• २८ फागुन २०८१, बुधबार

ओलम्पिक विवाद समाधानतिर

blog

कुवेतमा मङ्गलबार बसेको बैठकपछि पदाधिकारी । तस्बिर : जीवनराम श्रेष्ठको फेसबुकबाट

काठमाडौँ, फागुन २८ गते । नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद समाधानतर्फ उन्मुख भएको छ ।

समस्या समाधानका लागि ओलम्पिक कमिटि अफ एशिया (ओसिए) को मुख्यालय कुवेतमा मङ्गलबार बसेको बैठकले दुई बुँदे सम्झौता गर्दै विवाद समाधान गरेर अगाडि बढ्न दुवै पक्ष सहमत भएका छन् । 

ओसिएका महानिर्देशक हुसेनको अध्यक्षता बसेको बैठकले दुवै पक्षसँग छलफल गरेपछि दुई बुँदे सम्झौता गरिएको नेपाल खोलम्पिक कमिटी (एनआसी) ले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ । 

सम्झौता पत्रमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसीका पूर्व महासचिव निलेन्द्रराज श्रेष्ठ र एनओसीविरुद्ध अदालतमा निवेदन दर्ता गर्ने पाँचवटै राष्ट्रिय खेल सङ्घका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

सम्झौताको पहिलो बुदामा नेपाल ओलम्पिक कमिटीले सदस्यता नदिएर अदालत पुगेका पाँच वटा राष्ट्रिय सङ्घलाई पूर्णकालीन सदस्यता दिने सहमति भएको छ । सदस्यता पाउने सङ्घहरुमा नेपाल मोर्डन पेन्टाथलन, नेपाल घोडचढी, नेपाल रग्बी, नेपाल स्केटिङ तथा स्केट बोर्डिङ र नेपाल बेसबल तथा सप्टबल सङ्घ रहेको छ । 

यस्तै अदालतमा मुद्दा दायर गर्ने सङ्घहरुले तत्काल मुद्दा फिर्ता गर्ने सहमति भएको छ । ओसिएका महानिर्देशकको समेत हस्ताक्षर रहेको सम्झौता पत्रमा पाँचवटा सङ्घका प्रतिनिधिहरु राजेन्द्र श्रेष्ठ, रवीराज कर्णिकार, दीपक देवकोटा, अच्युत खनाल, दीपक न्यौपाने र जीवनराम श्रेष्ठले हस्ताक्षर गरेका छन् ।