• ३ साउन २०८१, बिहिबार

‘मेट्रो तथा मोनोरेल योजना अगाडि बढाउन सकिँदैन’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १९ गते  । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले काठमाडौँभित्र गुरुयोजनाबिना निर्माण प्रक्रिया अगाडि बढाइएका मेट्रो तथा मोनोरेल योजना अगाडि बढाउन नसकिने बताउनुभएको छ ।गुरुयोजनाबिना नै मुलुकमा पूर्व–पश्चिम रेल मार्ग, मोनो रेल तथा मेट्रो रेल आयोजना अगाडि बढाइएकाले मेट्रो तथा मोनोरेल सञ्चालन गर्ने परियोजना हटाउनुपर्ने उहाँले बताउनुभएको हो । रेलसम्बन्धी गुरुयोजना नै तर्जुमा नगरी रेल्वे विकासका काम अगाडि बढाउँदा आशातीत सफलता हासिल हुन नसक्ने तथा भविष्यमा समेत त्यसको उपयोगिता हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।

अव्यवस्थित बसोबास भएको काठमाडौँ उपत्यकामा मेट्रो तथा मोनो रेलको स्टेसन कहाँ बनाउनेबारे समेत अहिलेसम्म निक्र्योल हुन नसकेकाले यो योजना खारेज गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “म मन्त्री हुनुभन्दा पहिलेदेखि नै रेल र मेट्रो रेलको कुरा सुन्दै आएको छु तर अहिलेसम्म यससम्बन्धी गुरुयोजना नै निर्माण हुन सकेको छैन । मेट्रो रेल पनि चक्रपथभित्र सञ्चालन गर्न सजिलो छैन ।” २०६८ सालमा स्थापना भएको रेल विभागले अहिलेसम्म रेलसम्बन्धी गुरुयोजना तर्जुमा प्रक्रियासमेत अगाडि बढाउन सकेको छैन ।

पूर्वाधारविज्ञ डा. सूर्यराज आचार्यले कुनै पनि पूर्वाधार विकासका लागि गुरुयोजना निर्माण प्रारम्भ बिन्दु भएको बताउँदै गुरुयोजनाबिनाको पूर्वाधार निर्माण सफल हुन नसक्ने बताउनुभयो । नेपालका विकास आयोजनाहरू सफल हुन नसक्नुमा गुरुयोजना नहुनु पनि एक मुख्य कारण रहेको बताउँदै उहाँले पूर्व–पश्चिम राजमार्गसँगै समानान्तर रेल मार्ग निर्माण गरेर त्यसको कुनै उपयोगिता हुन नसक्ने दाबी गर्नुभयो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले कुनै पनि पूर्वाधार योजनालाई अगाडि बढाउन गुरुयोजना संवेदनशील विषय भएको बताउनुभयो । उहाँले रेल्वे विकाससम्बन्धी गुरुयोजना नभए पनि रेल सञ्चालनको खाका बनाएर काम गर्दै आएको बताउनुभयो ।

रेल विभागका महानिर्देशक दीपककुमार भट्टराईले आवश्यक गुरुयोजनाको अभावमा नेपालमा रेलसम्बन्धी काम गर्न समस्या भएको बताउनुभयो । विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले गुरुयोजनाबिना नै रेलमार्ग आयोजना अगाडि बढ्नु आश्चर्यजनक विषय रहेको बताउँदै राष्ट्रिय महत्त्वका योजना सुरु गर्दा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमै गुरुयोजना बनाएर निर्माण अगाडि बढाउनुपर्ने सुझाव दिनुभयो ।