चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन २८ गते । ताप्लेजुङबाट यस वर्ष दुई हजारभन्दा बढी विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुने भएका छन् । यही चैत ७ गतेदेखि सुरु हुने एसइई परीक्षामा नियमित र ग्रेडवृद्धितर्फ गरी दुई हजारभन्दा बढी परीक्षार्थी सहभागी हुने भएका हुन् ।
शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङका अनुसार एसइई परीक्षामा कुल दुई हजार २७२ जना परीक्षार्थी सहभागी हुने भएका छन् । उक्त सङ्ख्यामध्ये एक हजार ५३७ जना नियमित र ७३५ जना ग्रेडवृद्धितर्फका परीक्षार्थी रहेका एकाइ प्रमुख युगमणि सबेहाङले जानकारी दिनुभयो । सबेहाङका अनुसार एसइई लेख्नेमा साधारण धारतर्फ नियमित एक हजार ४१५ र ग्रेडवृद्धिका ७१० जना रहेका छन् ।
यस्तै, प्राविधिक धारतर्फ नियमित परीक्षा लेख्ने १२२ जना र ग्रेडवृद्धिका २५ जना परीक्षार्थी रहेका शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । यता एसइई परीक्षाको तयारी करिब अन्तिम चरणमा पुगेको पनि एकाइले जानकारी दिएको छ । एकाइ प्रमुख सबेहाङका अनुसार परीक्षा केन्द्रको टुङ्गो यसअघि नै लागिसकेको छ भने प्रश्नपत्र र उत्तरपुस्तिका जिल्लामा आइसकेको छ ।
एसइईका लागि प्रश्नपत्र र उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रमा पठाउन सुरु भएको पनि एकाइ प्रमुख सबेहाङले जानकारी दिनुभयो । आउदो आइतबार केन्द्राध्यक्षहरूलाई परीक्षा सञ्चालनसम्बन्धी अभिमुखीकरण गराउन र आ–आफ्नो केन्द्रमा खटाउने तयारी गरिएको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार परीक्षा केन्द्र रहेको विद्यालयका प्रधानाध्यापकलाई नै एसइई परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष तोकिएको छ ।
नौ स्थानीय तह रहेको जिल्लामा सामुदायिक ६४ र संस्थागत छ गरी ७० माध्यमिक तहका विद्यालय रहेका छन् । यस वर्ष एसइईका लागि १७ वटा परीक्षा केन्द्र निर्धारण गरिएका छन् । जसअनुसार फुङ्लिङ नगरपालिकाभित्र भानुजन माध्यमिक विद्यालय, युवावर्ष माध्यमिक विद्यालय, बाल सुबोधिनि संस्कृत माध्यमिक विद्यालय, जनता माध्यमिक विद्यालय र सिद्धकाली माध्यमिक विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
यस्तै, मिक्वाखोला गाउँपालिकामा मोती माध्यमिक विद्यालय खोक्लिङ, मेरिङदेन गाउँपालकामा त्रिभुवन माध्यमिक विद्यालय थुकिमामा केन्द्र निर्धारण गरिएको छ । सिरिजङघा गाउँपालिकामा सिनाम माध्यमिक विद्यालय, तेल्लोक माध्यमिक विद्यालय र गणेश माध्यमिक विद्यालय खेवाङमा परीक्षा केन्द्र निर्धाण गरिएको छ ।
मैवाखोला गाउँपालिकामा मैवाखोला माध्यमिक विद्यालय, आठराई त्रिबेणी गाउँपालिकामा सरस्वती माध्यमिक विद्यालय हाङ्पाङ र पाथीभरा याङ्वरक गाउँपालिकामा थेचम्बु माध्यमिक विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । यसैगरी, फक्ताङ्लुङ गाउँपालिकामा सिँवा माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालय तापेथोकमा परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।