यात्रा शब्द नै काफी र प्रफुल्ल छ । भनिन्छ, यात्राले मानिसको भाग्यको उदय हुन्छ । त्यस्तै, रहर पनि हो । बिजुली गति अघि अघि लाग्छ । उसो त पाइलाको रफ्तार पनि कहाँ कम हुन्छ र ? त्यसमा जोडियो साहित्यिक । निम्ताको फोन कानमा पर्नासाथ खुसीले गदगद भएँ म । गोरखापत्र संस्थान र श्री पद्म पुस्तकालयद्वारा आयोजित ‘आँखामा मधुपर्क, हृदयमा बन्दीपुर’ राष्ट्रिय सिर्जना सम्मेलन–२०८१ मा जोडिन मधुपर्कका सम्पादक त्रिभुवनचन्द्र वाग्ले सरको अनुरोध स्विकारेपश्चात् भोलिको पर्खाइ भयो ।
फागुन १२ गते बिहान कलङ्की पुग्दा “चितवन..., पोखरा..., भैरहवा..., बुटवल...! दिदी, दिदी कता जानुहुन्छ ? हामी पहिला जान्छौँ क्या यता आउनुस् न...।” गाडीमा मानिस हाल्न उछिनपाछिन युवाको ताँती थियो । कतिलाई यथार्थ जवाफ दिएँ । पाइलैपिच्छे उही कुरा भन्न साध्य नहुने देखेपछि कतिखेर बथान भेट्छु भन्ने निष्कर्ष चुपचाप खडा हुने तरखरमा थिएँ । दीपक लोहनी सरले “यता म्याम, हामी यहाँ छौँ” बोल्दै हातको इसारा गर्नुभएपछि त्यतै दगुरेँ ।
धन्वन्तरी मिश्र, विमल भौकाजी, दिव्य गिरी, प्रमोद प्रधान, शरद् प्रधान, राज रजक, ज्ञानुवाकर त्रिपुरा पौडेल, विक्रमभक्त जोशी, मिसन अधिकारी, वैरागी जेठा, लीलाराज दाहाल, किशोर पहाडी, मुकेश ललिता मल्ल, जगत वाशिष्ठ, दुर्गाकिरण तिवारी, निरूपा प्रसून, सुमन थापा सङ्गम, विमुन्स पौडेललगायत भेला भइसकेका थियौँ । म कलङ्की पुगेको झन्डै ४५ मिनेटपछि गाडी आयो । ‘टुरिस्ट बस’ रहेछ ।
“हामी धार्केमा चिया पिउँछौँ र कुरिनटारमा खाना खान्छौँ ।” वाग्ले सरले जानकारी गराउनु हुँदा गाडी गुड्दै थियो, क्रमशः गति रोकियो । ज्ञानु पाण्डे म्यामलाई पर्खिएको रहेछ । त्यो समय म मनमनै बोलेँ, आहा बन्दीपुर ! बारम्बार सुनेको नाम ! आज भेट्न साइत जु¥यो । पर्यटकीय नगरीको वास्तविक चित्रण मगजमा थिएन । यद्यपि कल्पनाको बाढी खचाखच बल्झी रह्यो । सिटमा थियौँ, म र सुमन थापा सङ्गम । लेखन कलाबारे अनुभव र विचारको प्रवाहमा डुब्यौँ, एकअर्कालाई सुन्यौँ ।
नागढुङ्गालाई पछाडि छोडेर ओरालो झर्दा बन्दीपुरको भूगोल कस्तो होला ? डुम्रेबाटमाथि कतिबेला पुगिएला ? त्यहाँको कला, साहित्य, सांस्कृतिक पहिचान र संस्कृति अनि धार्मिक सामाजिक परम्परादेखि पर्यटन प्रवर्धनका कुरा मनमा आइरहे । विकासको शृङ्खला कुन प्रकारले टेवा भइरहेको होला ? गौण विषय तीन दिवसीय साहित्यिक कार्यक्रम सुरु र अन्त्य कसरी हुन्छ ? मनभरि जिज्ञासाहरूले ढकमक्क गुराँस फुल्यो ।
कथा, कविता, मुक्तक, गजल के के सुन्न पाइन्छ ? बन्दीपुरलाई प्रत्यक्ष रूपमा हृदयगत नमन गर्न अघि बढेको यात्रा विशेष र स्मरणीय हुने कुराले मन गदगद भयो । धार्केमा चियानास्ता कार्यक्रम सम्पन्न भयो । सडक अवरोध नहुनु समयमा कुरिनटार पुगियो । त्यहाँ खाना खाएर पुनः गाडीमा लोड भयौँ । बन्दीपुर ! अब कतिबेला पुगिएला ? अपराह्न ५ बजे टुँडिखेल नजिक गाडी रोकियो । पहाडी भूगोलको सुरम्य त्यो वातावरणमा मलाई भने बादलभित्रबाट घाम मुस्कुराएको भान भयो । बिहानी किरण फैलिए पनि दिन धुम्मधुम्म नै थियो । प्रातःकालअघि नै उठ, तयार पर अनि बाटो लाग । गाडीको गाडी खुट्टा जाम छन् र चियाको तलतल बयान गरी साध्य भएन । “तिम्रा लागि यो नयाँ ठाउँ हुनाले एकछिन धैर्य गर । यहाँ सबै कुराको व्यवस्थापन छ, हामीले सक्दो चाँजो गरेका छौँ । अतः पटक्कै नआत्तिनु ।” बन्दीपुर सद्भावको आवाजमा बोलेको अनुभूति भयो ।
त्यहाँ बाटो कालोपत्रे हुँदै रहेछ । सायद पहिलो पाइला हाम्रै परे । स्थानीय सुदर्शन प्रधानले हामीलाई गुलियो स्वागत गर्नुभयो । उहाँ पद्म पुस्तकालयका अध्यक्ष, पर्यटन व्यवसायी एवं कवि हुनुहुँदो रहेछ । मसहित चार जनाको बास होटल बिसौनीमा हुने निश्चय भयो । आआफ्ना झोला राखेर ‘होटल दरबार हिमालय टुँडिखेलमा’ पुग्यौँ । त्यहाँ चिया खाजा खाइयो । अग्रज साहित्यकार भागीरथी श्रेष्ठ भेट हुनुभयो । दिदी आउँदै हुनुहुन्छ भन्ने जानकारी थियो ।
साहित्यकारहरूसँग परिचय र बन्दीपुरबारे जानकारी त्यहीँ होटलको चौथो तलामा “आँखामा मधुपर्क, हृदयमा बन्दीपुर” राष्ट्रिय सिर्जना सम्मेलन– २०८१ उल्लेख गरिएको ब्यानरसँग जब मेरा आँखाजुधे मन पुलकित भयो । बेजोड त्यो खुसी कहाँ राख्नु कता सजाउनु । बन्दीपुरको माया पाउन लेखेकै रहेछ । त्यहाँ स्रष्टा परिचयको क्रममा थाहा भयो कि देशैभरिबाट प्रतिनिधित्व रहेछौँ । गोलाकार कुर्सीमा बसेकै ठाउँमा डायरी र पेन उपहार पाइयो ।
“साहित्यकार भनेको समाजका मात्र नभएर देशकै महत्वपूर्ण मान्छे हुन् । सिर्जना गर्न रहर लाग्दैमा जोकोहीले लेख्न सक्दैन । पृथ्वीको संरक्षणमा जसरी मानिस एक हुनुपर्ने आवश्यकता छ, उसरी नै साहित्यकारहरू पनि अब एक हुनु पर्छ । समाजको ऐना धार–धारमा विभाजित हुनुहुँदैन ।” यो सुन्दर भनाइ सुदर्शनज्यूले पस्किनु भयो ।
“यहाँका पहिलो बासिन्दा मगर जाति हुन् । उनीहरूको भाषामा पानीलाई ‘डी’ भनिन्छ । प्रशस्त पानी भएको वन फडानी गरेर घर बन्ने क्रम ‘वन् डी’ भन्दाभन्दै बन्दीपुर भयो । अर्को तथ्य यहाँ आएपछि जान मन नलाग्ने । पाल्पाका राजा मुकुन्द सेन बन्दीपुर आएर कुटी बनाइ ध्यान गरेर बसे । पछि आफ्ना भाइभतिजालाई राजकाजको जिम्मा दिएर यतैबाट देवघाट गएको इतिहास छ । तेस्रो तथ्य राणा शासन सुरु हुनुभन्दा पहिला यहाँ अड्डा थियो, कैदीबन्दी राखिन्थ्यो । यहाँको झ्यालखाना काठमाडौँको चारखाल अड्डा जस्तै ठुलो इँटैइँटाले बनाएको माथि अदालत तल बन्दी राख्ने ठाउँ मानिसको बोलीमा ‘बन्दी राख्ने ठाउँ, बन्दी राख्ने ठाउँ’ भन्दाभन्दै बन्दीपुर भयो ।
चौथो यहाँ हजार वर्षअघि ढुङ्गैढुङ्गाले बनेको शिवालय छ । सालिक, मूर्ति र भ¥याङमा समेत ढुङ्गा प्रयोग भएको छ । साथै, अरू देवीदेउताका मठ–मन्दिर पनि छन् । यस्तो बृहत् धार्मिक आस्था भएको यस पुण्य भूमिमा ‘वन्दे’ भनेर पुकार गर्दागर्दै ठाउँको नाउँ नै बन्दीपुर भयो ।” पहाडकी रानी उपमाले परिचित बन्दीपुरबारे बन्दीपुर क्याम्पस प्रमुख गोवर्धन भट्टराईले साह्रै रसिलो वर्णन गर्नुभयो ।
बन्दीपुरलाई एकमुष्ट नियाल्न गुरुङचे डाँडा जानु पर्छ, भन्ने सूचना आयो तर ठाडो उकालो हिँड्न नसक्नेका हकमा नियम कडा छैन भन्ने पनि सुनियो । मौकाले जुराएको बेला किन नजाने ? जानु पर्छ । मैले सुमनजीलाई उकासेँ । हाम्रो निधो अटल भयो । अब साँझको कार्यक्रम पनि बिट मरिसकेको हुनाले होटल बिसौनी फर्कन ढोकामा पुग्दा आकाश त रोएको छ । ओहो ! यो के देखियो ? हामी बन्दीपुर आउनु अनि पानी पर्नु ? लाग्यो, बन्दीपुरले हाम्रो बेजोड स्वागत ग¥यो । चौपट्ट खुसीमा आँसु खसे जसरी ।
बिहान ६ बजे दुई बहिनी तयार भएर सडकमा झ¥यौँ, गुरुङचे जान । बाटो देखेको थिएन । साथीहरू जाने नजाने छलफलमा केही मिनेट नाश भयो । त्यही बेला सागर उदास र अमर नहर्की टुप्लुकिनु हामी अघि बढ्यौँ । बजारका घरहरू प्रायः होमस्टेमा रूपान्तरण भएका दृश्य आँखामा कैद भयो । प्राकृतिक भूबनोटलाई आघात नगरी संरचना निमार्ण गर्नु बन्दीपुरको मूल विशेषता रहेछ ।
जादैथ्यौँ क्रमशः अरू साथीहरू पनि भेटिनुभयो । उकालो त्यति टाढा र अप्ठ्यारो होइन । खुड्किलैखुड्किला माथि पुगेर बजार नियाल्नु ‘भ्यु टावर’ चढेर बन्दीपुर हेरेको आभास भयो, मलाई । क्षितिजको डाँडाबाट सूर्योदयको दृश्यले वास्तवमै मन लोभ्यायो । स्वर्ग भनेको यही हो । चारैतिर आँखा फैलाएर नेपाल आमालाई कोटी नमन गरेँ । आगोको ज्वाला आएर उत्पत्ति भएकी थानीमाई देवीको मन्दिर त्यहीँ रहेछ, भेटी चढाएर ढोग गरेँ । आहा ! गुरुङचेबाट देखिएको दृश्य जता हे¥यो उतै राम्रो ! पहाडकी रानीको काखमा लुटुपुटु पोजपोजमा फोटो खिच्यौँ । हामी सबै हर्षित र आनन्दित भयौँ । जस्तो कि दुधे बालकले आमाको काख पाएको छ ।
बिहान ८ बजेदेखि भानु माविमा औपचारिक कार्यक्रम सुरु हुने तालिका छ, डायरी र झोला होटलमै हुनाले पहिला त्यो लिनु प¥यो । धेरै लामो बाटो होइन तर होटेल पुगिकन कार्यक्रम स्थलमा उपस्थित हुन समय लाग्ने भयो । साहित्यको यत्रो उत्सवमा आएर समयको पालना नगर्नु नुनबिनाको तरकारी होला भन्ने डर । एउटा सजिलो पहिरन फेर्नु थिएन ।
हरियाली वन, हिँडौहिँडौ लाग्ने रमणीय पहाड, क्षितिजसँग एकाकार भई उभिएको अन्नपूर्ण हिमाल अनि बादलरहित निलो आकाशको छानामुनि हामी उभिएका छौँ । प्रकृतिसँग नजिक हुन पाउँदा खुसी चुलिएको छ । वसन्तको बहार फूलको सौन्दर्य बयान गरेर सकिँदैन । बन्दीपुर घुम्न आएका विदेशी पाहुना हतारमा देखिँदैनन् । सफा छ सडक । कलात्मक पहाड कुनै कालीगढले आफ्नो कला मिसाएर प्रस्तुत गरे जस्तो ।
बजारभित्र सवारी निषेध रहेछ । कति राम्रो व्यवस्था ! भानु माविको गेटभित्र आँगन हुँदै माथि हलमा पुग्नु औपचारिक कार्यक्रम सुरु भयो । वरिष्ठ कवि द्वारिकालाल श्रेष्ठले सम्मेलन उद्घाटन गर्नुभयो । बन्दीपुर सामाजिक विकास समितिका अध्यक्ष चिजकुमार अकेला, डा. मदन पिया, पर्यटन व्यवसायी सन्तकुुमार श्रेष्ठलगायतले पर्यटकीय नगरी बन्दीपुरलाई बन्दीपुर बनाउन गरिएको योगदानबारे स्मरण गर्नुभयो । गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले प्रकृतिले दिएको भौगोलिक विविधता र संस्कृतिको जगेर्ना गर्दै विविधतायुक्त बन्दीपुर बनाउने अभियान थालिसकेको बताउनुभयो ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले नेपाली साहित्यको सिङ्गो इतिहास बोकेको मधुपर्कमा रचना छापिएपछि साहित्यकारले आफू साहित्यकार भएको महसुस गरेको सम्मेलनमा सुन्न पाउँदा खुसी लागेको बताउनुभयो । संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले स्रष्टा र ठाउँ जोड्ने उद्देश्यले बन्दीपुर सम्मेलन गरिएको बताउनुभयो । त्यस्तै गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराईले धर्तीको स्वर्गको रूपमा परिचित बन्दीपुरमा मधुपर्कका माध्यमबाट देशैभरिलाई सुन्न पाउनु साहित्यमा टेवा पुगेको बताउनुभयो ।
गुरुङ, तामाङ, मगर, नेवार, सुनार, भुजेल, क्षत्री, ब्राह्मणलगायत दलितको बसोबास रहेछ । सांस्कृतिक, प्राकृतिक, भौगोलिक र जातीय विविधता यहाँको विशेषता नै भयो । दक्षिण एसियाको दोस्रो ठुलो गुफा सिद्ध गुफा नेपालको चाहिँ ठुलो–यहीँ रहेछ । पहिलो चरणको कार्यक्रमपछि खाना खान किशोर प्रधानले तय गर्नुभएको डिट्ठा बिचारी पार्क गले (गलेलाई नेवारी भाषामा गहिरो भनिँदो रहेछ) पुगियो । खानापश्चात् पुनः कार्यक्रममा प्रस्थान भयौँ ।
“आँखामा मधुपर्क, हृदयमा बन्दीपुर” राष्ट्रिय सिर्जना सम्मेलनको रौनक त बल्ल पो देखियो । साहित्यकार विद्वत् वर्गलाई स्वागत र बजार परिक्रमा चन्देनी टोलबाट मुख्य बजार हुँदै पद्म पुस्तकालय प्राङ्गणमा यति भव्य आदर भयो कि शब्दमा कसरी उतारौँ ? झ्याम् झ्याम् बाजाको धुनले कान पवित्र भए । नेवारी वेशभुषामा सजिसजाऊ महिला दिदीबहिनीहरूले लामबद्ध उभिएर क्रमशः टीका, प्रसाद र खादाले स्वागत गर्नुभयो । सूर्यको तेजिलो न्यानोले शरीरभरि स्पर्श गर्दा बढो सुखद अनुभूति भयो । सायद यसैलाई भनिन्छ, मान्छे भई जन्मनुको सार्थकता !
हृदयमा बसेको बन्दीपुर आँखामा नाच्न छोडेको छैन । मानिसले मानिसलाई सम्मान गर्न नजानेको पाए ‘जानुहोस्, बन्दीपुर गएर सिकेर आउनु’ भन्नु जस्तो कति गहकिलो स्वागत थियो । त्यो वजनले लेखनमा अझै सचेत र जिम्मेवार हुन अह्राएको आभाव भयो । कार्यक्रम शुभारम्भ, सम्मान तथा प्रस्तुति र रचना वाचनमा समय बितेको पत्तो भएन । पद्म पुस्तकालयको आँगनभरि कुर्सी, कुर्सीभरि मानिस अनि रचना र रचनाकार । आआफ्ना सिर्जना लेनदेनको क्रम अविस्मरणीय किसिमले दिन बित्यो ।
तेस्रो दिन बन्दीपुरसँग विछोड हुने दिन प्रातः हिँडाइ भएन । टुँडिखेललाई फन्को मारेर फर्कने योजना क्यामेराको चित्त बुझाउन समय लाग्यो । हाम्रो चकचकले प्रकृति कति खुसी भइन् । बन्दीपुरको माया हृदयमा साचेर ‘क्विन टावर’ पुग्न सबै आतुर भयौँ । घडी हेर्दै होटेलबाट बिदा आआफ्ना झोला च्यापेर पैदल उँभो उक्लियौँ । सम्मेलनका संयोजक सुदर्शनजी र नमस्तेलालजीको आग्रह ‘क्विन टावर’ बाट केबुलकारमा डुम्रे पुग्ने, पार्कमा फोटो खिच्ने र ‘टी टाइम’ पश्चात् मात्रै राष्ट्रिय सम्मेलनको विधिवत् बिदाइ हुने कुरा सूचित गर्नुभयो ।
काठमाडौँबाट १४३ किलोमिटर टाढा बन्दीपुरलाई चटक्क छोडेर ओझेलिन मन थिएन तर हाम्रो बाध्यता पहाडकी रानीसँग छुट्नै पर्ने भयो । स्रष्टाको माया पनि कति हो, निःशुल्क टिकट नाम हाजिर लगाउँदै केबुलकार चढ्न लाइन सुरुभयो । जस्तो कि माइत आएकी छोरीलाई घर पठाउने तरखरमा अभिभावक जुटेका छन् । त्यहीबेला मैले अठोट गरेँ– घरपुगेर पहिलो रचना नै बन्दीपुरलाई उर्ताछु । प्रकृतिबिनाको साहित्य रङ नभरेको कला जति पनि हुँदैन । कला कलात्मक हुन रङले साथ दिएको हुन्छ, त्यही रङ मानिस हो ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण बन्दीपुर आँखाको नानी हो । राम्रो हुन ठुलो आकार चाहिँदैन । त्यहाँको समाज चेतनाको खानी रहेछ । परिणामतः विदेशी पाहुना भ्रमणको स्वाद लिन आनन्दले बसेका छन् । प्रायः होमस्टे खाली नहुँदा रहेछन् । अझ बन्दीपुर केबुलकार स्टेसनमै बनेको १८ तले पाँचतारे होटल अर्को महिनादेखि सञ्चालनमा आउँदै रहेछ । राष्ट्रलाई समृद्ध बनाउन बन्दीपुरबासीमा प्रशस्तै जाँगर देखियो । रचनात्मक र सृजनात्मक फूलको सुगन्ध बन्दीपुर उठेजसरी हामी सबै उठौँ ।