• २ चैत २०८१, शनिबार

कुशेश्वर–प्रयागराज अविस्मरणीय अनुभूति

blog

भारतको प्रयागराजमा महाकुम्भ मेला सकिएको छ । प्रयागराजको कुम्भ मेला सम्भवतः विश्वको सबैभन्दा ठुलो आध्यात्मिक जमघट हो । पवित्र नदीहरू गङ्गा, यमुना र पौराणिक सरस्वतीको सङ्गमस्थल प्रयागराजमा ४५ दिनसम्म चलेको महाकुम्भ मेलामा सहभागी हुन पाउनु मेरा लागि आध्यात्मिक पुनर्जन्म नै थियो ।

पौष पूर्णिमादेखि महाशिवरात्रिसम्म सञ्चालन भएको महाकुम्भ मेलाको यात्रामा मातापिता र आफन्तजनसँगको सामीप्यता जीवनभरका लागि कृतज्ञता र आध्यात्मिक ऊर्जाका रूपमा रहने छ ।

पिताजी शिव कोइराला समय निकालेर श्रद्धा र भक्तिभावले धार्मिक यात्रामा निस्किरहनुहुन्छ । भगवान्प्रतिको अटुट आस्था र आत्मिक शान्तिको खोजीमा उहाँले गर्ने प्रत्येक यात्राले हाम्रो हृदयमा प्रेरणाको ज्योति बाल्ने गर्छ । यस पटकको महाकुम्भ मेलाको पवित्र अवसरमा उहाँकै मार्गदर्शन र प्रेरणाले म र मेरा प्रिय आफन्तजनलाई आध्यात्मिक यात्रातर्फ उन्मुख गराएको थियो । यो यात्रा केवल तीर्थ मात्र थिएन, आत्मशुद्धि, श्रद्धा र परम सत्यको खोजीको अद्भुत अवसर पनि थियो । तीनबर्से दुधेबालकलाई श्रीमान्को काखमा छाडी ४२ जना आफन्तसाथ म तीर्थायात्रामा निस्केको थिएँ । 

सिन्धुली जिल्लामा प्रसिद्ध धार्मिक स्थल छ, आदिलिङ्ग कुशेश्वर । रोसी खोलाको दोभान र सुनकोशीको किनारमा विराजमान कुशेश्वर । तीर्थयात्रामा निस्कँदा आदिलिङ्ग कुशेश्वर महादेवको दर्शन गरी यात्रा प्रारम्भ गर्नु भन्ने धार्मिक मान्यता पनि रहेछ । त्यसैले दुई वटा हायस रिजर्भ गरी कुशेश्वर दर्शन गरी महाकुम्भ यात्रा अघि बढायौँ ।

दुम्जा– मेरो जन्मभूमि । किन हो किन दुम्जा अनि आदिलिङ्ग कुशेश्वरको नाम उच्चारण गर्दा नै मेरो मन आनन्दित हुन्छ । ती ठाउँसँग जोडिएका स्मृति मेरो मनमै गाँठो परेका छन् । २०८१ असोज १२ को रोसीबाढीले दुम्जा फाँटलाई उजाड बनाइदिएछ । मन नै अमिलो बनाएर सुनकोशीको तीरैतीर बिपी राजमार्ग हुँदै खुर्कोटतिर लाग्यौँ । सुनकोशीको तीरैमा गजुलीदह, कमेरेफाँट, बोकेढिकुरा, मझुवाबगरसँग गाँसिएका बाल्यकालका सम्झनामा तैरिँदै लाग्यौँ पूर्वतिर । खुर्कोटबाट दक्षिणतर्फको नागबेली बिपी राजमार्ग हुँदै सिन्धुली सदरमुकाम भएर जनकपुर पुग्दा साँझको ७ बजेको थियो । जनकपुरस्थित ऐतिहासिक रानीपाटी बदराज मन्दिर पुगेर पहिलो विश्राम लियौँ । थकाइले शरीर थिलथिलो भए पनि मनमा एकखालको आध्यात्मिक शान्ति ओतप्रोत थियो ।

आहा ! जनकपुर

बिहानको सूर्यकिरणसँगै स्नान गरी तनमन शुद्ध बनाएर तातोपानी, चिया पियौँ । जानकी मन्दिर, विवाहमण्डप, धनुषसागर र राम मन्दिरको दर्शनपछि आश्रममा पुगेर प्रसाद ग्रहण गर्‍यौँ । अबको यात्रा भारतीय भूमितिर थियो । त्यसैले ४२ जना तीर्थयात्रीका लागि आवश्यक म्याट, तन्ना, भोजन तथा रासन तयार पार्दै साँझ ५ बजे बस चढ्यौँ । भिट्ठामोड भन्सारमा आवश्यक जाँच प्रक्रिया पूरा गरेपछि भारत प्रवेशका लागि नागरिकता प्रमाणित गर्‍यौँ । अनुमतिपत्र पाएपछि रातभरको बस यात्रामा रमाउँदै बिहानको उज्यालोमा भारतको गयामा पुगेर उत्रियौँ । गयामा पुग्नेबित्तिकै राधाकृष्ण भवनमा कोठा लिएर स्नान गरी कोही मन्दिर दर्शनार्थ त कोही पितृश्राद्ध गर्ने कार्यमा यात्रीहरू जुट्न थाल्नुभयो । भारतको यात्रा मेरा लागि नौलो थिएन तर गया पुगेपछि त्यहाँको जीवनशैलीले मनमा अनेक प्रश्न उब्जिए । अटोरिक्सा, ट्राफिक जाम, अनि चौबिसै घण्टा घन्किरहेको हर्नको कर्कश आवाज ! यस्तो लाग्थ्यो, मानौँ सबैका औँला हर्नको स्विचमा नै अड्किएका छन् । त्यो दृश्य देख्दा दक्षिण भारतीय फिल्मका दृश्य जस्तै लाग्यो– अव्यवस्थित तर आफ्नै लयमा चलिरहेको एउटा अनौठो संसार । तर यात्राको मूल सार केवल दृश्य वा ध्वनि मात्रै होइन, आत्मिक शान्ति र पुण्यको अनुभूति थियो । गया जहाँ हजारौँ वर्षदेखिका अनगिन्ती श्रद्धालु आफ्ना पितृलाई तर्पण दिन आउँछन्, त्यस भूमिमा पाइला टेकेको क्षण नै मेरा लागि अनुपम अनुभूति बन्यो ।

फल्गु नदी र बोधगया

गयामा श्राद्ध सम्पन्न गर्न फल्गु नदीको पवित्र किनारमा पुग्यौँ । त्यहाँ नेपाली लालमोहरिया पण्डित सुवोध कुमारले विधिपूर्वक श्राद्ध गराए । यो पुण्य कार्य सम्पन्न हुँदा मनमा गहिरो शान्ति अनुभव भयो, मानौँ पितृहरूका आशीर्वाद हाम्रा हृदयभरि भरिएको होस् ।

श्राद्धपश्चात् हरि विष्णुको चरण पादुकाको दर्शन तथा अर्चनाका लागि अघि बढ्यौँ । त्यहाँको पवित्र वातावरणमा भक्तिभावले भरिएर नजिकैको अक्षयवटवृक्षको दर्शन गर्‍यौँ । त्यसपछि फल्गु नदी पार गर्दै सीताकुण्ड पुग्यौँ, त्यो ऐतिहासिक स्थान जहाँ माता सीताले आफ्ना ससुरा राजा दशरथलाई बालुवाको पिण्ड दान गरेकी थिइन् । यो स्थानमा उभिँदा रामायणका कथा केवल सुन्ने र पढ्ने कुरा मात्र नभएर आत्माले अनुभूति गर्ने सत्य झैँ लाग्यो ।

अब हामी बोधगयातर्फ लाग्यौँ, त्यो पवित्र भूमि जहाँ गौतम बुद्धले बोधत्व प्राप्त गरेका थिए । बोधिवृक्षको शीतल छायामा उभिँदा एउटा अनौठो शान्तिको अनुभूति भयो । यो वृक्ष केवल एक वृक्ष थिएन, यो त सहस्रौँ वर्षदेखि असङ्ख्य साधकलाई ज्ञानको उज्यालो प्रदान गर्ने एउटा जीवित साक्षी थियो । बोधगया मन्दिरपरिसरको सुरक्षा निकै कडा रहेछ । मोबाइल फोन, चार्जर, इलेक्ट्रोनिक उपकरण, महिलाका शृङ्गार सामग्री केही पनि भित्र लैजान अनुमति थिएन । यो व्यवस्थापन देख्दा मनमा एउटा गहिरो प्रश्न उठ्यो– हामी पशुपतिनाथ मन्दिरको व्यवस्थापनमा अझै किन यति धेरै पछि परेका छौँ ? त्यसपछि स्लिपिङ बुद्ध, जगन्नाथ मन्दिर, राधाकृष्ण मन्दिरको दर्शन गर्‍यौँ । पवित्र भूमि बोधगयामा बिताएका ती क्षण केवल पर्यटनका क्षण मात्र थिएनन्, ती त आत्मबोध, शान्ति र अध्यात्मको सजीव अनुभूति थिए ।

मनमा वाराणसी 

गयामा पुण्य कार्यपछि यात्रा वाराणसीतर्फ अघि बढ्यो । १३८ किलोमिटरको यो दुरी पार गर्न करिब छ घण्टा लाग्यो तर वाराणसी प्रशासनले भिड नियन्त्रण गर्न २० किलोमिटर टाढै सवारी रोकेको हुँदा हामीले त्यहीँ एक रात बिताएर काशी विश्वनाथको दर्शन गर्ने विचार गर्‍यौँ । बिहान ४ बजे उठेर स्नानका लागि गयौँ । मनमा एक अलग उत्साह थियो– भगवान् काशी विश्वनाथको दर्शन गर्ने लालसा । अटो रिजर्भ गरी हामी दशाश्वमेध घाटतर्फ लाग्यौँ । घाट पुगेपछि हजारौँ भक्तहरूको लर्को देख्दा मन केही क्षणलाई विचलित भयो । दर्शन गर्न निकै समय लाग्ने देखियो । करिब दुई किलोमिटर लामो लर्को, श्रद्धालुको अपार भिड अनि बिहानको उज्यालो आउन नपाउँदै गङ्गाघाटभरि गुञ्जिएको भजनले वातावरण नै दिव्य बनाएको थियो तर हाम्रो सौभाग्य ! मार्गदर्शक खगेन्द्र स्वामीजीको सहयोगले हामीले गङ्गाघाट हुँदै ललिता घाटबाट प्रवेश गरी जम्मा दुई घण्टामै काशी विश्वनाथको दर्शन गर्ने अवसर प्राप्त गर्‍यौँ । जब मन्दिरको गर्भगृहभित्र पुग्यौँ, मन श्रद्धाले भरियो । भगवान् महादेवको ज्योतिर्लिङ्ग अवलोकन गर्दा आत्मा आनन्दित भयो । यो यात्रा केवल शारीरिक यात्रा मात्र थिएन, यो आत्मिक यात्राको एउटा अंश थियो– एक यस्तो अनुभव जसले हृदयभरि शान्ति, भक्ति र अनन्त आनन्दको अनुभूति भरिदियो ।

महाकुम्भ : अद्भुत अनुभूति 

अब प्रयागराजतर्फ हाम्रो यात्रा अघि बढेको थियो । जब कुम्भ मेलामा पाइला टेकेँ मेरो मनमा अपूर्व उल्लास र भक्तिभावले ठाउँ बनायो । सयौँ साधुसन्त, नागाबाबा र विभिन्न सम्प्रदायका गुरुको उपस्थितिले वातावरणलाई एक अद्भुत आध्यात्मिक आभा दिन्थ्यो । गङ्गा स्नान गर्दा केवल शरीर मात्र पवित्र भएको छैन, आत्मा पनि शुद्ध भएको जस्तो लाग्यो । पहेँलो भगवाका कपडामा लुगा पहिरिएका लाखौँ भक्तजनको गङ्गा नदीमा स्नान गर्दै गरेको दृश्य आज पनि मेरो मानसपटलमा गहिरो भएर उभिएको छ । त्यो दृश्य जुन स्वर्गीय र अकल्पनीय थियो मेरो हृदयमा शान्ति र आनन्दको एक अद्भुत तरङ्ग छाडेर गएको थियो । ती साधुसन्त र भक्तजनको एकता, आस्था र समर्पणले वातावरणलाई यस्तो दिव्य र पवित्र बनाएको थियो कि मेरो आत्मा पनि त्यसको छाया र शुद्धतामा डुबेर शान्ति पाउँथ्यो ।

स्नान गर्दा ती भक्तजनको चेहरामा प्रकट भएको उल्लास र आस्थाले मलाई यो महसुस गरायो कि यो केवल शारीरिक शुद्धता मात्र होइन, आत्मिक उन्नतिको यात्रा पनि हो । ती सबै पहेँलो भगवा कपडामा सुसज्जित भक्तजन गङ्गा नदीको पवित्र जलमा डुबुल्की मारेका थिए र एकअर्कासँग पवित्रता र आस्थाको अद्भुत भावना बाँड्दै थिए । त्यो दृश्य एक अनन्त सन्देश थियो– आध्यात्मिकता र भक्ति मानिसलाई शान्ति र नयाँ जीवनको मार्गमा अग्रसर गर्न सक्छ । आज पनि त्यो दृश्य मेरो मनको गहिराइमा अङ्कित छ र म प्रार्थना गर्दछु कि यस्ता दिव्य अनुभवले मेरो जीवनलाई पनि उज्यालो, पवित्र र शुद्ध बनाओस् ।

बिहानको उज्यालोमा, सूर्यको पहिलो किरणले पवित्र नदीका छाललाई सुवर्णमयी बनाएको देख्दा मनमा एक गहिरो शान्ति फैलियो । यो दृश्यले पवित्रता र आस्थाको गहिरो अर्थ बुझायो । मेला स्थलमा प्रवचन, कीर्तन, धार्मिक प्रवचन र संस्कृतिका रङ्गिन प्रस्तुति हेर्दा मेरो हृदय गर्वले फुल्यो ।

मैले यस समयमा अनुभूति गरेँ कि आध्यात्मिकता केवल एकल यात्रा होइन, यो त सामूहिक भावनाको महासागर हो, जसले सबैलाई एउटै उद्देश्य र विश्वासमा एकत्रित गर्छ । महाकुम्भ मेलामा बिताएका ती पवित्र दिन केवल धार्मिक अनुष्ठान मात्र थिएनन्, ती मेरो जीवनका सबैभन्दा महत्वपूर्ण पल थिए । यस मेलाले मलाई भौतिकता र सांसारिक चिन्ताबाट पर आध्यात्मिक सत्यको खोजतर्फ उन्मुख गरायो ।