अमिरा भावुक देखिन्थिन् । उनी आफ्नो दायाँ हात लोग्नेको कुममा राखेर हिँडिरहेकी थिइन् । केही क्षण तिनीहरू रुखका पुराना पातहरूमा टेकेर कोलम्बिया रिभरको किनारैकिनार बिस्तारै अघि बढे । नदीका गाढा हरियोभन्दा पनि मधुरो कालो रङका मनमोहक तरङ्गको दृश्यावलोकन गर्ने इच्छाले उनीहरू छेउमै रहेको रेड–म्यापलको वृक्षमुनिको ढिस्कोमा एकैसाथ बसे ।
जाहिर चाहिँ दुई हप्तापछिको यस भेटले खुसी देखिन्थ्यो तर अमिराको अनुहारमा खुसीका उज्याला रङ देख्न सकिँदैनथ्यो । जाहिरले बाक्लो केशभित्रको आफ्नी पत्नीको गोरो अनुहारमा अनिद्रा र चिन्ताहरूले कोरेका मलिन धर्साहरू सहजै देख्न सक्थ्यो । “आज कहाँबाट त ? फोन पनि गरिनौ हिजो–अस्ति,” पार्किङमा गाडी अड्याएर पत्नीलाई हस्याङफस्याङ गर्दै भेट्न आइपुगेको जाहिरले सोध्यो ।
“अहिले सिधै रिकभरी भिलेजबाट,” अमिराले उत्तर दिइन्, “यसै वासिङ्टनको रिजफिल्डमा रहेको पुनस्र्थापना वा सुधारगृह हो त्यो ।” “अनि यत्तिका कामहरू गर्नुपर्दा फोन गरेर मलाई बोलाउनु पर्दैनथ्यो ? तिमीलाई सहयोग हुन्थ्यो, सजिलो हुन्थ्यो,” जाहिरले स्वाभाविक असन्तुष्टि व्यक्त गर्यो ।
“त्यहाँसम्म बुवा नै आउनुभएको थियो,” अमिराले भनिन्, “ज्वाइँलाई खबर नगर, काम छोडेर यता दौडिनुहुन्छ, गाह्रो हुन्छ भन्नुभयो ।” “अनि कस्तो छ भाइको अवस्था ?”
“रिकभरी भिलेजमा सद्दे मान्छेलाई त लगिँदैन नि, तिमीलाई थाहै छ,” एकछिन रोकिएर अमिराले भनिन्, “तर पनि स्टिल आई एम होपफुल ।” जाहिर बोलेन, अमिराको ढाडमा मुसारेर सान्त्वना व्यक्त ग¥यो । पूर्वाह्नको समय थियो र कोलम्बिया रिभर शान्त थियो । ससाना जलतरङ्ग नदीले बगाएर ल्याएका चाँदीका तार झैँ देखिन्थे । तिरिरी घाम लागेको थियो र ठुला छालहरू आइपुगेका थिएनन् । किनारैकिनार लाम्चो आकारमा रहेका जङ्गलका रुखहरू हरिया र बाक्लै थिए । केही रुख फुलेका थिए । यो देखेर अमिरालाई दक्षिण भारतको यात्रा सम्झना भयो । भारतको तमिलनाडुमा उनले सेता लहरे फूलहरू देखेकी थिइन् । फुलेका रुखहरू त देखिनन् तर यहाँका यी डगउडका फूलहरू जस्तै शुभ्र–श्वेत फूलहरू त्यहाँका महिलाको केशविन्यासमा यथेष्ट प्रयोग भएको सम्झना उनलाई छ ।
“पहिलो अनि दोस्रो हप्ता के के गर्यौ ?” अमिराको घाँटीबाट तल सर्दै गरेको हरियो र सेतो बुट्टामिश्रित सल मिलाइदिँदै जाहिरले सोध्यो । “वास्तवमा पहिलो हप्ता पनि म माइतमा खासै बसिनँ, केही बाल्यकालीन साथीहरू भेटेँ । दोस्रो हप्ता भाइलाई लिएर प्रशस्त घुमफिर गर्यौँ ।”
भाइको प्रसङ्गले अमिरा र जाहिर दुवै गम्भीर भए । पश्चिमको क्यास्केड शृङ्खलामा वर्षा भए जस्तो लाग्यो– कतै केही बाक्लो र कतै पातलो गरी । जाहिरले घाँटी त्यतै तन्काएर भन्यो, “पानी पो पर्ला जस्तो छ ।”
“परोस्, पानी र माटोको स्पर्श सधैँ सुखद लाग्छ मलाई,” अमिराले भनिन्, “आमाका अथवा अल्लाहका हातहरूको मृदु स्पर्श जस्तो ।” नभन्दै मसिना पानीका थोपाहरू खस्न थाले ।
“खोइ भाइ कसरी त्यस्तो अवस्थामा पुग्यो,” अमिराले भाइको कुरा सुरु गरिन्, “पाकिस्तानमा जस्तो नभए पनि हाम्रो सोसाइटीमा यहाँ अमेरिकामा पनि पारिवारिक अनुशासन प्रायः कडा नै हुन्छ ।” “ज्यादा रिस्ट्रिक्सन नै हो तिम्रो भाइ बिग्रनुको कारण,” जाहिरले मौका पाएर भन्यो, “भलिबल हाने जस्तो, जति जोडले दबाइन्छ त्यति नै माथि उफ्रिन्छ, अनि आउट अफ दी बोर्डर हुन्छ ।” “त्यस्तो हो र ?” भने झैँ गरी अमिराले तल्लो ओठ लेप्य्राइन् ।
“किन ? तिमीलाई त्यस्तो लाग्दैन ?”
“कडाइ त थियो हाम्रो परिवारमा पनि, सात वर्षको उमेर पुगेका सबैले सारा काम छोडेर पनि, स्कुलको क्लास छोडेर पनि पाँच पटकको नमाज अनिवार्य पढ्नु पथ्र्यो; जुन अहिले पनि पर्छ,” अमिराले भनिन्, “तिमीलाई थाहै छ, महिलाका निम्ति त झन् कति अनुशासन हुन्छन्; नमाज र रोजाको सन्दर्भमा बाहेक तिमी पुरुषहरू प्रायः स्वतन्त्र नै हुन्छौ । भाइले पनि त कुन कडाइको सामना गर्नु पर्यो र ! अब्बाले उसलाई ११ कक्षा पढ्दा पढ्दै मोटरसाइकल र मोबाइल फोन दिनुभएको थियो जब कि त्यति नै बेला ब्याचलर्स दोस्रो वर्षमा पढ्दै गरेकी मलाई ती कुराको सुविधा दिइएको थिएन । ऊ जुनसुकै स्कुल रोजेर पढ्न सक्थ्यो, मलाई गल्र्स स्कुल नै खोजिन्थ्यो । ऊ मोटरसाइकल भट्भटाएर कलेज जान्थ्यो, मलाई युनिभर्सिटी पुर्याउन अब्बा आफैँ जानुहुन्थ्यो । त्यसपछि त हामीले पाकिस्तान छोड्यौँ तर पनि प्रतिबन्धहरू बोकेरै आयौँ ।”
पानीका थोपाहरू बिस्तारै शान्त भएपछि अमिराले फेरि भनिन्, “भाइलाई के थियो र, समरका छुट्टीहरूमा एउटा टिसर्ट र हाफपेन्ट लगाएर मोटरसाइकल भट्भटाउँदै ऊ सियाटलसम्म पुग्थ्यो, साथीहरूसँग रल्लिन्थ्यो र तेस्रो वा चौथो दिन फुर्तीसँग फर्किन्थ्यो । १२ कक्षादेखि त बिचरो पढ्नै सकेन ।”
“त्यसरी डुलिहिँड्दा अब्बा–अम्मी केही भन्नुहुन्थेन ?”
“अलि अलि मात्र, ऊ छोरो थियो; उसका कपडाहरू धुने आइरन गरिदिने र आल्मारीमा ढङ्गसँग राखिदिने जिम्मेवारी मेरो थियो,” अमिराले भनिन्, “हामी केटी मान्छे त अमेरिका जस्तो यस्तो ठाउँमा पनि झन्डै कपडाले प्रशस्त ढाकिएरै युनिभर्सिटी पुग्थ्यौँ, भैगो यस्ता कुरा कति गर्नु,” घडी हेरेर भनिन्, “जुहरको
समय भयो ।” उनीहरू उठेर नदी किनारमा गए अनि हात, मुख र गोडा धोएर सोही ठाउँमा फर्के । “भोक पनि लाग्यो नि हैन ? खाना ल्याएकी छु मैले, पहिले नमाज मुकम्मल होस्,” अमिराले आफ्नो लोग्नेको अनुहारमा हेरिन् अनि आफ्नो ब्यागबाट बुट्टे च्यादर निकालेर जा–ए–नमाजको रूपमा चौरमा बिछ्याइन् ।
जाहिरले पनि आफ्नो ठुलो रुमाल बिछ्यायो र उनीहरू नमाज पढ्न थाले– उभिने, निहुरिने, बस्ने, फेरि निहुरिने, फेरि उठ्ने गरेर उनीहरू मध्याह्नमा पढिने नमाज–ए–जुहरमा व्यस्त रहे ।
उनीहरूको शिरमाथिको रेड म्यापलका हाँगाहरूमा ‘सङ स्प्यारो’ भन्ने भँगेराका बथानहरू जम्मा भएर कराउँदै थिए, “चिप चिप चिप चिप च्याँ चिरिरिरी ।” डगवुड रुखको फेदबाट छोटाकाने लाटोकोसेराले कुकुरको छाउराको जस्तो आवाज निकाल्यो, “क्याओ क्याओ क्याओ कअरअर्रो ।”
“अस्सलाम अलैकुम् वरहमतुल्लाह,”
उनीहरू उठे ।
ब्यागमा पोको पारी अमिराले ल्याएको बिरयानी खाने बेलामा जाहिरले सोध्यो, “अनि भाइलाई कहाँ कहाँ घुमायौ त ?”
“घुमाएर के गर्नु,” अमिराले भनिन्, “अघि अघि आफ्नै गँजडी साथीहरूसँग घुमे होला नि स्वादले त, अहिले त... जान त गयौँ तर माउन्ट हेलेन्सको हाइकिङमा होस् वा लिभनवर्थको यात्रामा, या माउन्ट रेनियरको सनराइज हेर्ने बेलामा; उसमा कुनै उत्साह, उत्सुकता वा रोमाञ्च थिएन । क्रेटर लेकको निलो पानीको रहस्यमय सौन्दर्य र सिल्भर फल्सको मधुर ध्वनिसहितको अद्भुत दृश्य उसका निम्ति थार मरुभूमिको बालुवा समान भए ।”
आठ–दस मिटर सामुन्ने उभिएको ब्ल्याक चेरीको तेर्सो हाँगामा अगाडि छातीमा गेरु रङ, अरू भागमा कालो–खैरो रङ भएको चुच्चो पहेँलो हुने अमेरिकन रबिन चराले गुँड बनाउँदै गरेको देखेर अमिराले भनिन्, “हेर त्यो चरालाई, आफ्नो जीवनलाई व्यवस्थित गर्ने आफैँले रहेछ, अर्काको बुद्धिले कति दिन टिक्छ जिन्दगी ?” “कुनै प्रश्न गर्ने, कुनै कुरा देखाउने, केही गरेन ?” त्यतै हेरेर जाहिरले सोध्यो । “बिल्कुल, भाइ घोत्लिएको घोत्लियै थियो । घरको कुनै कोठामा थुनेर राख्नु र ती मनोरम ठाउँमा पुगेर सुन्दर दृश्य हेर्नुमा उसलाई केही अन्तर छैन । ऊ आफ्नै निराशामय अन्धकारमा चुर्लुम्म थियो अनि हामीले हस्पिटलबाट ‘रिजफिल्ड रिकभरी भिलेज’ मा लगी भर्ना गर्ने भन्ने ‘प्रेस्क्रिप्सन’ लियौँ ।
जाहिरले पलीतिर सहानुभूतिपूर्ण आँखाले हेर्दै भन्यो, “खराब साथीहरूको सङ्गतमा पर्यो त्यो ।”
“के साथीहरू भन्नु, शत्रुहरू– ड्रगिस्ट, गँजडीहरू,” अमिरा आँसु चुहाइरहेकी थिइन्, “मेरो एउटै भाइलाई मैले त्यस्तो देख्नु पयो ।” “त्यहाँ भर्ना हुन त मान्यो ? के भन्यो ?”
“अहिले गलिसकेको छ, उन्माद पनि घरि घरि मात्र आउँछ, अन्यथा शान्त नै छ ।” “छुट्टिने बेला केही आपत्ति गर्यो कि भनेर ।” “गरेन, रुवायो मलाई हिँड्ने बेलामा,” अमिरा अहिले पनि आँसु पुछिरहेकै थिइन् ।
“के भन्यो र ?”
“दिदी, तिमी महिलामाथि शोषण छन्, प्रतिबन्धहरू छन् भन्थ्यौ । त्यही बन्धनबाट सुन झैँ खारिएर तिमीले नै राम्रो पढ्यौ, पिएचडी गर्यौ, राम्रो जागिर खायौ, राम्रो लोग्ने पायौ, तर हेर त मेरो स्वतन्त्रताले म कहाँ पुगेँ ?” उसले भन्दा म रोएँ ।
“अरू ?”
“अब तिमी स्वतन्त्र भयौ दिदी, अनुशासनले तिमीलाई स्वतन्त्रता दियो, अनि मलाई स्वतन्त्रताले यो जेलमा पुर्यायो, जेलै त हो यो, कोलम्बिया नदी हेर मेरी दिदी, तिमी कोलम्बिया हौ, उसले पनि आफ्नो बेँसी बनाउन कति सङ्घर्ष गरे होला, अहिले पनि दायाँबायाँ किनारमा प्रतिबन्धहरू छन् । त्यसैले ऊ सिधा हिँड्यो र समुद्रमा पुग्यो अनि समुद्रमा पुगेपछि सम्पूर्ण स्वतन्त्रता प्राप्त गर्यो, कति राम्रो बुद्धिको कुरा गर्यो मेरो भाइले, म रोइरहेँ, अमिराले आँसु पुछिन् र ठुलो सास फेरिन् । जाहिरले आफ्नी पत्नीको पाखुरामा समायो र शान्त रहन भन्यो ।
“मैले लैङ्गिक समानतासम्बन्धी र महिलाको स्वतन्त्रताका बारे धेरै लेखेँ जाहिर, यसै विषयमा पिएचडी पनि गरेँ,” अमिराले भनिन्, “तर भाइको कुराले म आज फेरि दुबिधामा उभिएकी छु । यद्यपि एउटा सीमासम्मको स्वतन्त्रता त सबैलाई चाहिन्छ र समानता पनि तर स्वतन्त्रताको समानताका निम्ति अबको हाम्रो आवश्यकता मलाई भाइ जस्तै स्वतन्त्र बनाउनु हो कि भाइलाई पनि कम्तीमा म जत्तिकै अनुशासित बनाउनु हो ?”
“ताकि भाइले पनि स्वतन्त्रताको विशाल समुद्र प्राप्त गरोस्,” जाहिरले समर्थनमा भन्यो ।
घाम ओरालो लाग्दै थियो र कोलम्बियामा अग्ला छालहरू उठिरहेका थिए ।