• २५ फागुन २०८१, आइतबार

‘व्यावसायिक योजना नबनाई काम गर्दा सहकारी धरासायी बन्दै’

blog

सहकारी संस्थाको बजेट र राणनीतिक योजना तर्जुमा गर्न सिक्दै सञ्चालक र कर्मचारी । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की
वराहक्षेत्र, फागुन २४ गते ।
सुनसरीको वराहक्षेत्र नगरपालिकामा बजेट र राणनीतिक योजना तर्जुमा प्रयोगात्मक तालिम सुरु गरिएको छ । नगर क्षेत्रमा रहेका सहकारी संस्थाहरूका लागि बजेट र राणनीतिक योजना तर्जुमा गर्न सहज बनाउने उद्देश्यले तीन दिने प्रयोगात्मक तालिम सुरु गरिएको हो ।

वराहक्षेत्र नगरपालिका क्षेत्रभित्र रहेका २२ वटा सहकारी संस्थाहरूलाई संस्थाको बजेट र राणनीतिक योजना तर्जुमा गर्न सञ्चालकहरूलाई प्रयोगात्मक तालिमको आयोजना गरिएको नगर आर्थिक विकास शाखा प्रमुख मातृकाप्रसाद तिवारीले बताउनुभयो ।

आर्थिक शाखामार्फत सहकारीका सञ्चालकहरूलाई व्यवसायिक योजना बनाउन प्रयोगात्मक रुपमै सहजीकरणर गरिएको शाखा प्रमुख तिवारीले बताउनुभयो । उहाँका अनुसार तीन वर्षे वा पञ्चवर्षे व्यावसायिक योजना बनाएर सहकारीहरुले योजना अनुसार काम गर्न सके सदस्यहरूको आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणमा सहयोग पुर्‍याउने उद्देश्यले योजना तर्जुमा गर्न तालिम सञ्चालन गरिएको हो । व्यवसायिक योजना सहकारीहरुले नबनाई काम गर्दा संस्थाहरू आर्थिक रूपमा धरासायी बन्दै गएको अवस्थामा योजना तर्जुमा गरेर काम गर्दा सहज हुने बताइएको छ ।

सहकारीहरूले आर्थिक विकासको चक्रअनुसार काम गर्न नसक्दा संस्थाको पूँजी, संस्थाको पेसा व्यवसाय, लगानी, सदस्यको उत्पादन, बजारीकरण र आम्दानी कम हुने गरेको छ ।

“सहकारी संस्थाले व्यावसायिक योजना बनाउदा संस्थाको परिचय, कार्यक्षेत्र, परिकल्पना, ध्येय, लक्ष्य, उद्देश्य लगायतका बुँदाहरूलाई समेटेर कार्य योजना बनाउनु पर्ने भए पनि सबै बुँदाहरूलाई नसमेट्दा सहकारीको उद्देश्य र लक्ष्यमा पुग्न सकेका छैनन्” सहजकर्ता सुमन पौडेलले भन्नुभयो ।

प्रत्येक सहकारी संस्थाले आफ्ना सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक हैसियतमाथि उठाउन सदस्यहरुको विवरण राखेर काम गर्दा सदस्यहरु कति सक्षम भए भन्ने थाहा हुने उहाँले बताउनुभयो ।

वराहक्षेत्र नगरमा २७ वटा कृषि सहकारी, चार वटा दुग्ध सहकारी, ६ वटा बहुउद्देश्य सहकारी, सानाकिसान सहकारी तीन वटा र अन्य चार वटा गरी ७२ वटा सहकारी संस्थामा ३८ हजारभन्दा बढी सदस्य आबद्ध रहेका छन् । केही सहकारीबाहेक सबै सहकारी सबल रहेको नगर आर्थिक विकास शाखाले जनाएको छ ।

सहकारीमा आबद्ध भएर नगर क्षेत्रमा तीन हजारभन्दा बढी कृषकहरू दूध उत्पादनसँग प्रत्यक्ष जोडिएर किसानहरूले पशुपालन गर्दै आएका छन् ।  सुनसरी जिल्लाकै पुराना सहकारीकर्मी हुमरजंग बस्नेतले भन्नुभयो “सहकारीको सिद्धान्त, मूल्य र मान्यताका आधारमा सहकारी चलाउनु पर्छ तर, धेरै सहकारीहरू त्यसरी नचल्दा डुबेका र बन्द भएका छन् ।”  सकहारी संस्थाको उद्देश्य संस्थामा आबद्ध सदस्यहरुको आर्थिक उत्थान गरी सामाजिक न्याय र समानता दिलाउनु नै सहकारीको प्रमुख उद्देश्य हुनु पर्ने उहाँ बताउनुहुन्छ । 

नगर क्षेत्रमा रहेका सबै सहकारीका सदस्यहरूमा सहकारी शिक्षा नहुँदा सहकारीमा आबद्ध सदस्यहरूलाई आफ्नो हक अधिकार समेत थाहा नहुने गरेको देखिन्छ । सबै सहकारी संस्थाले आफ्ना सदस्यहरूलाई सहकारी के हो भनेरै नबुझाउदा सञ्चालकहरूको मात्रै सहकारी हो भन्ने बुझाई बढेर गएको वराहक्षेत्र नगर आर्थिक विकास शाखा प्रमुख मातृका तिवारी बताउनु हुन्छ ।