लीलाधर वली
घोराही, फागुन २८ गते । दाङको राप्ती गाउँपालिकाले आफ्नो नवौँ स्थापना दिवसका अवसरमा बुधबार साइकल दौड प्रतियोगिता गरेको छ ।
साइकल दौड प्रतियोगितामा पुरुषतर्फ राप्ती गाउँपालिका वडा नं. ३ का सागर चौधरी र महिलातर्फ वडा नं. ५ निवासी एन्जिला चौधरी पहिलो हुनुभएको छ ।
प्रतियोगितामा पुरुषतर्फ वडा नं. ३ कै बिक्रम चौधरी द्वितीय र वडा नंं.२ का वीरबहादुर कुमाल तृतीय, महिलातर्फ वडा नं. ७ निवासी पुष्पा चौधरी द्वितीय र वडा नं. ६ निवासी प्रमिला चौधरीले तृतीय स्थान प्राप्त गर्नुभएको छ ।
विजेतालाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार ५ सय पुरस्कार प्राप्त गर्नुभएको छ । प्रतियोगितामा राप्ती गाउँपालिकाभित्रका १६ महिलासहित ७२ जनाको सहभागीता रहेको थियो ।
‘प्रकृतिसँगै दौडौँ, पर्यापर्यटन बढाएर विकासमा जुटौं’ भन्ने नाराका साथ भएको प्रतियोगितामा राप्ती पालिका वडा नं. ३ को बसन्तापुरदेखि वडा नं. ६ को मझेरियासम्म ८ किलोमिटर दुरीमा दौड प्रतियोगिता सञ्चालन गरिएको थियो ।
राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले स्थानीयस्तरमा खेलकुदका गतिविधिलाई प्रवर्धन गर्दै पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्य अनुसार साइकल दौड प्रतियोगिता सुरु गरेको बताउनुभयो ।
साइकल प्रयोगले व्यक्तिगत स्वास्थ्यसँगै वातावरण संरक्षणमा मद्दत गर्ने भएकाले प्रतियोगिता आयोजना गरिएको भन्दै अध्यक्ष विष्टले भन्नुभयो,‘पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा उत्साहजनक सहभागीता रहेको छ । साइकल दौडलाई आगामी दिनहरूमा थप व्यवस्थित गर्दै अघि बढाउने छौँ ।’