• २ चैत २०८१, शनिबार

तराईमा हर्षोल्लासपूर्वक मनाइयो होली

blog

होली मनाउँदै थारू महिला ।

धनगढी समाचारदाता

धनगढी, चैत २ गते । रङको पर्व होली कैलालीसहित तराईमा शुक्रबार हर्षोल्लासपूर्वक मनाइएको छ । एकआपसमा अबिर लगाई हर्ष र खुसीयाली साटासाट गरी होलीपर्व मनाइएको हो । कैलालीमा बसोबास गर्ने विभिन्न समुदायले होलीलाई आआफ्नो परम्परा अनुसार फरक फरक तरिकाले मनाउने गरेका छन् । थारू समुदायले ढुरहेरी, रानाथारू र कठरिया थारू समुदायले यस पर्वलाई होरीपर्व मनाउने गरेका छन् । 

बालबालिकादेखि युवकले सार्वजनिक स्थानमा सामूहिक रूपमा अबिर, रङ एकअर्कालाई लगाएर होलीपर्व मनाएका हुन् । कैलालीवासी थारू समुदायले होलीलाई ‘ढुरहेरी’ को नामले दुई दिनसम्म मनाउने गर्दछन् । यस समुदायमा शनिबार पनि होलीपर्व जारी रहने छ । दुई दिनसम्म अबिर, रङ, पानी खेलेर ढुरहेरी पर्व मनाउने गरिएको सत्यनारायण दहितले बताउनुभयो । उहाँका अनुसार थारू समुदायले ढुरहेरीमा बरिया, माछामासुलगायतका खानाका परिकार खाने चलन रहेको छ । 

यसै गरी रानाथारू समुदायले होलीलाई होरीपर्वको नामले मनाउने गरेका छन् । होरी यो समुदायको सबैभन्दा ठुलो पर्व हो । रानाथारू समुदायले ३८ दिनसम्म होरीपर्व मनाउने गरेका छन् । चीर दहनभन्दा अगाडिसम्म ‘जिन्दा होरी’ र चीर दहनपछि ‘मरि होरी’ मनाउने गरेको रानाथारू समुदायका युवा अगुवानारायण रानाले बताउनुभयो । “अझै एक हप्तासम्म होरी जारी रहन्छ,” उहाँले भन्नुभयो । ‘खक्डेहडा’ फुटाएर मात्रै रानाथारू समुदायको ३८ दिने होरीपर्व सकिने गर्छ । होरीपर्वको अवसरमा यस समुदायका युवायुवतीले घर घरमा गएर होरी नाच नाचेर रमाउने चलन रहेको छ । यस्तै होरीपर्वमा बालबालिकाले बाटो छेकेर बटुवाबाट पैसासमेत सङ्कलन गरेका छन् । जिल्ला प्रशासन कार्यालयले बाटो छेकेर पैसा उठाउने कार्यलाई कानुनविपरीत मान्दै त्यस्तो कार्य नगर्न/नगराउन आग्रह गरे पनि सो कार्य रोकिएको देखिँदैन ।