दोलखा समाचारदाता
दोलखा, चैत २ गते । दोलखाको शैलुङ गाउँपालिकाले सडकलाई प्राथमिकता दिँदै पालिकाभित्र चक्रपथको ट्र्याक खोलेको छ । गाउँपालिका तथा वडास्तरका विभिन्न सडक जोड्दै धेरै ठाउँमा नयाँ ट्र्याक निर्माण गरेर ९३ किलोमिटर ट्र्याक खोलिएको गाउँपालिका इन्जिनियर कमल थापामगरले बताउनुभयो । उहाँका अनुसार चक्रपथ शैलुङको भविष्यसंँग जोडिएको छ । यसले पालिकाभित्र आवतजावतमा सहजता ल्याउने छ । सबै वडाको समान विकास गर्न सहयोग मिल्ने छ । यसले कृषि प्रवर्धनमा मुख्य भूमिका खेल्ने अपेक्षा राखिएको छ ।
चक्रपथले मुडे–मेलुङ सडकखण्डको थगम खेल मैदानबाट प्रवेश गरेर पुरानो गाउँ २ नम्बर वडा, जम्बुसिंङ–कल्लाबारी, १ नम्बर वडा, मानेडाँडा, हुलाके, वीरेन्द्र माध्यमिक विद्यालयलगायतका स्थान जोडिन्छ । गाउँपालिकाभित्रको विविधतालाई एकआपसमा खँदिलो बनाउने यो चक्रपथलाई भविष्यका आवश्यकता अनुसार थप परिमार्जन गर्न सकिने उहाँले जानकारी दिनुभयो ।