बाजुरा समाचारदाता
बाजुरा, चैत २ गते । बाजुराका अधिकांश गाउँबस्तीमा नयाँ खालका चौतारा निर्माण हुन थालेका छन् । पहिलेका पुस्ताले स्थानीय भेला हुनका लागि ढुङ्गा र माटोले निर्माण गरिएका ती चौतारा पछिल्लो समय पक्की बन्दै गएका हुन् । गाउँमा हुने सभा, गोष्ठी, बैठकमा बस्न सहज हुने गरी गाउँको बिच बिचमा निर्माण गरिएका चौताराको रूप परिवर्तन गर्न स्थानीय सरकारले रकम दिन थालेपछि ती चौताराले मुहार फेर्दै गएको स्थानीय बताउँछन् ।
पहिलेको पुस्ताले निर्माण गरेका ती चौताराको अस्तित्व अहिले पनि उस्तै छ । यहाँका विभिन्न गाउँबस्तीमा रहेका चौतारामा अहिले पनि गाउँको काम कार्यका लागि स्थानीयको जमघट हुने गरेको हिमाली गाउँपालिकाका राज मलालले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका अधिकांश चौतारा अहिले परिवर्तन हुन थालेका छन् ।” अहिलेको पुस्ताले ती चौतारा निर्माणका लागि स्थानीय तहमा बजेट माग गर्दै आएपछि ती चौताराको मुहार पनि फेरिँदै गएको हो । गाउँका विभिन्न सामाजिक कामका लागि यहाँका स्थानीयको एक ठाउँमा भेला हुने गरी ती यहाँका गाउँ बस्तीमा चौतारा निर्माण गरेका छन् । चौतारा यहाँका स्थानीयको सबैलाई भेट गराउने एक सामाजिक स्थल पनि हो । त्यसैले यो पहिलेका पुस्ताले छोडेर गएको चौतारालाई अहिलेका युवाले पनि उत्तिकै प्राथकिमता दिने गरेका छन् ।