• २ चैत २०८१, शनिबार

बहुपति प्रथामा आधारित ‘द्रौपदी’

blog

कास्की समाचारदाता

कास्की, चैत २ गते । बहुपति प्रथाको कथामा आधारित चलचित्र ‘द्रौपदी’ को निर्माण पक्षले शुक्रबार पोखरामा चलचित्रबारे सञ्चारकर्मीलाई जानकारी दिएका छन् । चलचित्रका लेखक तथा निर्देशक ऋषिराज आचार्यले चलचित्रको कथा चार वर्ष लगाएर लेखेको बताउँदै हिमाली जिल्ला डोल्पा र मुस्ताङका कथावस्तुलाई उतारिएको जानकारी दिनुभयो । “विकट ठाउँ भएकाले पनि छायाङ्कनका लागि निकै दुःख भयो । पाँच दिनको बाटो हिँडेर से फोक्सुन्डो ताललगायतका गाउँमा पुगेर छायाङ्कन गरियो । दर्शकले हालसम्म हेरिएका दृश्यभन्दा फरक स्वाद पाउने छन्,” उहाँले भन्नुभयो । 

कर्णाली भेगको परिवेश, रहनसहन, नारी संवेदनामा मौलिक चलचित्र बनाएको उहाँको दाबी छ । शीर्षक महाभारतको द्रौपदी पात्रसँग मिले पनि देशको यथार्थपरक कथामा चलचित्र बनेको आचार्यको कथन छ । चलचित्र प्रदर्शनपूर्व नै केही अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भइसकेको उहाँले जानकारी दिनुभयो । चलचित्र चैत ८ गतेबाट देशभर प्रदर्शनमा आउँदै छ । चलचित्रबाट नेपाल आइडलका विजेता रवि वड पहिलो पटक चलचित्रमा ‘डेब्यु’ गर्दै हुनुहुन्छ ।