बनेपा समाचारदाता
बनेपा, चैत २ गते । काभ्रेपलाञ्चोकको रोसी गाउँपालिकामा अस्थायी आधारभूत अस्पताल निर्माण सुरु गरेको छ । असोज दोस्रो साताको बाढीले अन्तिम चरणमा रहेको १० शøयाको अस्पताल भवन बगाएपछि अस्थायी अस्पताल निर्माण सुरु गरिएको हो । गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को आर्थिक सहयोगमा अस्थायी अस्पताल भवन निर्माण सुरु गरिएको हो ।
गाउँपालिका अध्यक्ष लामाले डब्लुएचओको करिब ४५ लाख रुपियाँको लागतमा अस्थायी अस्पताल भवन निर्माण हुने बताउनुभयो । गाउँपालिकाले सञ्चालन गरेको अस्थायी अस्पतालको सबै संरचना बगाएपछि अहिले दुई वटा टेन्टमार्फत अस्थायी रूपमा अस्पतालको सेवा प्रवाह भइरहेको छ । डब्लुएचओले प्री–फ्याबको अस्थायी भवनका साथै भवनको वरिपरि घेराबार, शौचालय, सौर्य ऊर्जाको व्यवस्थापन गर्ने भएको छ । अस्पतालका लागि अस्थायी भवन निर्माणलगायतको अन्य काम पूरा गरेपछि अस्पतालका लागि आवश्यक पर्ने जनशक्ति गाउँपालिकाले व्यवस्थापन गर्ने भएको छ ।
बाढीपहिरोका कारण रासी आधारभूत अस्पताल, चलाल गणेशस्थान स्वास्थ्य चौकी, कलाती भूमिडाँडा स्वास्थ्य चौकी, बिर्तादेउराली आधारभूत स्वास्थ्य एकाइ पूर्ण क्षति भएको थियो । त्यसै गरी मल्पी स्वास्थ्य चौकी, कोट्याङ स्वास्थ्य केन्द्र, सस्र्यखर्क स्वास्थ्य चौकी, खहरेपाँगु स्वास्थ्य चौकी र च्यासिङ्खर्क स्वास्थ्य चौकीमा आंशिक क्षति पुगेको जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।