नवराज श्रेष्ठ
रामेछाप, चैत २ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले आदिबासी अधिकार देशको विकासका लागि फोनिजकर्मी एकतावद्ध हुनुपर्ने बताउनुभएको छ ।
शुक्रवार रामेछाप सदरमुकाम मन्थलीमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको तेस्रो महाधिवेशनको उदघाटनसत्रमा उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले आफूलाई पदको कुनै लोभ नभएको पनि बनाउनुभयो । आफूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको काम मन परेको पनि चर्चा गर्नुभयो । घिसिङले मन्त्रालयका सचिवले सोधेको स्पष्टीकरणको जवाफ कामले दिइरहेको समेत दाबी गर्नुभयो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय अध्यक्ष गजुरधन राईले नेपालको पत्रकारिता क्षेत्रमा फोनिजको भूमिकाबारे चर्चा गर्नुभयो । नेपालको पत्रकारिताको इतिहासदेखि नै आदिवासी जनजाति पत्रकार पत्रकारको भूमिका महत्वपूर्ण रहँदैआएको बताउनुभयो ।
बागमती प्रदेश सांसद एवं प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले राज्यका विभिन्न पुरातनवादी मान्यताहरू र त्यसलाई व्यवस्थापन गर्ने हाम्रो क्षमताकाकारण सोचेअनुरूपका काम गर्न समस्या भएको बताउनुभयो ।
बागमती प्रदेश सांसद तारानारायण श्रेष्ठले नेपालको पत्रकारिता क्षेत्रमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को भूमिकाको सराहना गर्नुभयो । अहिलेको पत्रकारिताको अवस्थालाई अझै उन्नत बनाउनका लागि फोनिजको भूमिका अझै सक्रिय हुन आवश्यक रहेको उहाँले सुझाव दिनुभयो ।
फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यत्रममा फोनिजका वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, उपाध्यक्ष अमरध्वज लामा, महासचिव समीर बलामी, फोनिज बागमती प्रदेशका सल्लाहकार कृष्ण सारुमगर लगायतले फोनिजको महत्व पत्रकारितामा खेलेको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।