• २ चैत २०८१, शनिबार

सडकमार्गको विकल्प

blog

भौगर्भिक हलचलका कारण सबभन्दा पछि विकसित भूसतहमा नेपाल भूमि रहेको यथार्थ थाहा भइसकेको छ । यो सत्यलाई आत्मसात् नगर्ने नेतृत्वका कारण यहाँ रहने मानव जातिले धेरै पीडा भोग्न परिरहेको छ । यहाँको माटो त्यही हलचलका कारण सबभन्दा पछि विकसित भएको हो । तुलनात्मक रूपमा यहाँको माटो नजमेको अत्यन्त खुकुलो अवस्थामा छ । यहाँका पहाड त्यस्तै खुकुलो माटोले बनेका छन् । ससाना चट्टानका टुक्रा माटोमा टाँसिइसकेका छैनन् । यस्तो अवस्थामा रहेको भूमिमा खन्ने, खोस्रिने, पहाडको भित्ता काट्ने कामले केही समय ठिकै देखिए पनि त्यहाँ केही कालपछि पहिरो जाने र कतिपय क्षेत्रमा निरन्तर पहिरो गइरहने अवस्था हामीले देख्ने गरेका छौँ । यस्तो भूसतहमा रहेको नेपालका निम्ति निर्माण र पुनर्निर्माणका लागि लाग्नुपर्दा उपर्युक्त अवस्थितिलाई एक सेकेन्ड पनि बिर्सनु हुन्न । 

नेपालको अर्को विशिष्ट अवस्था पनि छ; जसलाई हामीले कहिल्यै बेवास्ता गर्न मिल्दैन । नेपाल दक्षिणमा रहेको ‘डेकन प्लेट’ र उत्तरमा रहेको ‘तिब्बतियन प्लेट’ बिच हुने निरन्तर टक्करका कारण आजभन्दा करिब छ करोड र तीन करोड वर्षका बिचमा टेथिस सागरबाट बाहिर प्रकट भएको हो । हिमालय पर्वतमाला छ करोड वर्ष र शिवालिक (चुरे) पर्वतमाला करिब तीन करोड वर्षपहिले सागरबाट बाहिर निस्केका हुन् । बिचको मध्यपहाडी शृंखला तीन/चार करोड वर्षपहिले हिमालय पर्वतमालाको काखमा विकसित भएको हो । ‘डेकन प्लेट’ र ‘तिब्बतियन प्लेट’ अहिले पनि निरन्तर टक्करको अवस्थामा छन् । त्यसबाट वेभ शक्ति पनि निरन्तर प्रकट भएर सङ्गृहीत भइरहेको छ । त्यो भूगर्भतिर जान सक्दैन, भूसतहतिरै प्रकट हुनु पर्छ । तुलनात्मक रूपमा भूसतहको कमजोर स्थानलाई धकेलेर बाहिर आउँदा त्यसलाई हामीले भूकम्पको नाम दिने गरेका छौँ । भूकम्पको कुनै न कुनै रूपमा प्रभाव क्षेत्र पूर्वको म्यान्मार, पश्चिमको इरान, दक्षिणको मध्य भारत र उत्तरमा तिब्बतसम्म छ । नेपाल यही भूकम्प प्रभावित क्षेत्रको केन्द्र भागमा छ । नेपालसहितको यो क्षेत्रमा हरेक २४ घण्टामा एक पटक कुनै न कुनै भूकम्पीय धक्का प्रकट हुने गरेको छ । 

उपर्युक्त अवस्थालाई खास गरी विकासनिर्माणको काम अगाडि बढाउँदा नेपालले कुनै प्रकारको बेवास्ता गर्न मिल्दैन । नेपालको यो भौगर्भिक संवेदनशीलतालाई आज र अगाडिका कुनै पनि शासकले ख्याल गरेनन् । 

नेपालका जति पनि उत्तर–दक्षिण र कतिपय पूर्व–पश्चिममा जाने सडक नदी किनारका भूभागमा निर्माण गरिएका छन्; यी सडक निरन्तर भूकम्पीय धक्काले जम्न नपाएको माटो र गिट्टीसहितको पहाडका पाखा काटेर बनाइएका छन् । त्यस्ता सडकमा गाडी दौडाउँदा प्रकट हुने शक्तिको आधा भाग त्यही पहाडको खुकुलो भएको पाखोमा समाहित हुने गरेको छ । त्यसबाट पहाड अरू कमजोर भइरहेका छन् । कुनै न कुनै रूपमा त्यसरी पहाडमा जम्मा भएको शक्ति प्रकृतिको निरन्तर परिवर्तन हुने क्रममा बाहिर निस्कनु अनिवार्य हुन्छ । त्यही शक्ति बाहिर निस्कन पहाडमा पहिरो जान्छ । यी सबै अवस्थालाई ख्याल नगरी बनाइएका यी सडक संरचनाले प्रतिवर्ष हजारौँ जनताको ज्यान लिइरहेका छन् । यी सबै सडक नामका संरचनाको नामकरण ‘ज्यानमारा’ भएको छ । यसलाई अन्यथा लिन पर्दैन । साँच्चि नै यी सबै सडक ‘ज्यानमारा सडक’ हुन् । 

म राष्ट्रिय सभाको सदस्य भएर बैठकहरूमा भाग लिँदा कुनै न कुनै रूपमा यस्ता ‘ज्यानमारा’ संरचनाको तात्कालिक र दीर्घकालिक विकल्प सरकारलाई सुझावका रूपमा दिँदै आएको छु । सरकारले सुन्दै सुनेन अथवा भनौँ सुन्न चाहेन । किन चाहेन मलाई थाहा छैन । विभिन्न समयमा मन्त्रीहरू यो सभाको बैठकमा आएर त्यहाँ व्यक्त गरिएका सभा सदस्यका प्रश्न र सुझावका सम्बन्धमा उत्तरसहित सरकारको विचार प्रस्तुत गर्ने गर्नुहुन्छ । मैले लिखित रूपमा प्रस्तुत गरेका सुझाव र प्रश्नको मन्त्रीहरूबाट आजसम्म कुनै जवाफ सुन्न पाएको छैन । मैले दिएका सुझाव सरकारले सुनोस् या नसुनोस्; फेरि पनि म केही सुझाव दिन गइरहेको छु : 

१. ‘ज्यानमारा सडक’ बन्द गरेर वैज्ञानिक रूपमा विकसित ‘स्काई वे’ (आकाशमार्ग) जतिसक्यो चाँडो स्थापना गरियोस् । ‘स्काई वे’ केबुलकार जस्तै तर त्योभन्दा धेरै विकसित यातायात संरचनाको नाम हो ।

२. तुरुन्तै राजमार्ग प्रहरी पोस्ट निर्माण गरी राष्ट्रव्यापी रूपमा त्यसलाई सञ्चालन गरियोस् । राजमार्गमा चल्ने बस तथा अन्य यातायात तथा भारवहन साधनमा चालक र तिनका सहयोगी गरी दुई जना मात्र हुन्छन् । लामो दुरीमा चल्ने साधनमा दुई जना चालक रहनुपर्ने कानुनी व्यवस्था छ । त्यस्तै यिनीहरूले मादक पदार्थ सेवन गरे दण्ड जरिबाना गर्ने कानुनी व्यवस्था पनि छ । एकपछि अर्को गरी यी साधन कोरिडोर सडकबाट नदीमा खस्छन् । केही बाँचे पनि अरू त्यहीँ मर्छन् । यस खालका दुर्घटना कि चालक निदाएर हुने गर्छ कि चालकले मद्यपान गरेका कारण हुने गर्छ । सरकारको सानो प्रयत्नले यसलाई रोक्न सकिन्छ । त्यो प्रयत्न भनेको छुट्टै राजमार्ग प्रहरी निर्माण गरेर राष्ट्रव्यापी रूपमा रहेका सबै राजमार्गमा परिचालित गरी निरन्तर चालक र यातायातका साधनको जाँचपडताल गरिरहनु पर्छ । यसका निम्ति हरेक राजमार्गको १०/१० किलोमिटरमा अधिकारसम्पन्न र शक्तिशाली राजमार्ग प्रहरी पोस्ट स्थापना गर्नु पर्छ । हरेक राजमार्गका हरेक पाँच किलोमिटरमा सिसिटिभी जडान गर्नु पर्छ । सिसिटिभीको आइटी सिद्धान्तका आधारमा हरेक पोस्टमा जानकारी प्राप्त भइरहने व्यवस्था गर्नु पर्छ । राजमार्ग प्रहरी पोस्टले यातायात नियम उल्लङ्घन गर्नेमाथि पक्षपात नगरी कानुनबमोजिम कारबाही गर्नु पर्छ । कारबाही आर्थिक जरिबाना र जेल बस्नुपर्नेसम्मको हुनु पर्छ । जरिबानाबापत प्राप्त हुने नगद राजमार्ग प्रहरी कोषमा जम्मा भई त्यहाँ खटिने प्रहरीलाई नै प्राप्त हुने कानुनी व्यवस्था हुनु पर्छ । 

३. सरकारले विद्युतीय प्रवाहबाट सञ्चालन हुने ‘स्काई वे’ का सम्बन्धमा सबै प्रकारको जानकारी लिन तुरुन्तै ‘स्काई वे’ स्थापना र सञ्चालनका सम्बन्धमा अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयार गर्न विज्ञसहितको अध्ययन तथा प्रतिवेदन आयोग निर्माण गरेर सार्वजनिक गर्नु पर्छ । मैले सुने अनुसार यो प्रविधि बेलारुसमा विकसित भएको हो र यसको अफिस दुबईमा समेत छ । 

४. नेपालमा आकाशमार्ग सञ्चालनका निम्ति पूर्व–पश्चिम परिचालन हुने पाँच राजमार्ग निर्माण भए पर्याप्त हुने देखिन्छ । त्यस्तै उत्तर–दक्षिण छ वटा राजमार्ग निर्माण गर्न सक्दा नेपालका सबै क्षेत्रका जनताको आवतजावत सुविधायुक्त र सुरक्षित रूपमा सम्पन्न गर्न सकिने छ । पूर्व–पश्चिम तथा उत्तर–दक्षिण राजमार्ग निम्नानुसार निर्माण गर्न सक्दा जनताका सबै किसिमको आवश्यकता पूरा हुन सक्ने छ । निम्नानुसारका क्षेत्रमा राजमार्ग निर्माण गर्न उपयुक्त हुने छ :

क.) पूर्व–पश्चिम राजमार्ग 

१. हुलाकी राजमार्ग करिब १२०० किमी २. पूर्वपश्चिम महेन्द्र राजमार्ग १२०० किमी ३. मदन भण्डारी राजमार्ग १२०० किमी ४. पुष्पलाल राजमार्ग १२०० किमी ५. बिपी कोइराला हिमाली राजमार्ग १२०० किमी

ख.) उत्तर–दक्षिण राजमार्ग

१. विराटनगर–किमाथाङ्का २०० किमी २. जनकपुर–लामाबगर २०० किमी ३. वीरगन्ज–काठमाडौँ–केरुङ २०० किमी ४. भैरहवा–पोखरा–कोरला २०० किमी ५. नेपालगन्ज–जुम्ला–हिल्सा २०० किमी ६. धनगढी–दार्चुला–बझाङ–ताक्लाकोट २५० किमी ।

यी राजमार्गको अनुमानित लम्बाइ ७२५० किमी हुन्छ । 

ग.) उपर्युक्त स्थानमा सडक र आकाशमार्ग निर्माणमा लाग्ने अनुमानित खर्च : 

यी ११ राजमार्गमा छ लेनको सडक निर्माण गर्दा अहिलेको दररेटमा २३ खर्ब चार अर्ब रुपियाँ लाग्ने देखिन्छ । 

घ.) यी सबै राजमार्गमा आकाशमार्ग निर्माण गर्दा अहिलेको दररेटमा सात खर्ब ६७ अर्ब रुपियाँ लाग्ने देखिन्छ । 

साथै आकाशमार्ग सञ्चालन गर्दा वातावरण प्रदूषण जिरो हुने छ । त्यस्तै प्रकृति, पर्यावरण र जमिनको संरक्षण हुने छ । बाटोमा पर्ने निजी र सरकारी जमिनको क्षति रोकिने छ । अहिले भइरहेको सडक दुर्घटना लगभग जिरो हुने छ ।