नवीनराज कुइँकेल
लमजुङ, चैत २ गते । वरिपरि सेता हिमाल अनि गाउँमाथिको जङ्गलमा फुलेका ढकमक्क लालीगुराँसले लमजुङको काउलेपानीलाई सिँगारेको छ । पर्यटकलाई यो मनमोहक दृश्यले आकर्षित गरेको छ । यहाँ पुग्ने पर्यटक हिमाल र लालीगुराँसको दृश्यमा मुग्ध हुने गरेका छन् । नेपालकै नमुना होमस्टेबाट पुरस्कृत काउलेपानी होमस्टेले पनि लालीगुराँसको मौसमलाई सदुपयोग गर्दै पर्यटकलाई ‘लालीगुराँस प्याकेज’ बेचिरहेको छ । होमस्टेको लालीगुराँस प्याकेजमा आन्तरिक पर्यटक आकर्षित भइरहेका छन् । १२ महिने प्याकेज अन्तर्गत फागुनदेखि चैतसम्म लालीगुराँस प्याकेज रहने होमस्टे व्यवस्थापन समितिले जनाएको छ ।
लालीगुराँस प्याकेजमा दैनिक पर्यटक आगमन बढिरहेको समितिका अध्यक्ष देवबहादुर गुरुङले बताउनुभयो । गुरुङले भन्नुभयो, “अहिले वनैभरि लालीगुराँस फुलेको छ । वरपर हिमाल खुलेका छन् । लालीगुराँस र हिमाल हेर्न आउने पर्यटकले होमस्टे भरिभराउ छ ।”
काउलेपानी जाने बाटैदेखि लालीगुराँस र हिमालसँग पर्यटकको साक्षात्कार हुन्छ । गाउँमाथि पुरानकोटसम्मै वनैभरि लालीगुराँस फुलेका छन् । यो समयमा हिमाली दृश्यावलोकन पनि उत्कृष्ट देखिन्छ । हिमाल र लालीगुराँसको यो समयलाई समात्दै गाउँ आएका पर्यटकलाई भुलाउने गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । पर्यटकलाई लालीगुराँस टिप्न भने रोक लगाइएको छ ।
काउलेपानी होमस्टे व्यवस्थापन समितिका अनुसार चैत/वैशाखमा ऐँसेलु/काफल प्याकेज सुरु हुन्छ । समितिका अनुसार जेठमा जडीबुटी प्याकेज, असारमा धान रोपाइँ प्याकेज र साउनमा कोदो रोपाइँ प्याकेज हुन्छन् । यसै गरी भदौमा जात्रा प्याकेज, असोजमा चाडपर्व प्याकेज, कात्तिकमा कटुस प्याकेज, मङ्सिरमा दाइ प्याकेज, पुसमा कोदो चुट्ने प्याकेज र माघमा तरुल प्याकेज बनाइएको काउलेपानी होमस्टे व्यवस्थापन समितिले जनाएको छ ।
२५ घरधुरी रहेको काउलेपानीमा १५ घरमा होमस्टे सञ्चालन छ । यिनमा ८४ बेड रहेका छन् । सदरमुकाम बेँसीसहरबाट मोटरमा आधा घण्टामा पुगिने काउलेपानी गाउँ समुद्री सतहदेखि एक हजार छ सय मिटर उचाइमा छ ।
काउलेपानीबाट बुद्ध, मनासलु, अन्नपूर्ण, लमजुङलगायत १४ वटा हिमशृङ्खला देख्न सकिन्छ । लमजुङ दरबार, काउलेपानी देवी मन्दिरलगायत ऐतिहासिक महत्व बोकेको काउलेपानी क्षेत्रमा गुरुङ, नेवार, भुजेललगायतका जातजातिको बसोबास छ । काउलेपानीको होमस्टेसँगै स्थानीयवासीको कला, संस्कार र संस्कृतिले काउलेपानी पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । गाउँमा पाहुना आएका बेला उनीहरू सामूहिक रूपमा स्वागत सत्कारमा जुट्दै कौडा, चुट्का, घाँटु जस्ता संस्कृति देखाउने गर्छन् । त्यहाँ पुग्ने पर्यटकले शिरखोला आमा समूहको भव्य स्वागत सत्कार र बिदाइसमेत पाउने गरेका छन् ।