ठाकुरप्रसाद आचार्य
म्याग्दी (बेनी), फागुन २९ गते । म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गा तातोपानी कुण्डमा स्नानका लागि नयाँ पोखरी थपिएको छ । तातोपानी कुण्डमा स्नानका लागि आउने पर्यटकको सहजताका लागि नयाँ पोखरी निर्माण गरिएको हो । तातोपानी कुण्ड व्यवस्थापन समितिले उपल्लो तातोपानी बजारनजिक म्याग्दी नदीको किनारमा स्नानका लागि पोखरी निर्माण गरी सञ्चालनमा ल्याएको हो । उक्त स्थानमा एक वर्षअघि तातोपानीको नयाँ मुहान फेला परेको थियो । तातोपानी कुण्डमा स्नानका लागि आउने पर्यटक तथा बिरामीको सङ्ख्या वृद्धि भएपछि म्याग्दी नदी किनारमा फेला परेको तातोपानीको मूललाई व्यवस्थित पोखरी निर्माण गरेर स्नानस्थल बनाइएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताउनुभयो । उहाँले कुण्डमा स्नान गर्न एक सय रुपियाँ शुल्क तोकिएको बताउनुभयो ।
अध्यक्ष खड्काले भन्नुभयो, “मुहानबाट तातोपानीलाई पम्पिङ गरेर स्नानका लागि पानी सङ्कलन गर्न नयाँ पोखरी निर्माण गरेका छौँ । नयाँ पोखरी सञ्चालनमा आएपछि पर्यटक र बिरामीलाई स्नान गर्न सहज भएको छ ।”
कुण्डको आन्तरिक आम्दानी र श्रमदान जुटाएर पोखरी निर्माण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार १५/१५ फिट लम्बाइचौडाइ र २.५ फिट उचाइ भएको पोखरीमा एक पटकमा ८० जनाले स्नान गर्न सक्ने क्षमता रहेको छ । हालको तातोपानी स्नानस्थलभन्दा केहीमाथि म्याग्दी नदीको किनारमा बिरेनुनको गन्धमा ५० डिग्री सेल्सियस तातोपानी निस्कने मुहान छ । पोखरीलाई दिगो रूपमा सञ्चालनका लागि नदी किनारमा रहेको मुहान र पोखरी संरक्षण गर्न आवश्यक रहेको र बजेट अभाव भएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष खड्काले बताउनुभयो ।
पानीलाई विद्युतीय उपकरणको सहायताले पोखरीमा पुर्याउने संरचना निर्माण भएको छ । स्नान स्थलनजिकै सार्वजनिक शौचालय बनाइएको छ । ढल व्यवस्थापनका लागि नाली निर्माणलगायतको काम बाँकी भएकाले पोखरी निर्माणको कुल लागत रकम निकाल्न बाँकी रहेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष खड्काले बताउनुभयो । तातोपानीमा स्नान गरेर छाला, ग्यास्टिक, बाथ, चोटपटक लागेको समस्या निको गर्दछ ।
आर्थिक वर्ष २०८०/८१ मा नेपाललगायतका विदेशबाट समेत गरी करिब ५० हजार जनाले तातोपानी कुण्डमा स्नान गरेका समितिको तथ्याङ्क छ । ३५० का दरले शुल्क तिरेर सातदेखि १० दिनसम्म स्नान गर्न पाइन्छ । छोटो अवधिमा स्नान गर्नेका लागि प्रतिपटक १०० शुल्क तोकिएको छ । हाल बिरामी र पर्यटक तथा पाहुनाका लागि स्नान गर्न दुई वटा फरक फरक पोखरी छन् । भ्रमण गर्न आउने र जाडोयाममा स्नान गर्नेको मङ्सिरदेखि फागुन चैतसम्म भिड लाग्ने गर्छ । ठुलो पोखरीमा एक पटकमा तीन सय जनाले स्नान गर्न सक्ने क्षमता छ ।
पाहुनाको चाप बढेकाले दुई/दुई घण्टाका दरले तीन वटा समूह बनाएर स्नानको व्यवस्था मिलाइएको छ । हाल दैनिक एक हजार जनाले तातोपानी कुण्डमा स्नान गरिरहेका तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।