• २८ फागुन २०८१, बुधबार

प्रतिनिधिसभा बैठक शून्य समय : गणतन्त्र र संविधानलाई रक्षा गर्न सांसदको आग्रह

blog

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठक । तस्बिरः प्रदीपराज वन्त

काठमाडौँ, फागुन २८ गते । प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरूले गणतन्त्रवादी शक्ति एक जुट हुँदै गणतन्त्र र संविधानको रक्षा गर्न जोड दिनुभएको छ । उहाँहरूले समसामयिक विषयमा सदन मार्फत सरकारको ध्यानाकर्षण गराउँदै सरकार जनताप्रति उत्तरदायी बन्न आग्रह गर्नुभयो ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले गणतन्त्रमा हुर्किएका नयाँ शक्तिलाई झुटा मुद्दा लगाएर सरकारले दमन गर्न लागेको आरोप लगाउनुभयो ।

सांसद सुशीला सिर्पाली ठकुरीले सरकार जनताप्रति उत्तरदायी नहुँदा प्रतिक्रियावादी शक्ति सल्बलाउन थालेको जनाउँदै सरकार देश र जनताप्रति जवाफदेही हुनुपर्छ भन्नुभयो । सांसद हितबहादुर तामाङले संविधान र गणतन्त्रवादी एकताबद्ध हुनुपर्नेमा जोड दिँदै राजतन्त्र पुनःस्थापना गर्ने दिवासप्न नदेख्न चुनौती दिनुभयो ।

सांसद हितराज पाण्डेले बाख्रापालक किसानले उचित मूल्य पाउन नसकेको, पशु बिमाको प्रभावकारी कार्यान्वयन, दानाको मूल्य नियन्त्रण, घाँसको उचित प्रबन्ध तथा खसीबाख्राको चोरी पैठारी रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सुहाङ नेम्वाङले पूर्वी पहाडी क्षेत्रका दुग्ध उत्पादक किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद हर्कमाया विश्वकर्माले जातीय विभेदलाई बढवा दिने र समाज बिथोल्ने गतिविधिमाथि प्रतिबन्ध लगाउन सुझाव दिनुभयो । सांसद सुरेन्द्र आचार्यले सुक्खायाममा देशव्यापीरूपमा हुनसक्ने खानेपानीको अभावको अवस्था अन्त्य गरी जनतालाई स्वच्छ पिउने पानीको उचित प्रबन्धन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सूर्यबहादुर थापा क्षेत्रीले नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजना तत्काल अघि बढाउन सरकारसँग माग गर्नुभयो । सांसद हृदयराम थानीले सुर्खेत विमानस्थलको उत्तरतर्फ धावन मार्ग विस्तार गर्न, बड्डीचौर–खम्बागाडे सडकको काम तीव्र गतिमा अघि बढाउन सरकारसँग माग गर्नुभयो ।

सांसद सञ्जयप्रसाद गौतमले नेपाल–भारत सीमाका दसगजा क्षेत्रमा बसोवास गर्ने जनताको समस्यमा समाधानमा केन्द्रित हुन ध्यानाकर्षण गराउनुभयो । सांसद सूर्यप्रसाद ढकाल र हेमराज राई सरकार देश र जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो । रासस