• २९ फागुन २०८१, बिहिबार

हिमवतखण्ड कला साहित्य संस्कृति सम्मिलनको तयारी

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, फागुन २९ गते । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले तीन दिने हिमवतखण्ड कला, साहित्य संस्कृति सम्मिलन २०८१ आयोजना गर्दैछ । कार्यक्रमको उदघाटन चैत १ गते पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभागृहमा गर्नुहुने आयोजकले जनाएको छ ।

सम्मिलनमा चलचित्र उत्सव र संवाद, लोक संस्कृतिमा प्राज्ञिक विमर्श, हिमवत खण्डको महिमा र गौरव, सांस्कृतिक महोत्सव विमर्श, संस्कृति र सम्बृद्धि परिसंवाद, सञ्चार माध्यममा नेपाली भाषाबारे संवाद गरिने प्रतिष्ठानका अध्यक्ष तथा सम्मेलन संयोजक डा. विजय सुब्बाले जानकारी दिनुभयो ।

सम्मिलनमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सिक्किम भारतका पूर्व मुख्यमन्त्री तथा वरिष्ठ साहित्यकार पवन चाम्लिङको विशेष उपस्थिति रहने डा. सुब्बाले बताउनुभयो । 

चैत ३ गतेसम्म चल्ने सम्मिलनमा नेपाल, भारत, भूटान, बङ्गलादेश लगायतका वरिष्ठ साहित्यकार, लोक संस्कृतिविद तथा विश्लेषकहरूको सहभागिता रहने छ ।