सल्लेरी समाचारदाता
सल्लेरी, चैत २ गते । सोलुदुधकुण्ड नगरपालिका–५, सल्लेरीस्थित नेपाली सेनाले भोगचलन गर्दै आएको सार्वजनिक क्षेत्रबाट सडकको ट्रयाक खोल्न सुरु गरिएको छ ।
रक्षामन्त्री मानवीर राईको पहलमा सो सडकको ट्र्याक खोल्न सुरु गरिएको हो । विगत एक दशकदेखि सो क्षेत्रबाट सडक खुलाउन स्थानीयले माग राखेका थिए । विगत लामो समयदेखि नेपाली सेनाले उपभोग गर्दै आएको सो क्षेत्रमा रक्षामन्त्री एवं सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्य निर्वाचित मानवीर राईको पहलमा सो बाटो सञ्चालनका लागि सहमति भएको हो ।
मन्त्री राईले पटक पटक प्रधान सेनापति तथा अन्य सम्बन्धित क्षेत्रमा संवाद गर्दै स्थानीयको आवश्यकतालाई दृष्टिगत गरी तत्कालै बाटो खोल्न प्रयास गर्नुभएको थियो । हाललाई एम्बुलेन्स, जिप, मोटरसाइकल जस्ता हलुका सवारीसाधन मात्र सञ्चालनका लागि बाटो खोल्ने सहमति भएको पनि रक्षामन्त्री मानवीर राईले जानकारी दिनुभयो । मन्त्री राईले आगामी दिनमा सो क्षेत्रको जमिनको अवस्था हेरेर सडक स्तरोन्नतिमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो क्षेत्रमा पहिरो तथा जमिन भासिने समस्यासमेत रहेकाले यसअघि वैकल्पिक रूपमा व्यक्तिगत जग्गाबाट सडक बनाई प्रयोगमा ल्याइएको थियो । तथापि सो सडक अवरुद्ध भएपछि हाल आवाडाँडाबाट तीनकुने हुँदै माथिल्लो क्षेत्र जाने बाटो खोलिएको हो । सो सडक खोल्नका लागि स्थानीयवासीले जनश्रमदान गरेका छन् । जमिन नै कमसल र भासिने भएकाले डोजर तथा जेसिभी जस्ता हेभी गाडी प्रयोग नगरी स्थानीयबाट नै बाटो खोल्ने कार्य गरिएको स्थानीय रामसङ्घर्ष किराँतीले जानकारी दिनुभयो । उहाँका अनुसार सडकको पहुँचबाट वञ्चित भएका माथिल्लो क्षेत्रका बासिन्दाको सहभागितामा सडकको ट्र्याक खोल्न श्रमदान गरिएको हो ।
सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले अहिले नेपाली सेनाले सहमति दिएसँगै सहज भएको बताउनुभयो । सो सडक नगरपालिकाको क्षेत्राधिकारभित्र रहेकाले सडक निर्माणका लागि आगामी दिनमा आवश्यक सहयोग गर्नेसमेत बताउनुभयो ।
नेपाल टेलिकमदेखि शिव मन्दिरसम्म एक सय मिटर लम्बाइ र पाँच मिटर चौडाइ रहने सडक निर्माणका लागि ८३ लाख रुपियाँ बजेटको आवश्यकता पर्ने डिपिआरमा उल्लेख छ । सो क्षेत्रको सडक निर्माणपछि एक हजार चार सय घरधुरी लाभान्वित हुने जनाइएको छ । सङ्घ र स्थानीय सरकारबाट बजेटको व्यवस्थापन सुनिश्चित गर्ने सम्झौता भएको उल्लेख छ ।
तीनकुने क्षेत्रबाट सोलुखुम्बु जिल्ला अदालत, जिल्ला कारागार, सरकारी वकिल कार्यालय, गुम्बा क्षेत्र, जिमी राई उत्थान समाज, सोलुखुम्बु बहुमुखी क्याम्पसलगायतका क्षेत्रमा सवारीसाधन आवतजावतका लागि सहज हुने जनाइएको छ ।
नगरपालिका क्षेत्रको एउटा महत्त्वपूर्ण बस्ती रहेको एवं जिल्ला अदालत, जिल्ला कारागार, सरकारी वकिललगायतका कार्यालय, विद्यालय, क्याम्पसतर्फ सवारीसाधन आवतजावत गर्ने सडक नै नहुँदा समस्या झेल्दै आएका स्थानीय तथा सेवाग्राहीलाई सडकको ट्र्याक खुलेसँगै उत्साह छाएको छ ।