• २९ फागुन २०८१, बिहिबार

निसेल ढोरवासी अझै दियालोको सहारामा

blog

बागलुङको निसीखोला गाउँपालिका–५ मा पर्ने निसेल ढोरगाउँ । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, फागुन २९ गते । पश्चिम बागलुङको निसीखोला गाउँपालिका–५ मा पर्ने निसेल ढोर प्राकृतिकरुपमा जति मनमोहक छ त्यहाँको जनजीवन भने कष्टकर छ । निसीखोलाको मध्य भाग हुँदै पुष्पलाल मध्यपहाडी लोकमार्ग विस्तार हुँदा सडक आसपासमा बजारीकरणको लहर चलेको छ । तर गामीण जनजीवन अत्यासलाग्दो छ ।

निसी भल्कोटबाट करिब ८–९ घण्टाको पैदलयात्रापछि मात्र पुग्न सकिने निसेल ढोर सडक सञ्जालसँग अझै जोडिएको छैन । विद्यालय भवन जिर्ण छन्, निमावि तहको अध्ययन गर्न बेसीको बोबाङ झर्नुपर्छ । प्रशस्त खानेपानीका मुहान छन्, पर्याप्त धारा छैनन् । बालविवाह बढ्दो छ, चेतना छैन । सामाजिक स्वास्थ्य एकाइ छ, जनशक्ति नरहेको स्थानीयको गुनासो छ । 

निसेल ढोरमा गतवर्ष मात्र फोन सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकमले दुर्गम र पर्यटकीय क्षेत्रमा फोरजी चलाउने अभियान चलाएपछि निसेल ढोर सञ्चार सुविधासँग जोडिएको छ । 

जसोतसो सञ्चार सुविधा प्राप्त गरेका निसेल ढोरवासी विधुतीकरण नहुँदा अहिले पनि उज्यालोका लागि दियालोको सहारा लिन विवश छन् । त्यहाँ विद्युत् विस्तार गर्न पोल गाडेको झण्डै तीन वर्ष बितिसक्यो । विद्युत् आपूर्ति हुने आसमा त्यहाँका घर–घरमा वाइन्डिङ समेत गरिएको छ । पोल गाडेको लामो समय बितिसक्दा पनि विद्युत् विस्तार नहुँदा दियालोको उज्यालोमा रात गुजार्नु परेको स्थानीय खुमा विश्वकर्माले गुनासो गर्नुभयो । 

निसेल ढोरका ५५ घरपरिवारमध्ये केहीले सोलारबत्ती प्रयोग गरे पनि अधिकांशले उज्यालोका लागि लेकाली सल्लाको रुखबाट प्राप्त हुने दियालोको सहारा लिनुपरेको छ । विद्युत् नहुँदा गाउँमा जङ्गली जनावरदेखि चोरीसम्मको डर हुनेगरेको विश्वकर्माको भनाइ छ । ‘घर–घरमा वाइरिङ गर्दा र पोलहरू गाड्दा गाउँमा छिट्टै विद्युत् आउने विश्वास थियो, विश्वकर्माले भन्नुभयो, ‘वाइरिङ गरेको बिग्रन थालिसक्यो बिजुली आउने पत्तो छैन ।’

निसेल ढोरमा विद्युत् विस्तारका लागि गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ मा विनियोजन गरेको ३१ लाख रुपियाँ बजेटबाट पोल गाड्ने काम भएपनि ट्रान्सफर्मर लगायतका सामाग्री खरिद गर्न नसक्दा बजेट फ्रिज भएको थियो । निसेल ढोरमा विद्युतीकरणका लागि गाउँपालिकाले निरन्तर प्रयास गरेपनि सफल भने हुन सकेको छैन ।  

‘ढोरपाटन भुजी लघु जलविद्युत् आयोजनाको विद्युत् जोड्नेगरी केही पोल गाड्ने काम भए पनि बजेट फ्रिज हुँदा कामै अघि बढ्न सकेन’ निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्ति मगरले भन्नुभयो । विद्युत् नपुगेको ठाउँमा सोलार जोड्ने योजना पनि सफल हुन नसकेको घर्ति मगरले सुनाउनुभयो । गण्डकी प्रदेश सरकारसँग छलफल चलिरहेकाले निसेल ढोरमा छिट्टै विद्युतीकरण हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । 

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख पवन पौडेलले प्रदेश सरकारले गाडेका पोलहरू प्राधिकरणलाई हस्तान्तरण गरे निसेल ढोरमा छिट्टै विद्युत् विस्तार हुने बताउनुभयो ।