काठमाडौँ, फागुन २४ गते । नेपाल युगान्डामा जारी महिला टी–२० क्रिकेट सिरिजमा नामिबियासँग पराजित भएको छ ।
युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा शनिबार भएको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भयो । जितका लागि नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डाले आठ ओभरमा एक विकेटको क्षतिमा ३९ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो ।
त्यसपछि पुन: सुचारु भएको खेलमा नामिबियाले १५ ओभरमा ७१ रनको लक्ष्य पाएको थियो । जसमा नामिबियाले १४.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै डिएल मेथोडका आधारमा विजेता बन्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल निर्धारित १९.५ ओभरमा सबै विकेटको क्षतिमा ९२ रनमा समेटिएको थियो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १८ रन बनाउनुभयो । यस्तै इश्वरी बिष्टले १७, कविता जोशले १६ र पुजा महतोले १३ रन जोड्नुभयो ।
बलिङमा नामिबियाकी मिकेली मावातेली र विकि मावातेलीले तीन तीन तथा काइलेन ग्रिनले दुई विकेट लिनुभयो । नेपाल र नामिबियाको महिला क्रिकेट टोलीबिच पहिलो पटक भिडन्त भएको हो ।
सिरिजमा आयोजक युगान्डासहित नेपाल, हङकङ र नामिबिया रहेको छ । सहभागी टोलीले एक आपसमा दुई पटक प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीबिच उपाधिका लागि भिडन्त हुनेछ । नेपालले दोस्रो खेल आइतबार आयोजक युगान्डासँग खेल्नेछ ।