• २८ फागुन २०८१, बुधबार

कांग्रेसको प्रदेश स्तरीय प्रशिक्षण धनगढीमा

सुदूरपश्चिमबाट कांग्रेसले जितको लहर ल्याउने छ : सभापति देउवा

blog

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मङ्गलबार धनगढीमा सुरु भएको पार्टीको प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुहुँदै । तस्बिर भावना जोशी

भावना जोशी
अत्तरिया, फागुन २७ गते ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसी मतभेद र असमझदारी हटाएर पार्टी एक भएको खण्डमा सुदूरपश्चिमबाट नेपाली कांग्रेसले जितको लहर ल्याउने बताउनुभएको छ ।

मङ्गलबार धनगढीमा सुरु भएको पार्टीको प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो । पार्टी सभापति देउवाले प्रशिक्षण सकेर गाउँगाउँमा गएर जनस्तरमा जनताका गुनासा सुन्न र जनताका काम गर्न प्रशिक्षणमा सहभागी नेताहरूलाई  निर्देशन दिनुभयो । साथै उहाँले भन्नुभयो, “आगामी निर्वाचन २०८४ मा केन्द्रित भएर पार्टीलाई अगाडि बढाउन  आवश्यक छ सबैतहबाट एक जुट भएर लाग्नु होस् ।”

उहँले प्रशिक्षक प्रशिक्षण कार्यक्रमले नेता कार्यकर्तामा थप उत्साह, जागर ल्याउने विश्वास व्यक्त गर्नुभयो । यसैगरी, नेपाली कांग्रेसका नीति तथा प्रशिक्षण विभाका प्रमुख तथा पार्टी उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसले नेपाली जनतालाई सार्वभौम सम्पन्न बनाएको उल्लेख गर्नुभयो । उहाँले कांग्रेस सभापतिकै नेतृत्वमा नेपालमा शान्ति सुशासन कायम भएको कुरा मतदाता र जनतामा पुर्‍याउन पार्टी चुकेको बताउनुभयो ।


नेपालमा २०४६ सालपछि भएका परिवर्तन र विकासको बारे जनता र मतदाता सामु पुर्‍याउन नसकेको र अब जनताका माझमा जान आवश्यक भएको बताउनुभयो । उहाँले पार्टीले खटायको खण्डमा टोल र बस्तीमा गएर जनतालाई पार्टीले गरेका कामको बारे जानकारी गराउन तालिममा सहभागी प्रशिक्षकलाई निर्देशन दिनुभयो ।

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिमका नौ वटै जिल्लाबाट गरी डेढ सय अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको छ । प्रशिक्षण कार्यक्रम आज र भोली दुई दिनसम्म धनगढीमा चल्ने र प्रशिक्षणले पार्टीलाई थप बलियो बनाउन र एक ढिक्का भएर अगाडि बढाउने कांग्रेस प्रदेश महामन्त्री मेघराज खड्काले बताउनुभयो ।