• २७ वैशाख २०८१, बिहिबार

डिभिजन वन कार्यालय प्रदेशकै उत्कृष्ट

blog

तनहुँ समाचारदाता 

तनहुँ, जेठ १८ गते । डिभिजन वन कार्यालय तनहुँ गण्डकी प्रदेशकै सर्वोकृष्ट कार्यालय बन्न सफल भएको छ ।  गण्डकी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा आइतबार प्रदेश भरीकै उत्कृष्ट कार्यालय घोषणा गरेको हो । मुख्यमन्त्रीको कार्यालयले बनाएको विभिन्न सूचकहरू तयार गरी कार्य मूल्याङ्कन मापदण्डको आधारमा डिभिजन वन कार्यालय तनहुँ प्रदेश मातहतभरीका १०५ कार्यालयहरू मध्ये सर्वाेत्कृष्ट बनेको हो । 

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रमुख सचिव रविलाल पन्थले डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेलाई ३० हजारसहित प्रमाणपत्रसहित पुरस्कृत गर्नुभयो ।प्रदेश सरकारको मूल्याङ्कनमा  सुशासन तथा पारदर्शीढङ्गले काम गर्ने शैलीका अतिरिक्त सबै सरोकारवाला पक्षलाई समेटेको, मानव र वन्यद्वन्द्ध व्यवस्थापनमा अनुकरणीय काम, वासस्थान व्यवस्थापन जनचेतना मुलक कार्यहरूलाई घनिभूत रुपमा सञ्चालन गरेकाले सर्वोकृष्ट बन्न सफल भएको हो । 

यसैगरी, चोरी सिकारी नियन्त्रण गरी राजस्व बढाएको, बेरुजु शुन्य, नर्सरी विरुवा गाउँमै वितरण, आगोलागी  नियन्त्रणमा सफल भएकोले सर्वाेत्कृष्ट बन्न सफल भएको जनाइएको छ । 

सामुदायिक वनको आम्दानीबाट विपन्नको आय आर्जन बढाउने जस्ता कार्यले डिभिजन वन कार्यालय चर्चामा आएको थियो । सव डिभिजनस्तरिय नर्सरीमा स्तरोन्नति, उच्च स्तरिय प्रजाति केन्द्रित उत्पादन, फलफूल विरुवा, लक्षित ग्रुप केन्द्रित अनुकरणीय काम, मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका अग्रणी तथा अनुकरणीय अभियानहरू, व्यापक जनचेतना, पोखरी निर्माण, घाँसे मैदान व्यवस्थापन, अघिल्ला वर्षको तुलनामा मानवीय घटनाको क्षति शुन्य रहेको छ । 

त्यस्तै, अतिक्रमण परेका वनको जग्गा संरक्षणको लागि वृक्षा रोपण सहित व्यवस्थापन, डिभिजन तथा सव डिभिजन वन कार्यालयको उचित प्रवद्र्धन, सजावट तथा कर्मचारीको उत्कृष्ट टिम लगायतले गर्दा आफूहरू  प्रदेशकै सर्वाेत्कृष्ट बन्न सफल भएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । 

वार्षिक कार्यक्रम मार्फत बनेका पार्कहरू सामाजिक सञ्जालमा भाइरल, सरोकारवालाहरूको वन तथा वातावरण क्षेत्रमा उत्प्रेरित साथ तथा हातेमालो, वातावरणीय विकासमा अग्रणी भूमिका, सामाजिक सञ्जाल सन्चार माध्यम तथा आधुनिक प्रविधिको उच्चतम प्रयोग जस्ता कारणले प्रदेश भरीमै सर्वाेत्कृष्ट बन्न सफल भएको दावी उहाँको छ । डिभिजन वन कार्यालयको पार्क तथा उद्यानहरू सामाजिक सञ्जालमा भाईरल हुनका साथै आम्दानी स्रोत बढेको र दिगो विकास तथा वन व्यवस्थापनको मोडालिटी समेत उत्कृष्ट रहेको पाइएको छ । 

प्रदेश सरकारले बेरुजु नरहेको, सिमित स्रोत र साधनबाट अधिकत्म काम, सूचना बोर्ड, नागरिक वडापत्र, सरसफाई, कर्मचारीको अनुशासन लगायत आधारलाई समेत मूल्याङ्कन गरिएको थियो । यस अघि पनि यो कार्यालय गण्डकी प्रदेशकै उत्कृष्ट कार्यालय बन्न सफल भएको थियो ।