• २५ फागुन २०८१, आइतबार

गोरखापत्रकर्मी भट्टराई पुरस्कृत

blog

पत्रकार राजकुमार भट्टराईलाई पुरस्कार प्रदान गर्नुहुँदै पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतलगायत।

खोटाङ, फागुन २४ गते। खोटाङ समाचारदाताको रुपमा कार्यरत गोरखापत्रका पत्रकार राजकुमार भट्टराई पुरस्कृत हुनुभएको छ। ११५ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा हलेसी तुवाचुङ नगरपालिकाले पत्रकार भट्टराईलाई नगद २५ हजारसहित सम्मान गरेको हो।

पत्रकारिताको माध्यमबाट नगरपालिकाको समग्र विकासमा पुराएको योगदानको उच्च कदर गर्दै नगरपालिकाले पत्रकार भट्टराई पुरस्कृत गरेको हो। नारी दिवस विशेष कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महत, विशेष अतिथि प्रतिनिधि सभा सदस्य सरस्वती बजिमय, हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई लगायतले पत्रकार भट्टराईलाई पुरस्कारसहित सम्मान गर्नुभएको हो। 

गोरखापत्रका पत्रकार भट्टराईसहित खोटाङ जिल्लामा क्रियासिल पत्रकार सविना अछामे र दुई जना महिला उद्यमीलाई पनि नगरपालिकाले पुरस्कृत गरेको छ। 

नगरपालिकाले आयोजना गरेको नारी दिवस विशेष कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका प्रवक्तासमेत रहनुभएका डा. महतले अहिले गाउँ महिलाले चलाएको बताउनुभएको छ। रोजगारीका लागि युवा परदेश गएकाले गाउँ महिलाले चलाइरहेको उहाँको भनाइ छ। 

गाउँसँगै समग्र देशको विकासमा महिलाहरु निरन्तर अघि बढीरहेको र आगामी दिनमा राजनीतिमा महिलाको ५० प्रतिशत भन्दा धेरै सहभागीता हुने डा. महतले बताउनुभएको छ।