• १ चैत २०८१, शुक्रबार

सशस्त्रका सईमाथि बालिका बलात्कारको आरोप : रेलवे सुरक्षा बेस तनावग्रस्त

blog

तनाव ग्रस्त बनेको लोहरपट्टीस्थित सशस्त्र प्रहरीको रेलवे सुरक्षा बेस । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दीबास, चैत १ गते ।
लोहरपट्टी नगरपालिका ४ स्थित सशस्त्र प्रहरीको रेलवे सुरक्षा बेसका सशस्त्र नायब निरीक्षक (सई) धर्मेन्द्र सिंहमाथि बालिकालाई जबरजस्ती गरेको आरोपमा स्थानीयले विरोध गरेका छन् ।

घटनाको विरोधमा स्थानीयले लोहरपट्टीस्थित सशस्त्रको रेलवे सुरक्षा बेस घेराउ गरी शुक्रबार तोडफोडको प्रयास गरेपछि स्टेसन परिसर केहीवेर तनावग्रस्त बनेको थियो ।

विरोध चर्केपछि सशस्त्र प्रहरी आफैँले सई सिंहलाई नियन्त्रणमा लिई नेपाल प्रहरीको जिम्मा लगाएपछि स्थिति केही साम्य भएको थियो ।

जलसागरस्थित सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेडक्वार्टर महोत्तरीका एसपी पूर्णचन्द्र भट्टले घटनाबारे छानबिन भइरहेको बताउनुभयो । तथापि स्थानीयको आरोपपछि तत्कालै सई सिंहलाई नियन्त्रणमा लिई नेपाल प्रहरीको जिम्मा लगाएको जानकारी उहाँले दिनुभयो । ‘‘त्यो ठाँउमा अर्को सई पठाउने तयारी गर्दैछौं’ भट्टले भन्नुभयो ।

जिल्ला प्रहरीका एसपी नकुल पोखरेलका अनुसार सशस्त्रले जिम्मा लगाएका सई सिंहलाई अहिले जिल्ला प्रहरीको हिरासतमा राखिएको छ । पीडित परिवारबाट जाहेरी आएपछि सोही अनुरूप कारबाही अघि बढाइने पोखरेलले बताउनुभयो ।

एसपी पोखरेलले भन्नुभयो, ‘‘हामी जाहेरीको प्रतिक्षामा छौं । अहिलेसम्म बालिकाका आफन्त प्रहरीको सम्पर्कमा आइसका छैनन् । दुवै पक्षको कुरो बुझेपछि मात्र यसबारे केही भन्न सकिन्छ ।’’

लोहरपट्टीका नगर प्रमुख शैलेन्द्रकुमार यादवका अनुसार पीडितबालिकाको बुवा र सशस्त्र सई सिंहबिच घनिष्ठता छ । यही नाताले सशस्त्र बेस पुगेकी बालिकालाई ‘छोरी’ भनेर सुम्सुम्याउने माया गर्ने नाममा कुचेष्टा गरेको घटना सार्वजनिक भएपछि स्थानीय आक्रोश भएका उहाँले बताउनुभयो ।