• २६ फागुन २०८१, सोमबार

चिहानको भेट (कथा)

blog

प्रत्येक दिनको मर्निङ वाकमा म त्यही मानिस देख्दछु । उनी नियमित छन् र म पनि । सधैँ देखभाल भए पनि उनीसँग कहिल्यै पनि बोलचाल हुँदैन । उनी देख्दा ज्यादै शिष्ट र भलादमी देखिन्छन् । गोरा अमेरिकी नागरिक । अधबैँसे सर्लक्क परेको अनुहार तर सधैँ गम्भीर मुद्रामा मात्र । लाग्छ, उनी जीवनदेखि एकदम निराश छन् ।

अहिले म नौलो ठाउँमा छु । यहाँ मेरा कोही साथी छैनन् । उनी मेरा देखिने साथी मात्र हुन् । भेटिने साथी मात्र हुन् । सधैँ भेट हुन्छ तर बोली मिसिँदैन उनीसित । देखिरहँदा पनि आफ्नो जस्तै लाग्दो रहेछ । त्यसैले एक दिन भेट भएन भने खल्लो लागेर आउँछ मलाई । म कल्पना गर्छु– उनीलाई पनि त्यस्तै लाग्दो होला । सायद उनी यहाँको रैथाने बासिन्दा हुन सक्छन् । किनकि उनी सेतो वर्णका छन् तर यहाँका रैथानेसँग पनि उनले हाइहेलो गरेको मैले देखेको छैन । मसँग त झनै कठिन हुने नै भइहाल्यो । उनी र मबिच कुनै कुरा मेल खाँदैन । भाषा, वेश, रङरोगन, भूगोल आदि आदि । उनी करिब ७० वर्षको हाराहारीमा होलान् । म पनि त्यस्तै छु । उनी र मेरो समानता भनेको उमेर मात्र हो । अरू कुरा बिल्कुल फरक ।

मलाई आश्चर्य लाग्छ, किन तिनी मदेखि पर पर हुन्छन् । पर पर मात्र होइन, मतिर नजर लगाउँदै लगाउँदैनन् । मलाई भने कौतूहल लागिरहन्छ । एक वचन बोलिदिए हुन्थ्यो जस्तो लाग्छ । अहँ, बोल्दै बोल्दैनन् । म मनमा कुरा खेलाउँछु– सायद मैले अङ्ग्रेजी बोल्न जान्दिनँ भनेर पनि हुन सक्छ । अथवा कुनै बाटोमा हिँडिरहेको मानिसलाई बोलाउन सभ्य नलागेर पनि होला । उनले यस्तो पनि सम्झन सक्छन्, “बोल्नुको कुनै अर्थ र सरोकार छैन ।” उनले बोल्नका लागि कुनै साइनो पनि खोजिरहेका थिए होलान् ।

मलाई लाग्छ, ती अग्ला गोराको बुझाइ यस्तै यस्तै हुन सक्छ । आफूलाई पनि यस्तै भएको छ । म कुरा खेलाउँदै हिँडिरहेको हुन्छु, किन मैले ती गोरासँग बोलिनँ ? मैले पनि त बोलाउन सक्थेँ नि, किन बोलाइनँ ? बोलाउँदा के पो फरक पथ्र्यो र ? कम्तीमा यो अपरिचित ठाउँमा एक मात्र भए पनि मेरो साथी हुन्थे नि । मैले आफूलाई गलत साबित गरेँ, उनीसँग बोलचाल नगरेर । उनले नबोलाउँदैमा मैले नबोलाउनु कुनै अवस्थामा पनि ठिक थिएन । यस्ता कुरा मनमा खेलाउँदा खेलाउँदै मैले गलत गरिरहेको छु भन्ने कुरामा म विश्वस्त हुन पुगेँ ।

उनको हिँडाइ सुस्त देखिन्थ्यो । उनको मनमा धेरै कुरा खेलिएका हुनाले त्यस्तो हुन सक्छ । पीर, पीडा र दुःखले घेरिएको अनुहार देखिन्थ्यो । हिँडाइ एकै किसिमको भए पनि केही समयपछि अलि लोसो लोसो हुँदै जान्थ्यो । उनका मनका कुराले गर्दा उनको हिँडाइ लोसो भएको हुन सक्छ ।

प्रत्येक दिनको हिँडाइमा म बायाँतर्फको बाटो हुँदै घर फर्किएको हुन्छु तर कहिलेकाहीँ भने अरू बाटो पनि हिड्थेँ । उनी सधैँ दायाँतर्फ मात्र लागेका हुन्थे । दायाँतर्फ मात्र लाग्नुको कारण मैले बुझेको थिइनँ । कहाँसम्म जान्छन् । किन यसरी हिँड्छन् । म कत्ति पनि भेउ पाउँदिनँ ।

उनको विषयमा मलाई विभिन्न जज्ञासा आई नै रहे । किन उनी सुरुमा छिटो छिटो हिँड्छन् र पछि किन बिस्तार बिस्तार शिथिलता आउँछ ? किन उनी एक्लै गुनगुनाएर हिँड्छन् ? किन उनी दायाँबाट मोडिँदै गर्दा निराश हुन्छन् ? 

यसरी हामी लामो अवधिसम्म सँगसँगै हिँडे पनि एकआपसमा परिचित हुन सकेनौँ । मलाई बोल्न मन लागे पनि आँट गर्न सकिनँ । उनी त झनै आफ्नै धुन । उनीसँग बोलिहाल्नुभन्दा पनि उनका बारेमा मैले केही जान्नमा आतुर थिएँ । अरू कुराभन्दा पनि किन उनी सधैँ एउटै बाटो र एउटै गन्तव्य गएका हुन्छन् । यो मेरो जिज्ञासा थियो ।

एक दिन म उनको पछि पछि लाग्दै गएँ । मलाई लाग्यो कि उनको हिँडाइ एकदम लोसो थियो । नहिँडू नहिँडू जस्तो थियो । जति जति उनी अगाडि बढ्छन् उति उति उनको हिँडाइको दम खस्किएको थियो । घोसेमुन्टो लगाएका हुन्थे । रुन्चे अनुहार देखिन्थ्यो । एकोहोरो देखिन्थे । शरीरमा कुनै रौनक देखिँदैनथ्यो र सबै अङ्ग शिथिल भएका देखिन्थे ।

पछि मलाई थाहा भयो, प्रत्येक दिन उनी एउटा ठुलो चिहानमा जाँदा रहेछन् । त्यहाँ धेरै ढुङ्गा ठडिएका थिए । ती सबै फरक फरक आकृतिका थिए । ढुङ्गामा कतै चित्र कुँदिएका थिए । कतै साधा पातला उभ्याइएका थिए । गुजुमुजु देखिने ती सेता ढुङ्गा निकै सजावट गरिएका जस्ता देखिन्थे तर ती सबै ढुङ्गा मात्र नभएर मृत मानिसको सम्झनास्वरूप समाधिस्थ गरिएका चिहान रहेछन् । चिहानमा जब हामी भेट हुन्छौँ, दुवै मौन हुन्छौँ । मुखमा बोली आए पनि बोल्न सक्दैनौँ । सायद अपरिचित भएर पनि हुन सक्छ ।

उनी त सधैँ दिग्दारी । त्यस दिनको दृश्यले मलाई पनि खल्लो बनायो । केही समयपश्चात् म आफ्नो बाटो लागेँ । मैले उनको वास्तै गरिनँ । उनी कतिबेलासम्म त्यहाँ रहे र कुन बेला आफ्नो घर गए, मलाई थाहा भएन ।

चिहानबाट फर्किंदै गर्दा मनमा अनेक कुरा सल्बलाए । मेरा असङ्ख्य जिज्ञासा त्यहीँ सेलाउँदै गए । मैले बुझ्नै सकिनँ । सधैँ एक्लै हिँड्नु, एउटै बाटो प्रयोग गर्नु, एकोहोरो र शिथिल अनुहार मेरो लागि एक अनौठो थियो ।

मेरो मनको कौतूहल मेटाउन एक दिन म उनको पछि पछि लागेँ । उनी सधैँ जस्तै निन्याउरो थिए । सायद उनले मलाई देखेका थिएनन् । म उनको गतिविधि नियाल्न अलि ओझेल पर्दै गएको थिएँ । उनी चिहानको पल्लो छेउमा सरासर गए । त्यहाँ पुग्न नपाउँदै घोसेमुन्टो लगाएर प्रार्थना गर्न लागे । मलाई लाग्यो, सायद उनीहरूको यस्तै परम्परा होला । केहीबेर चिहानको छेउमा बसेर हात जोडी बरर्र आँसु झारे । बाहिर रोएको आवाज आउन नसके पनि भित्री मन भक्कानिएको अवश्य नै थियो उनको ।

ती गोरा मान्छे र त्यो चिहानको दृश्यले मलाई ज्यादै चिन्तित बनायो । दिनभर आँखामा आई नै रहे । पछि उनीसँग भेट हुँदा उनको दिनचर्याबारे जिज्ञासा राखेको थिएँ । एउटा विदेशी अपरिचित व्यक्तिसँग उनले आफ्ना कुरा भन्न किन आवश्यक थियो र ? उनको मनभित्र असङ्ख्य पीडा रहेछ । कसैलाई भनेका रहेनछन् । कुनै अपरिचित मानिसलाई सुनाउन पाए हुन्थ्यो भन्ने पनि रहेछ उनलाई ।

हामी हिँड्दै गरेका थियौँ । बाटो सम्म भएकाले कुरा गर्न समस्या थिएन । अलि पर गएपछि एउटा काठको बेन्च देखियो । उनलाई कुरा गर्दै हिँड्न केही कठिन भएछ र एकैछिन बसौँ न भनेँ । मैले हुन्छ भनेँ र बेन्चको एक छेउमा ती गोरा मान्छे र अर्को छेउमा म बसेँ ।

उनको लामो कहानी रहेछ । उनको एक मात्र छोरा एरिक जोनको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएछ । उसको बिहे पनि भएको रहेछ तर बालबच्चा भएका रहेन छन् । छोराको मृत्युपछि बुहारीले अर्को विवाह गरिछन् । छोरोको दुर्घटनामा परेर मृत्यु भयो । बुहारीले पनि बुढाबुढीलाई छोडेर गएकी हुनाले पीरमाथि पीर थपिएको रहेछ । उनीहरूको सहारा अब कोही पनि सहयोगी नभएकाले जीवनयापन निकै कष्टकर बन्दै गएको रहेछ ।

उनीहरूलाई दुःखपीडाले सताउनसम्म सताएछ । प्रत्येक दिन मरेको छोरालाई सम्झँदा सम्झँदै श्रीमतीको पनि मृत्यु भएछ । बाँकी रहेका ती एक मात्र गोरा बुढा मान्छेलाई त्यही छोरो र श्रीमतीको याद आउँदो रहेछ । घरमा बस्न मन लाग्दो रहेनछ । बिहान सबेरै उठ्दा रहेछन् । छोरो सम्झेर खुरुखुरु त्यही छोराको चिहानमा आउँदा रहेछन् । मृतात्मालाई शान्ति मिलोस् भनेर प्रार्थना गर्दा रहेछन् । आँसु रोक्न नसकेर घोसेमुन्टो लगाउँदा रहेछन् । लामो थकान र शिथिल शरीर लिएर आफ्नै घर फर्किंदा रहेछन् । यसरी जिन्दगीभर रुँदै आएका ती गोरा मानिसको भोलिको जीवनयात्रा कस्तो होला भन्ने जिज्ञासा मनमा राख्दै म पनि आफ्नो बाटो लागेँ ।

Author

कृष्णमणि पराजुली