• २८ फागुन २०८१, बुधबार

महिला टी–२० : नेपाल नामिबियासँग २३ रनले पराजित

blog

नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपाल । तस्बिरः क्यान

काठमाडौँ, फागुन २८ गते। महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गन बुधबारको खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। युगान्डाको एन्टेबे क्रिकेट मैदानमा टस जितेर सुरुमा बलिङ गरेको नेपालविरुद्ध नामिबियाले ८ विकेटको क्षतिमा १२५ रन बनाएको थियो।

१२६ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १०२ रन मात्र बनाउन सक्यो।

नेपालका लागि साना प्रविनले सर्वाधिक ३१ रन बनाउनुभयो भने पूजा महतो, कप्तान इन्दु बर्मा र कविता जोशीले समान १५–१५ रन जोड्नुभयो। नेपालका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

नेपाललाई सस्तैमा समेट्न युगान्डाका लागि इभिलुना केजारुकुआले दुई विकेट हात पार्नुभयो।

यसअघि यास्मिन खानको उत्कृष्ट ब्याटिङसँगै नामिबियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २५ रनको योगफल बनाएको थियो। उसका लागि यास्मिन खानले ४४ बल खेल्दै पाँच चौकाको सहायताले ४५ रन बनाउनुभएको थियो। विल्का म्वाटिलले २०, अर्रास्टा डियर्गार्डले १६ तथा कप्तान सुने विटम्यानले १५ रन बनाउनुभएको थियो।

नेपालका लागि ईश्वरी विष्टले सर्वाधिक तीन विकेट लिनुभयो भने रचनाकुमारी चौधरीले दुई तथा रिया शर्मा र इन्दु बर्माले समान एक÷एक  विकेट हात पार्नुभयो।

योसँगै नेपालले प्रतियोगितामा तेस्रो हारको सामना गरेको छ।  नेपाल आफ्नो पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो।त्यस्तै दोस्रो खेल भने नेपालले घरेलु टोली युगान्डालाई एक विकेटले पराजित गरेको थियो भने तेस्रो खेलमा नेपाल हङकङसँग दुई रनले पराजित भएको थियो।