काठमाडौँ, फागुन २५ गते । राष्ट्रिय वाणिज्य बैँक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशगत रूपमा छनोट भएका नवनियुक्त सहायक (प्रशासन सेवाका) ९४ जना कर्मचारीलाई चौध दिने पूर्व सेवाकालिन तालिम काठमाडौँमा सञ्चालन गरिरहेको छ ।
तालिमको उद्घाटन गर्दै बैँकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले तालिममले बैंकिङ काम प्रतिको ज्ञान बढाउनुका साथसाथै काम गर्ने दौरानमा कामप्रति स्मार्टनेस, सकारात्मकता र सेवाभाव झल्कने बताउनुभयो ।
उहाँले नवनियुक्त युवा कर्मचारीहरूलाई प्रतिस्पर्धी बजारमा खरो रूपमा उत्रनुका साथै जनताको असल सेवक हुनुपर्ने बताउनुभयो । कार्यक्रममा बैँकका नायब प्रमुख कार्यकारी अधिकृतहरू सरस्वती अधिकारी र देवेशप्रसाद लोहनीले नवनियुक्त कर्मचारीहरूलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराउनुभएको थियो ।
कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक ९४ जना कर्मचारीहरूलाई बैँकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराउनु भएको थियो । कार्यक्रम माानव संशाधन विभागका विभागीय उपप्रमुख हरिबाबु आचार्यले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा बैँकका उपकार्यकारी अधिकृतहरू पवन रेग्मी, विमल डंगोल, दुर्गाकुमारी कँडेल, विभागीय प्रमुख पद्यमा लक्ष्मी जि.सी.लगायत कर्मचारीहरूके उपस्थिति रहेको थियो । बैँकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, ३१२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ रहेको छ ।