• २९ फागुन २०८१, बिहिबार

विज्ञसँग बहस

‘तमासेको भरमा प्रतिगमन असम्भव’

blog

पूर्वराजाको समर्थन गर्नेको एजेन्डा ‘राजा फर्काउने, हिन्दु राष्ट्र बनाउने’ मात्रै छ । जनताको कुरा केही नै छैन ।

काठमाडौँ, फागुन २९ गते । नेपाली रैतीबाट सार्वभौम अधिकारसम्पन्न नागरिक बनाएको ऐतिहासिक दिन २०६५ जेठ १५ गते, जुन दिन सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था आरम्भ भयो । आफ्ना शासक आफ्नै मतले छान्न पाउने व्यवस्थाको घोषणासँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्ने अभ्यास क्रमशः भइरहेको छ । 

तत्कालीन शाहवंशीय राज्यसत्ताले अढाई सय वर्षदेखि कायम राखेको वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक विभेद हटाउँदै समुन्नत एवं समृद्ध नेपाल बनाउने काम एकै झट्कामा सम्भव हुँदैन । बिस्तारै बिस्तारै समता र समानतामूलक समाज निर्माणको अग्रगतिमा देश अघि बढिरहेको छ । 

यद्यपि शाहवंशीय शासनका अन्तिम राजा ज्ञानेन्द्र शाहका पछिल्ला गतिविधि अहिले चर्चामा छन् । फागुन २५ गते राजसंस्था पक्षधर दलहरूले पूर्वराजा शाह पोखराबाट काठमाडौँ आएपछि विमानस्थलदेखि निर्मल निवाससम्म प्रदर्शन गरे । राजनीतिक विश्लेषक प्राडा लोकराज बराल र राजनीतिक विश्लेषक एवं लेखक चन्द्रकिशोरले राजनीतिक रूपान्तरणबिनाको राजसंस्था पक्षधरको प्रदर्शनलाई केवल ‘नाटक’ को संज्ञा दिनुभयो । उहाँहरू कुनै वैचारिक आधार नभएको राजसंस्था माग्ने समूहका प्रदर्शनले कुनै परिणाम नदिनेमा प्रस्ट हुनुहुन्छ ।

प्राडा बरालले भन्नुभयो, “पूर्वराजाको समर्थन गर्नेको एजेन्डा ‘राजा फर्काउने, हिन्दु राष्ट्र बनाउने’ मात्रै छ । जनताको कुरा केही नै छैन । पञ्चायत आयो, तत्कालीन राजा महेन्द्रबाट कु भयो । ज्ञानेन्द्र शाहले पनि कु गरेरै शासन गरेको पनि जनताले हेरेकै छन् । पाँच/दस हजार मान्छे आए भन्दैमा केही हुनेवाला छैन । मैले पत्याएको छैन ।”

उहाँले जनताको क्रान्ति र बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थाप्रति अढाई सय वर्षको इतिहास बोकेको राजतन्त्रबाट लाभ लिएकाहरू असन्तुष्ट हुनु स्वाभाविक भएको बताउनुभयो । उहाँले पञ्चायतकालदेखि ज्ञानेन्द्रको शासनसम्म आइपुग्दा निरन्तर शाहीसत्ताबाट लाभ लिएकाहरू ‘अब राजा आउँछन्’ भनेर लागेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “तर मलाई त्यस्तो लाग्दैन । यति धेरै राजनीतिक दल र जनता एकातिर छन् । राप्रपाबाहेक सबै दल लोकतान्त्रिक शासन व्यवस्थाको पक्षमा छन् । केही पर्दा कांग्रेस, कम्युनिस्ट, मधेशका दल सबै एकतिर हुन्छन् । त्यतिबेला नेपालमा चाँडो चाँडो परिवर्तन खोज्ने, राजसंस्था भन्नेहरूको हालत के हुन्छ ? त्यसैले गणतन्त्रमाथि कुनै खतरा छैन ।”

‘विभेदकारी शाहीसत्ता फर्किंदैन’

राजनीतिक विश्लेषक चन्द्रकिशोरले विभेदकारी शाहीसत्ता अब कुनै हालतमा नफर्किने प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रलाई समाप्त पार्ने कुरा पनि लोकतन्त्रभित्रै गर्न पाइन्छ । यो लोकतन्त्रको सुगन्ध हो, विशेषता हो र लोकतन्त्रको आन्तरिक ताकत यति हुन्छ कि उसलाई कसैले सिध्याउने कुरा गर्दा पनि लोकतन्त्र बाँचिरहेको हुन्छ । झन् शक्तिशाली भइराखेको हुन्छ लोकतन्त्र ।”

उहाँले संसद्भित्रै पनि गणतन्त्र मान्दिनँ, राजा ल्याउँछु भनेर भन्ने, निर्वाचनमा मत माग्ने जस्ता कुरा गर्ने अधिकार लोकतन्त्रले नै दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “राप्रपा वा अन्य राजसंस्था पक्षधर पार्टीमा भोट माग्ने कुनै वैचारिक आधार छैन । कुनै परिवर्तनकारी विगत छैन । उनीहरूले देखाउने भनेकै राजालाई हो । राजा ल्याउँछौँ भनेर भोट माग्ने हो तर यो सम्भव छैन ।”

विश्लेषक चन्द्रकिशोरले तानाशाहहरूलाई हिंस्रक कारबाही गर्दा पनि रमिता हेर्नेको भिड लाग्ने गरेको इतिहास स्मरण गर्दै शान्तिपूर्ण रूपमा राजसंस्थालाई जनआन्दोलनमार्फत विस्थापित गरिएको र अहिले लागेको भिड पनि तत्कालीन राजा कस्ता होलान् भनेर हेर्नेहरू मात्रै रहेको प्रस्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, “अहिले पनि नेपालीलाई लाग्छ, कि यही शाहसत्ता हो, जसले हामीलाई विभेद गर्‍यो । यही शाह हो, जसले नेपाली नागरिकका माझमा भावनात्मक एकीकरण हुन दिएन । यही शाह हो, जसले विभाजन राख्यो । यही शाह हो जसले मधेशमाथि आन्तरिक उपनिवेशीकरण गर्‍यो, यो शासक कस्तो छ भनेर हेर्न जान्छन् । कस्तो लगाउँछन् भनेर हेर्न जाने मात्रै हुन् ।”

उहाँले पूर्वराज्ञा ज्ञानेन्द्रको अदूरदर्शिता, निर्णय क्षमताको ह्रास, उहाँमा रहेको कुण्ठा र सङ्कीर्णताकै कारण सत्ताको लालसा राखेको र दाजु वीरेन्द्र शाहको वंशनाश भएपछि आफ्ना बाबु महेन्द्रले गरेको सूत्र प्रयोग गरेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “२०१७ र २०५८ को समयका पदचाप बदलिइसकेको थियो । देश नवीन सङ्कल्प गर्नेतर्फ अघि बढेको थियो तर ज्ञानेन्द्रबाट सञ्चारमाध्यम नियन्त्रण गर्ने काम भयो । नागरिक समाजलाई नियन्त्रण गर्ने, राजनीतिक दललाई थुन्ने । उही बाबुले ल्याएका मान्छे तुल्सी गिरी, कीर्तिनीधि विष्टलाई ल्याउने काम भयो । अहिले पनि तमासे र बतासेलाई लिएर हिँड्नुले पनि ८० वर्ष पुग्न लाग्दा ज्ञानेन्द्रले आफ्नो विगतसँग कुनै सिकाइ कुनै पाठ छैन भन्ने कुरा पुष्टि हुन्छ ।”

उहाँले जनताले ‘राजा दुई पटक बन्दा असल शासक बन्न नसकेकाले अब असल नागरिक बन्न ज्ञानेन्द्रलाई अवसर दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “तर उहाँ असल नागरिक पनि बन्न नचाहेको प्रस्ट भएको छ ।”

‘दलहरू रूपान्तरण हुनु पर्छ’

प्राडा बरालले गणतान्त्रिकमाथि कुनै खतरा नभए पनि नेतामाथि नागरिकको असन्तुष्टि व्यापक रहेको बताउनुभयो । उहाँले दलका नेता, स्वार्थी, आत्मकेन्द्रित भएको टिप्पणी गर्दै तत्काल आक्रामक ढङ्गले जनमुखी कार्यक्रम लिएर अघि बढ्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “दलहरूमा परिवर्तन र रूपान्तरण आवश्यक छ । पार्टी र नेताविरुद्ध जनता उठ्न सक्छन् तर राजतन्त्रका पक्षमा ‘ए प्रभु म दास बनौँ’ भनेर जनता उठ्दैनन् ।”

विश्लेषक चन्द्रकिशोरले दलहरूले सिन्डिकेट चलाएकाले नागरिकमा असन्तुष्टि बढेको बताउँदै तत्काल सुधारमार्फत नागरिकका आकाङ्का सम्बोधन गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “राजसंस्था हुँदा राजाको एउटा गिरोह, रानीको अर्को, अधिराजकुमारको अर्को गिरोह हुन्थ्यो ।