ठाकुरप्रसाद आचार्य
म्याग्दी (बेनी), फागुन २५ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–१, गुर्जा जिल्लाकै विकट बस्ती हो । गाउँपालिका केन्द्र मुना आउन गुर्जावासीलाई पूरै एक दिनको पैदलयात्रा गर्नु पर्छ । जिल्लाका ४५ वटा वडामध्ये सडक सुविधा नपुगेको एक मात्र वडा गुर्जा हो । उकालोओरालो र जङ्गलको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता गुर्जावासीको छ तर अब भने गुर्जावासीको सडक सपना केही वर्षमा नै पूरा हुने भएको छ ।
सङ्घीय, प्रदेश र स्थानीय सरकारले गुर्जामा सडक पुर्याउन प्राथमिकतामा राखेर सडक आयोजना सञ्चालन गरेपछि गुर्जावासीको मुहारमा खुसी छाउन थालेको छ । गाउँपालिका केन्द्र मुनादेखि लुलाङ हुँदै गुर्जाको लत्रबाङसम्म २५ किलोमिटर दुरीमा सडकको ट्र्याक खुलेसँगै गाउँमा मोटर आउने आशा पलाएको छ ।
“हाम्रै पालामा गुर्जामा मोटर आउला भनेर कल्पना पनि गरेका थिएनौँ,” स्थानीयवासी गुनराम छन्त्यालले भन्नुभयो, “सङ्घीयता कार्यान्वयनसँगै सरकारी निकायले प्राथमिकतामा राखेर बजेट विनियोजन गरेर सडक निर्माण थालेपछि भने आशा पलाएको छ । अब केही वर्षमा गुर्जावासीको घरको आँगनबाट मोटर चढ्ने सपना पूरा हुन लागेको छ ।” लुलाङबाट देउरालीसम्म पुग्न उकालोमा तीनदेखि चार घण्टा हिँड्नुपर्ने यात्रा अवधि सडक निर्माण भएपछि ३० मिनेटमा छोटिएको उहाँले बताउनुभयो ।
सङ्घ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा गाउँपालिका केन्द्र मुनासम्म पुगेको सडक विस्तार गरेर पालिकाको वडा नम्बर २ लुलाङ हुँदै अहिले गुर्जाको लत्रबाङसम्म सडकको ट्र्याक खुलेको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “गुर्जादेखि मुना पहिला दिनभर पैदलयात्रा गर्नु पथ्र्याे भने अहिले चार घण्टामा पुग्न सकिने भएको छ ।” सरकारी निकायबाट आगामी वर्षमा पनि प्राथमिकताका साथ बजेट विनियोजन गरिदिए एक वर्षभित्रमा गाउँमा सडक पुग्ने उहाँले बताउनुभयो । बिच बाटोसम्म सडक पुगे पनि अहिले गुर्जावासीलाई धेरै राहत भएको उहाँको भनाइ छ ।
लत्रबाङसम्म सडक पुगेपछि गुर्जावासीले दैनिक उपभोग्य वस्तु यातायातका साधनबाट ढुवानी गर्न थालेका छन् । गाडी चढेर गाउँपालिका केन्द्र मुना जान थालेका छन् । लत्रबाङसम्म सडक पुगे पनि हिउँ थुप्रिएकाले तीन हजार तीन सय मिटर उचाइको देउराली धुरीसम्म जिप, ट्याक्टर, मोटरसाइकल चल्न थालेको वडाध्यक्ष छन्त्यालले बताउनुभयो ।
हिउँ पग्लिएपछि देउरालीबाट लत्रबाङसम्मको करिब थप पाँच किलोमिटर सडकमा पनि सवारीसाधन सञ्चालन गर्न सकिने उहाँको भनाइ छ । लत्रबाङदेखि गुर्जागाउँसम्म करिब पाँचदेखि सात किलोमिटर दुरीमा सडकको ट्र्याक खोल्न सकेमा गुर्जावासीको सपना पूरा हुने उहाँले बताउनुभयो । गुर्जागाउँसम्म सडक नपुगे पनि बिच बाटोसम्म पुगेको सडकले गुर्जावासीलाई धेरै सहज भएको वडाध्यक्ष छन्त्यालको भनाइ छ । गुर्जाका मानिस बिरामी भएर अस्पताल पुर्याउन दिनभर डोकामा बोकेर लुलाङसम्म पुर्याउनुपर्ने बाध्यता थियो अब भने बिचबाटो सम्म गाडी गुड्न थालेपछि चार घण्टामा सडक भएको स्थानसम्म पुग्न सकिने उहाँले बताउनुभयो ।
गत वर्ष भएको ठेक्का सम्झौतामार्फत लुलाङबाट देउराली हुँदै लत्रबाङनजिकसम्म ९.५ किलोमिटर मार्ग खुलेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेसम पुनमगरले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा सङ्घीय, गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाले दुई/दुई करोडका दरले बजेट विनियोजन गरेको लुलाङ–गुर्जा सडक योजनाका लागि रारा तेन्जिन कन्स्ट्रक्सनले तीन करोड ८० लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । योजनामा सडकको मार्ग खोल्नुका साथै विभिन्न ठाउँमा ग्याबिन, मेसिनरी र पलम पर्खाल पनि निर्माण भएको छ । यसअघि गाउँपालिकाको केन्द्र मुना हुँदै वडा नं. २ लुलाङसम्म सडक पुगिसकेको थियो ।
आव २०७९/८० मा गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा लमसुङबाट लुलाङ हुँदै चार किलोमिटर चार सय मिटर सडकमार्ग निर्माण भएको थियो । धवलागिरिका प्राविधिक शाखाका प्रमुख लोकेन्द्र रावलले बताउनुभयो । लत्रबाङबाट गुर्जातर्फ सडक निर्माणका लागि सङ्घीय सरकार र गाउँपालिकाको साझेदारीमा विनियोजन भएको ७० लाख रुपियाँ बजेट भएको योजना ठेक्का सम्झौताको प्रक्रियामा रहेको रावलले बताउनुभयो ।
प्रदेश सरकारले विनियोजन गरेको ५० लाख रुपियाँको बजेटबाट पूर्वाधार विकास कार्यालयले लुलाङ–देउराली खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ । सङ्घीय सरकारले सडक डिभिजन कार्यालय बागलुङमार्फत विनियोजन गरेको एक करोड बजेटमार्फत बाङखोलामा पर्खाल, ग्रेड सुधार र महतलाको भिरमा ढलानको काम सुरु भएको छ ।
एक करोड रुपियाँ बजेटको योजनामार्फत लमसुङ–स्थानीय पूर्वाधार विकास आयोजना पोखराले ठेक्का प्रक्रिया अगाडि बढाएको छ । गुर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको छ । गुर्जामा सडक पुगेपछि बेनीदेखि एक दिनमै गुर्जा पुग्न सकिने भएको छ । छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जालाई पर्यटकीय गाउँका रूपमा विकास गर्न सकिने सम्भावना पनि छ ।