कबिराज घिमिरे
हिले, फागुन २८ गते । धनकुटाका ६ वटा क्याम्पसमा तीन वटा विद्यार्थी सङ्गठनहरूले सर्वसम्मत रूपमा स्ववियुको नेतृत्व चयन हुने सहमति गरेका छन् । सहमति अनुसार धनकुटा बहुमुखी क्याम्पस, हिले क्याम्पस र जाल्पादेवी क्याम्पस पाख्रिवासमा अनेरास्ववियुको नेतृत्वमा, जितपुर क्याम्पस र गोकुण्डेश्वर क्याम्पसमा नेपाल विद्याथी सङ्घको नेतृत्वमा र भाषा क्याम्पसमा अनेरास्ववियु ( क्रान्तिकारी)को नेतृत्वमा स्वतन्त्र विद्यार्थी युनियन सर्वसम्मत चयन गर्ने सहमति भएको छ । धनकुटा बहुमुखी क्याम्पस, जाल्पादेवी क्याम्पस, भाषा क्याम्पस र हिले क्याम्पसमा मात्रै एक पदमा एक व्यक्तिको उमेदवार परेको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।
जितपुर क्याम्पसमा अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियु (क्रान्तिकारी)ले भिन्दाभिन्दै प्यानल नै उमेदवारी दर्ता गरेको निर्वाचन अधिकृत लोकनाथ नेपालले जानकारी दिनुभयो । उहाँले २९ गतेसम्म नामावली फिर्ता लिने समय रहेकोले उमेदवारी फिर्ता नभए निर्वाचन हुने जानकारी दिनुभयो ।
यस्तै, गोकुण्डेश्वर क्याम्पसमा ३ वटै विद्यार्थी सङ्गठन मिलेर उमेदवारी दर्ता गरेको भए पनि केही विद्यार्थीले अधिकारबाट वञ्चित गरियो भन्दै उजुरी दिएपछि सर्वपक्षिय छलफल बोलाइएको क्याम्पस प्रमुख जेपी भुजेलले जानकारी दिनुभयो । उमेदवारी मनोनयनको समय सकिँदासम्म एक पदमा एक व्यक्तिको उमेदवारी परेकाले सर्वसम्मत भए पनि सहमतिको सहज वातावरण बनाउन छलफलमा बोलाइएको भुजेलले बताउनुभयो ।
धनकुटा बहुमुखी क्याम्पस, जाल्पादेवी क्याम्पस, भाषा क्याम्पस र हिले क्याम्पसमा निर्वाचन अधिकृतको कार्यालयले अन्य प्रक्रियाहरू पूरा गरेर सर्वसम्मत रूपमा स्ववियुको कार्यसमिति घोषणा गर्न भने बाँकी रहेको धनकुटा बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत कृष्णगोविन्द अधिकारीले जानकारी दिनुभयो ।