• १३ साउन २०८१, आइतबार

बजेटमा जनताको स्वामित्व छ : अर्थमन्त्री शर्मा

blog

बजेटसम्बन्धी बुधबार राजधानीमा आयोजित छलफलमा सहभागी अर्थमन्त्री जनार्दन शर्मालगायत । तस्बिरः सागर बस्नेत

काठमाडौं, जेठ १८ गते। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि सबैको स्वामित्व रहेको बताउनुभएको छ।

बजेट निर्माणमा सबै जनताको प्रतिनिधित्व रहेकाले यसको स्वामित्व सबैले लिनुपर्ने शर्माको भनाइ छ।

नेपाल आर्थिक संघ, नेपाल सरकार अर्थ मन्त्रालय र बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालले बुधबार राजधानीमा आयोजना गरेको बजेटमाथिको छलफलमा सहभागी हुनुहुँदै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो।

अर्थमन्त्री शर्माले भन्नुभयो, ‘‘बजेट देशका सबै वर्ग, क्षेत्र, समुदाय र विज्ञको सुझावका आधारमा तयार गरिएको छ।यसमा पूर्वदेखि पश्चिमसम्मका जनताको आवश्यकता समेटिएको छ।यो जनताको स्वामित्वसँग जोडिएको भएकाले कार्यान्वयन हुन्छ ।’’

यसअघिका बजेट कार्यान्वयनमा जटिलता देखिएको भन्दै उहाँले यसपटक संरचनामा ध्यान दिएर बजेट निर्माण भएको बताउनुभयो।संरचनामा ध्यान दिएर बनेको बजेट पूर्ण कार्यान्वयन हुने उहाँको विश्वास छ।

बजेटमा श्रमयुक्त जनशक्तिलाई सीपयुक्त बनाउने कुरालाई आत्मसाथ गरिएको उहाँले बताउनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अर्थ मन्त्रालयका सचिव मधु मरासिनीले बजेटले निजी क्षेत्रप्रति भरोसा राखेको बताउनुभयो।बजेटमा नयाँ विषय राखिएका भए पनि चर्चा नभएको उहाँको भनाइ छ।

अर्थसचिव मरासिनीले भन्नुभयो, ‘‘यो बजेटमा धेरै नयाँ खालका योजना समावेश भएका छन्।तर, ती योजनाको चर्चा नै भएको छैन ।’’ कृषि क्षेत्रलाई बजेटले विशेष जोड दिएको उहाँको भनाइ छ।

नेपाल आर्थिक संघका अध्यक्ष विश्वम्भर प्याकुरेलले बजेट महत्वकांक्षी भएको भन्दै यसको आकारमाथि प्रश्न गर्नुभएको छ।

उहाँले भन्नुभयो, ‘‘बजेट महत्वकांक्षी छ।यसको स्रोत र खर्च कहाँबाट गर्ने हो, त्यो पनि आएको छैन। यो राजनीतिक बजेट हो कि जस्तो लाग्यो ।’’ 

अहिलेको बजेट चुनाव केन्द्रित रहेको पनि  उहाँले बताउनुभयो।बजेट कार्यान्वयन गर्नका लागि  स्थानीय तह र प्रदेश तहका कर्मचारीको वृत्ति विकास गरेर एक द्वार प्रणाली अपनाउनुपर्ने उहाँको भनाइ छ।