हुने निश्चित छ ।