वासिङ्टन, फागुन २८ गते । संयुक्त राज्य अमेरिकाले ह्वाइट हाउसले प्रतिबद्धता गरेअनुसार स्टिल र एल्युमिनियमको आयातमा लगाइएको व्यापक करलाई ‘कुनै अपवाद वा छुट बिना’ लागु गर्दै बुधबार आफ्नो करको दायरालाई व्यापक बनाएको छ ।
राष्ट्रपति डोनल्ड ट्रम्पले दुवै धातुमा लगाएको २५ प्रतिशत करले घरेलु उपकरण, सवारी साधन र पेय पदार्थमा प्रयोग हुने क्यानसम्मका विभिन्न वस्तुको उत्पादन लागतमा वृद्धि हुने सम्भावना छ ।
काटो इन्स्टिच्युटका रिसर्च फेलो क्लार्क प्याकार्डले एएफपीसँग भन्नुभयो, “करवृद्धिसँगै मूल्यमा प्रभाव पारेमाम यो अचम्मको विषय हुने छैन ।”
उहाँले अमेरिका कार निर्माता र आवासीय र व्यावसायिक दुवै भवन निर्माण गर्ने देशमा इस्पातको विश्वका सबैभन्दा ठुला प्रयोगकर्तामध्ये एक भएको बताउनुभयो ।
युरोपेली आयोगले संयुक्त राज्य अमेरिकाबाट ‘अनुचित व्यापार प्रतिबन्ध’ को प्रतिक्रियामा अप्रिल १ देखि ‘प्रतिकारको शृङ्खला’ लागु गर्ने बताएको छ ।
युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ , “अमेरिकाले २८ अर्ब अमेरिकी डलर बराबरको कर लगाइरहेकोले हामी त्यसको प्रतिकारका लागि त्यति नै रकम बराबरको करवृद्धिका साथ जवाफ दिइरहेका छौँ ।”
ट्रम्पले अमेरिकाका प्रमुख व्यापारिक साझेदार क्यानाडा, मेक्सिको र चीनमाथि भारी कर लगाउनुभएको छ । अप्रिल २ देखि नयाँ कर लगाउने वाचा गर्दै आफ्नो छिमेकी मुलुक (मेक्सिको र क्यानाडा) का लागि आंशिक रूपमा मात्र कर फिर्ता लिने घोषणा गर्नुभएको छ ।
ईवाईका प्रमुख अर्थशास्त्री ग्रेगरी डाकोको हालैको प्रषेपण अनुसार पछिल्लो शुल्कले क्यानाडालाई निकै ठुलो असर पार्नेछ, क्यानडाले अमेरिकी एल्युमिनियम आयातको लगभग आधा र यसको इस्पात आयातको २० प्रतिशत आपूर्ति गर्नेछ ।
क्यानाडाबाहेक, ब्राजिल र मेक्सिको पनि स्टिलको प्रमुख अमेरिकी आपूर्तिकर्ताहरू हुन् । त्यसैगरी, संयुक्त अरब इमिरेट्स (युएई) र दक्षिण कोरिया एल्युमिनियमको प्रमुख प्रदायकहरू मध्ये एक हुन् ।
बुधबारको कर पहिलेको भन्दा माथि थन्किएको छ। यसको मतलब केही क्यानाडा र मेक्सिको स्टील र एल्युमिनियम उत्पादनहरूले यूएस–मेक्सिको–क्यानाडा सम्झौता (यूएसएमसीए) को अनुपालन नगरेसम्म ५० प्रतिशत कर दरको सामना गर्न सक्दछन् ।
ट्रम्पको व्यापार योजनामा अनिश्चितता र यसले विश्वको सबैभन्दा ठुलो अर्थतन्त्रलाई मन्दीमा धकेल्न सक्ने चिन्ताले वित्तीय बजारलाई तहसनहस पारेको छ, ‘वाल स्ट्रिट इन्डेक्स’ मङ्गलबार लगातार दोस्रो दिन ओरालो लागेको छ तर ट्रम्पले वाल स्ट्रिटमा मङ्गलबार भएको नोक्सानीलाई नकार्दै अर्थतन्त्रलाई सम्हाल्ने विषयमा आफूले कुनै मन्दी नदेखेको बताउनुभएको छ ।
‘बम्पी’ सङ्क्रमण
ट्रम्पका व्यापार निर्णयहरू अस्थिरताका साथ आएका छन्, राष्ट्रपतिले क्यानाडाको इस्पात र एल्युमिनियममा कर दरलाई दोब्बर गरेर ५० प्रतिशतमा झार्ने चेतावनी दिनुभएको छ ।
क्यानडाको ओन्टारियो प्रान्तले यसअघि अमेरिकी करको बदलामा तीन वटा अमेरिकी राज्यमा विद्युत महशुल लगाउने निर्णय गरेको थियो ।
वासिङ्टन र ओटावाले व्यापार तनाव बढेसँगै दिनभर व्यापक करका चेतावनी आदानप्रदान गरे र ट्रम्पले आफ्नो देशको उत्तरी छिमेकीलाई गाभ्ने उत्तेजक योजनाहरूबारे भनाइहरूलाई दोब्बर गर्नुभयो ।
तर वासिङ्टनसँगको वार्तापछि ओन्टारियोले करवृद्धिलाई रोकेको थियो ।
ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले ट्रम्पले अमेरिकी जनतालाई जिताउनका लागि ‘अमेरिकी अर्थतन्त्रको लाभ’ प्रयोग गरेको बताउनुभयो ।
ओन्टारियोका सरकार प्रमुख डग फोर्ड, अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिक र अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरबिच बिहीबार वासिङ्टनमा भेटवार्ता हुने भएको छ ।
ह्वाइट हाउसका वरिष्ठ सल्लाहाकार पिटर नाभारोले ट्रम्पले कर वृद्धिबारे गरेको प्रश्नको जवाफमा यो प्रक्रिया ‘वार्ता’ भएको बताउनुभयो । “यो सङ्क्रमण हो” उहाँले भन्नुभयो, “यो कहिलेकाहीं हुन्छ । शायद यो एक सानो राजनीतिक उथलपुथल हो ।
व्यापक अनिश्चितता
पछिल्लो कर लागु हुनुअघि नै, निर्माताहरूले लागत प्रभावी घरेलु आपूर्तिकर्ताहरू फेला पार्न सङ्घर्ष गरिरहेका छन् ।
काटो इन्स्टिच्युटको प्याकार्डका अनुसार संरक्षणवादको धम्कीले अमेरिकी स्टिल र एल्युमिनियम कम्पनीहरूलाई आफ्नो मूल्य बढाउन अनुमति दिएको छ ।
“यसले ठुलो मात्रामा अनिश्चितता सिर्जना गरिरहेको छ,” उहाँले थप्नुभयो ।
अमेरिकी स्टिल प्रयोग गर्ने केही अमेरिकी उत्पादकहरूले करवृद्धिलाई सकारात्मक विकास मान्छन् किनकि यसले उनीहरूको व्यवसायलाई बढावा दिएको छ। अन्यले भने करले आयातको लागत बढाउने र अमेरिकी निर्मित सामानहरू पनि त्यत्तिकै महँगो हुने चेतावनी दिएका छन् ।
ईवाईका डाकोले पनि नयाँ स्टिल र एल्युमिनियमको कर ट्रम्पले सन् २०१८ मा लागु गरेको कदमभन्दा बढी भएको उल्लेख गर्नुभएको छ ।
यस पटक एल्युमिनियम आयातमा पनि उच्च दर छ र विद्यमान प्रतिबन्धहरूमा तहगत शुल्कको साथ यसले ‘धेरै उद्योगहरूमा विदेशी स्रोतहरूलाई अधिक महँगो बनाउने सम्भावना छ ।
अस्ट्रेलिया र जापानजस्ता अमेरिकी साझेदारहरूले हालैका दिनमा बहिष्करणका लागि दबाब दिन वासिङ्टनको भ्रमण गरे तापनि बुधबार लागु करमा उनीहरूलाई पनि छुट मिलेको छैन ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले कर ‘पूर्णतया अनुचित’ भएको तर आफ्नो देशले त्यसको प्रतिकार नगर्ने बताउनुभएको छ ।
ट्रम्पले आफ्नो पहिलो प्रशासनमा जस्तै अन्ततः केही देशलाई राहत दिने र अन्य देशसँगको सम्झौता कटौती गर्नुहुनेछ वा गर्नु हुनेछैन भन्ने स्पष्ट छैन ।
ट्रम्पले वासिङ्टनले अनुचित ठानेको व्यापार अभ्यासलाई सुधार गर्न अप्रिल २ सम्ममा छुट्टै पारस्परिक कर लगाउने वाचा गर्नुभएको छ, जसले थप उत्पादन र व्यापारिक साझेदारहरूलाई विशेष रूपमा लक्षित गर्ने सम्भावना बढाएको छ । रासस/एएफपी