खोटाङको दिक्तेलमा गएको फागुन १५ देखि १७ सम्म आयोजित प्रथम राष्ट्रिय बाँस सम्मेलन उत्साहप्रद रूपमा सम्पन्न भयो छ । बाँससँग सम्बद्ध कृषक, उद्यमी, निजी क्षेत्र, तिनै तहका सरकारी निकायका प्रतिनिधि, तथा अन्तर्राष्ट्रिय साझेदार, विश्वविद्यालय तथा प्रतिष्ठान, प्राज्ञ, अनुसन्धानकर्तालगायत सरोकारवालाई निम्त्याएर मोफसलमा आयोजना गरिएको यति बृहत् सम्मेलनले राजधानी तथा ठुला सहरकेन्द्रित सभा सम्मलेनलाई चुनौती पनि दिएको छ । तीन दिने दिक्तेल सम्मलेनले बाँसलाई बहुउपयोगी र नवीकरणीय स्रोतको रूपमा मान्दै यसले नेपालको दिगो जीविकोपार्जन, चक्रीय अर्थतन्त्रको प्रवर्धन तथा वातावरण संरक्षणमा महìवपूर्ण योगदान दिन सक्ने विश्वासका साथ ३५ बुँदे घोषणापत्रसमेत जारी गरेको छ ।
नेपाली जनजीवनमा आर्थिक रूपले मात्र होइन धार्मिक तथा सांस्कृतिक रूपले समेत बाँसको भूमिका अहम् रहँदै आएको छ । जन्मिएपछि कोक्रो र मृत्युपश्चात् प्रयोग हुने घारो बाँसकै हुन्छ । अझै पनि ग्रामीण क्षेत्रमा घेराबेरादेखि घरकटेरो बनाउन बाँसकै प्रयोग हुँदै आएको छ । बाँसलाई गरिबीको साथीभन्दा पनि हुन्छ । घर बनाउन धेरै खर्च गर्न नसक्नेलाई बाँस नै सहारा बन्ने गरेको छ । भूकम्प, बाढीपहिरो एवं आगलागी जस्ता विपत् परेको बोलामा तत्काल उद्धार गर्न गरिब होस् या धनी दुवैका लागि बाँस नै पहिलो प्रथामिकतामा पर्छ । तसर्र्थ यसलाई सङ्कटको सारथि पनि भनिन्छ । कतिपय धार्मिक कार्यमा बाँस तथा यसका सामग्री नभई हुँदैन । बाँसका विभिन्न समग्री बनाएर पुस्तौँदेखि पेसामा धानेर जीवन निर्वाह गर्ने समुदाय अझै पनि विद्यमान छन् । पछिल्लो समयमा प्लास्टिकको बढ्दो प्रयोगसँगै बाँसमा आधारित परम्परागत पेसा र सिप दुवै धरापमा पर्दै गएको देखिन्छ । परम्परागतकालदेखि बाँससँग गाँसिएको कला, संस्कृति र सिपलाई जोगाउँदै बाँसको व्यावसायीकरण गरिनुपर्ने अवश्यकतालाई ढिलै भए पनि दिक्तेल सम्मलेनले उजागर गरेको छ ।
बाँस सम्मेलनका लागि खोटाङ जिल्लामा नै किन ? भन्नेमा पनि आफ्नै पृष्टभूमि रहेको छ । पहिलो त सम्मेलन राजधानीबाहिर गर्ने आयोजकको अठोट । राजधानीबाहिर कार्यक्रम आयोजना गरिने भएपछि स्थान छनोटको क्रममा छलफल चलाउँदा खोटाङ जिल्ला बाँस उत्पादन र बाँसजन्य व्यवसायमा अग्रणी रहेको पाइयो । दोस्रो पक्षमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईको अग्रसरता । स्थानीय तहको निर्वाचनबाट नगर प्रमुख पदमा निर्वाति भएपछि स्थानीय उत्पादलाई प्राथमिकता दिने नीतिअनुरूप बाँस व्यवसायलाई प्रवर्धन गर्न आफ्नो कार्यकक्षमा सुविधायुक्त महँगा फर्निचरको स्थानमा बाँसकै टेबुल कुर्सी र सोफा राख्ने अठोट रह्यो । यति मात्र होइन उहाँले बाँसमा अपार सम्भावना देखेर बाँसजन्य सामग्रीको उत्पादनमा स्थानीयलाई सरिक गराउन तालिम कार्यक्रमको सुरुवात पनि गराउनु भयो । उहाँको बाँसप्रतिको लगावले बाँस क्षेत्रमा काम गर्ने विभिन्न विज्ञ र सरोकारवालासँग सम्पर्क बढ्दै जाँदा बाँस सम्मेलन दिक्तेलमा गर्ने माहोल सिर्जना हुन पुग्यो ।
‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने मूल नाराका साथ सुरु गरिएको सम्मेलनमा ४४ जना विज्ञ तथा अध्येताबाट २३ वटा कार्यपत्र प्रस्तुत भएका थिए । कार्यपत्र मूलतः बाँससँग सम्बन्धित नीति निर्माण, अध्ययन अनुसन्धान, खेती प्रविधि, उद्यम विकास एवं बजारीकरणका विषयवस्तुमा केन्द्रित रही प्रस्तुत भएका थिए । सोही विषयमा आधारित रही पेनल एवं समूहगत छलफलको निचोड स्वरूप जारी गरिएको उक्त घोषणापत्र मुख्य रूपले बाँस खेती प्रवर्धन र दिगो व्यवस्थापन, बाँस उद्योग तथा बजार सुदृढीकरण, अध्ययन÷अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि, नीतिगत रूपरेखा तथा तथा संस्थागत समर्थन, वातावरणीय तथा जलवायु चुनौतीको समाधान, रोजगारी तथा जीविकोपार्जनको विस्तार र विविध गरी सात भागमा विभाजन गरी तयार गरिएको हो ।
सम्मेलन धेरै कोणबाट विशेष रहेको पाइयो । कुनै एउटा बाली विशेषमा केन्द्रित रहेर त्यसको समग्र पक्षमा छलफल गरी सम्भावनाको खोजी गर्ने कार्य भएको छ । खोटाङ जिल्लामा बाँस सङ्ग्रहालय स्थापना गरी बाँसको राजधानी बनाउन, बाँसको अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना एवं पहिलो राष्ट्रिय सम्मेलन सुरु भएको दिन फागुन १५ लाई राष्ट्रिय बाँस जागरण दिवसका रूपमा मनाउन पहल गर्ने घोषणापत्रको प्रतिबद्धता आफैँमा सराहनीय छ । अर्कोतिर ठुला सभा सम्मेलन राजधानी तथा तारे होटलमा आयोजना गर्ने संस्कृतिलाई भत्काउँदै मोफसलमा गरिनुले सिङ्गो समाजलाई नै मितव्ययिताको सन्देश दिएको छ । सम्मेलन निश्चित घेरा र बन्द कोठामा सीमित नरही बृहत् सहभागिता हुने गरी आयोजना गरिनुले यसले सर्वसाधारणसमेतलाई कुरा सुन्ने, बुझ्ने र आफ्नो विचार विमर्श राख्ने अवसर जुराइदियो ।
दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा आयोजना गरिएको सम्मेलन स्थल नजिकै रहेको माटिकोर खेलमैदानमा बाँसका सामग्रीसहित ५१ वटा प्रदर्शनी कक्षले पनि सम्मेलनलाई थप जीवन्त बनाएको थियो । यस प्रर्दशनी कक्षको व्यवस्थाले एकातिर स्थानीयलगायत देशका विभिन्न स्थानका व्यवसायीले आफ्नो उत्पादनको बजारीकरणका गर्ने र अर्कोतर्फ अवलोकनकर्ताले बाँस उद्यमका गतिविधिसँग परिचित हुने मौका पाए । सम्मेलनले व्यावहारिक रूपमै बाँससँग सम्बद्ध व्यवसायी, विज्ञ, अनुन्धानकर्ता, कृषक एवं सरोकारवालाई सबैलाई एकै ठाउँमा जोड्ने अवसर जुरायो । बालक, युवा, वृद्ध, स्कुल/कलेजका छात्रछात्रालगायत सबै स्थानीयवासीमा समेत यस सम्मेलनले ठुलै जागरण, कौतूहल र हौसला प्रदान गरेको छ ।
सम्मेलन अवधिभर सम्मेलन मात्र नभएर बाँसको महोत्सवको अनुभूति दिइरहेको थियो । स्थानीयको जागरुकता र चहलपहले पूरै खोटाङ जिल्ला नै बाँसमय बनेको थियो । यस प्रकारको सम्मेलन सहरको तारे होटेलमा गरेको भए व्यापक सहभागिता, जागरुकता, उत्साह र रौनक सम्भव हुन्थिएन होला । खोटाङ सम्मेलनले जनसरोकार विषयमा हुने छलफल र बहस अब तारे होटेलको बन्द कोठाभित्र होइन स्थानीय तवरमै गर्दा चाहेको उद्देश्य प्राप्तिमा सफलता मिल्छ भन्ने स्पट सन्देश पनि दिएको छ । बाँसको मञ्च, पोडियम, सहभागी बस्ने कुर्सीका साथै प्रदर्शनी स्थलको स्वागत द्वार र स्टलसमेत बाँसको बनाइनुले बेग्लै पहिचान दिएको थियो ।
बाँसलाई प्रतिकूल वातावरणीय अवस्थामा पनि सदाबहार बहुवर्षीय र घाँस जातमा सबैभन्दा लामो र छिटो हुर्कने बिरुवाका रूपमा लिइन्छ । एक दिनमा झन्डै एक मिटरसम्म बढ्ने र ३/५ वर्षभित्र परिपक्व हुन सक्ने हुँदा बाँसबाट आम्दानी लिन धेरै लामो समय कुर्नु नपर्ने भएकाले यसलाई नेपाल र भारतमा ‘गरिबको काठ’ पनि भनिन्छ । बाँस तराईदेखि उच्च पहाडी क्षेत्रको करिब चार हजार मिटर उचाइको भूभागम्म पाइन्छ । नेपालमा बाँसका १२ जाति अन्तर्गत ५३ भन्दा बढी प्रजाति पाइन्छ भने सात प्रजातिका संसारमा कतै नपाइने रैथाने रहेका छन् । उपयोग गर्ने सके बाँसको कुनै पनि भाग खेर जाँदैन । त्यसैले त गाउँघरमा ‘बाँसको बन्दैन हलो, अरू सब कुरामा गर्छ यसले भलो’ भनिन्छ । बाँसले मानवलाई खाना, नाना र छना तिनै चिज दिँदै आएको छ । उच्च पौष्टिक महìवले भरिएको तामाको स्वादिष्ट परिकार हाम्रो जीब्रोले बिर्सन सक्दैन । बाँसको रेसा प्रयोग गरेर कपडा बनाउन सकिन्छ । गाउँघरमा बाँसबाट बनेका साधारण घर हामीले देखेकै छौँ । यसबाट आकर्षक डिजाइनका आधुनिक घरसमेत बनाउन सकिन्छ । बाँसबाट हस्तकला, सजावटलगायत दैनिक प्रयोगका सामग्री बन्दै आएका छन् । भारत र चीनमा बाँसको पातलाई कागज बनाउन व्यापक प्रयोग गरिन्छ ।
जलावायु परिवर्तनको चपेटामा पर्दै गएको हाम्रो देश नेपालमा बाँसको बेग्लै पर्यावरणीय महत्व छ । पछिल्ला केही वर्षयता मनसुनी प्रणाली खलबलिँदा बाढीपहिरो तथा नदी कटनाका गतिविधिले ज्यापक धनजनको क्षति बेहोर्नु परिरहेको छ । बाँस पहिरो तथा भूक्षय न्यूनीकरणका लागि अब्बल मानिन्छ । त्यसै गरी बाढी तथा नदी कटानबाट जोगिन बाँसले दरिलो प्राकृतिक तटबन्धको काम गर्छ । तसर्थ बाढी पहिरोको जोखिम रहने सम्भावित क्षेत्रमा बाँस रोपणलाई प्रथमिकता दिनुपर्ने जोड सम्मेलनमा दिइएको थियो । अर्कोतर्फ छिटो बढ्ने गुणका कारण अन्य रुखभन्दा बढी कार्बन सञ्चितीकरण गर्ने क्षमता बाँसमा पाइएको छ । एक हेक्टर जग्गामा रोपिएको बाँसले वार्षिक ६० टन कार्बन सञ्चित गर्ने क्षमता राख्ने अनुमान गरिएको छ, जुन अन्य रुखभन्दा निकै बढी हो । यसैले हैसियत बिग्रिएका, खेर गएका र नदी उकासका जग्गामा बाँस विस्तार गर्न सके कार्बन व्यापारबाट थप लाभ लिन सकिने सम्भावना रहेको छ ।
बाँस सम्मलेनको अर्को महत्वपूर्ण पक्ष भनेको सरकारका तिनै निकायको सक्रिय सहभागिता । यसको मुख्य आयोजकामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका रहेको थियो भने सङ्घीय वन तथा वातावरण मन्त्रालय मातहत रहेको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र र कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय आयोजकका रूपमा रहेका थिए । त्यसै गरी सम्मेलनको आयोजनामा निजी क्षेत्र एवं सरकारी तथा गैरसरकारी संस्थाको भूमिका उल्लेख्य रहेको थियो । सम्मेलनको तयारीदेखि समापनसम्म देखिएको सक्रियता र सहकार्यले सबै निकायबिच बाँस जतिकै बलियो सम्बन्धको अभास दिइरहेको थियो ।
सम्मेलनकै उद्घाटन सत्रको क्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीको प्रमुख आतिथ्यमा ‘राष्ट्रिय बाँस तथा बेत विकास रणनीति, २०८१’ अनावरणले बाँससम्बद्ध सरोकारवालाका लागि थप उत्साह थप्यो । वन तथा वातावरण मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट बाँस सम्मेलनको पूर्वसन्ध्यामा यही फागनुका ११ गते स्वीकृत उक्त रणनीतिले सम्मेलनले जारी गरेका घोषाणापत्र कार्यान्वयनको थालनी भएको रूपमा लिन सकिन्छ । स्वीकृत रणनीतिले पनि बाँस तथा बेतको संरक्षण, व्यवस्थापन र दिगो उपयोग सुनिश्चित गर्दै स्थानीय समुदायको जीविकोपार्जन, रोजगारी र आय आर्जन वृद्धिका साथै सबल हरित अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको देखिन्छ ।
बाँसको अयातनिर्यात पक्ष खोतल्ने हो भने यसले पनि अन्य कृषि र वनजन्य वस्तु जस्तै सबैलाई चिन्तित बनाउँछ । आर्थिक वर्ष २०८०/८१ मा ५१ करोड एक लाख १६ हजार रुपियाँको बाँसका समग्री आयात र १० करोड ६७ लाख ८० हजार रुपियाँको निर्यात भएको थियो । दाँत कोट्याउने सिन्का जस्तो सामान्य वस्तु मात्र वार्षिक डेढ करोडको भित्रिनु विडम्बना नै हो । बाँसको खेती विस्तार र बजारको माग अनुसारको प्रतिस्पर्धी एवं गुणस्तरीय उत्पादन गर्न सके एकातिर वनमा चाप कम पर्ने र अर्कोतिर निर्यात बढाउन सके देशलाई समृद्धिको बाटोमा डो¥याउन टेवा पुग्ने विचार पनि सम्मेलनमा सहभागीले राखेका थिए ।
नेपाल जैविक विविधतामा धनी देश हो । हामीले आफ्ना अथाह प्राकृतिक स्रोतसाधनलाई समृद्धिसँग यथेष्ट रूपमा जोड्न नसकेको तितो यथार्थ हामीमाझ छ । निश्चय पनि दिक्तेलमा आयोजित प्रथम राष्ट्रिय बाँस सम्मेलनले मुख्य गरेर बाँसमा जीवन देख्ने उद्यमीमा ठुलो आस जगाएको छ । जसरी सम्मेलन सफल पार्न सबै पक्षको एकबद्धता देखिएको थियो । सोहीबमोजिमको एकबद्धता कार्यान्वयन तहमा देखिए मात्र बाँससँग बाँच्न चाहनेप्रति न्याय गरेको ठहरिने छ ।