• २० वैशाख २०८१, बिहिबार

जोखिमयुक्त सडकले सास्ती

blog

कर्णाली कोरिडोरको प्रवेशद्वार मानिने कालीकोटको खुलालु पुल नजिकको जोखिमयुक्त सडक । तस्बिर : प्रेमराज सिम्खडा

कालीकोट समाचारदाता

कालीकोट, जेठ १८ गते । कर्णाली कोरिडोरको प्रवेशद्वार मानिने खुलालुमा जोखिमयुक्त सडकका कारण यात्रुहरूलाई सास्ती भएकोे छ । पुल पार गर्नासाथ ओरालोमा ठूला ढुङ्गा रहेको र ती ढुङ्गा पन्छाउन कसैले पनि चासो नदिँदा सो सडकखण्ड जोखिमयुक्त भएको छ । यहाँ सडक पार गर्न घण्टौँ लाग्ने गरेको छ ।

पुलमा प्रवेश गर्ने ओरालो सडक मर्मत नहुँदा यातायातका साधन निकै जोखिममा छन् । पुल बनाउने निर्माण कम्पनी आफ्नो जिम्मेवारी नभएको भन्दै पन्छिएपछि सडक विभागले मर्मत सुधार गर्ने आश्वासन दिएको तर पछिल्लो समय सडक डिभिजन कार्यालय जुम्ला र सिमकोट हिल्सा सडक आयोजना कार्यालय हुम्लाले एकअर्काको जिम्मेवारी भएको भन्दै पन्छिएपछि यो सडक मर्मत झन् अन्योलमा परेको छ ।कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–८ मा पर्ने खुलालुमा १३ वर्षपछि पक्की पुल बनेपछि खुलालु हुम्ला कर्णाली करिडोर सञ्चालन भएको छ । 

जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख इन्जिनियर राजीव श्रेष्ठले सिमकोट हिल्सा सडक डिभिजन कार्यालयका प्रमुखले ठेक्का भइसकेको र ढुङ्गा फुटाउन विस्फोट गरी सडकलाई सहज बनाउने जानकारी गराएको हुनाले सडक डिभिजन कार्यालय जुम्लाले सडक मर्मतमा कुनै पहल नगरेको बताउनुभयो । उहाँले अहिले आएर सोअनुसार प्रक्रिया नभएको भनेर खबर पाउँदा दुःख लागेको जनाउनुभयो । यद्यपि आगामी वर्षबाट सडक मर्मत सुरु हुने उहाँको भनाइ छ ।

सडक मर्मतका लागि कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले पनि चासो लिनुभएको छ तर कार्यालयका प्रतिनिधिले आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै जुम्लाले नै बनाउने दाबी गरिरहेकाले अलमलमा परेको बताउनुभयो । सिमकोट हिल्सा सडक कार्यालयका प्रमुख वीरेन्द्र यादवले आफ्नो कार्यालयले गर्न नसक्ने बरु वर्षाको समयमा सडक खुलाउने विषयमा सहकार्य गर्न सकिने बताउनुभयो ।

प्रजिअ शर्माले सडक सुधार नहुँदा दैनिक आउजाउ गर्ने यात्रुले दुःख पाइरहने भएकाले दुवै सरकारी कार्यालयले गम्भीर भएर काम गर्न सुझाव दिनुभयो । यसअघि कोरिडोरबाट आएको मालवाहक गाडी उकालो चढ्न नसकेर दुर्घटनासमेत भएको थियो ।