• २५ वैशाख २०८१, मङ्गलबार

रासायनिक मलको अभाव हुँदा उत्पादन घट्ने चिन्ता

blog

अमरराज नहर्की

तनहुँ, जेठ १७ गते। बालीमा रासायनिक मल राख्न नपाउँदा तनहुँका कृषक उत्पादन घट्ने चिन्तामा छन्। लामो समयदेखि मल अभाव भएकाले कृषक चिन्तामा परेका हुन्। रासायनिक मल व्यवस्थापनमा काम गर्दै आएका सरकारी निकायले नै माग अनुसार मल उपलब्ध गराउन सक्ने अवस्था नभएपछि मल अभाव हुन थालेको हो। 

पाँच महिनादेखि नै तनहुँका कृषकले युरिया मल पाएका छैनन्।  मकै र चैते धान बालीमा मल प्रयोग गर्न नपाउँदा उत्पादनमा कमी आउने अवस्था आएको कृषकले बताएका छन्। मल नआएकोले दैनिक किसान आउने गरेपनि खाली हात फर्किनुपर्ने बाध्यता रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय दमौलीका प्रमुख दिनेश शर्माले जानकारी दिनुभयो। 

पाँच महिनादेखि युरिया मल आयत नहुँदा कृषकले बालीमा प्रयोग गर्न नपाएको शर्माले जानकारी दिनुभयो। सरकारले ग्लोबल टेण्डरमार्फत् विश्वका जुनसुकै मुलुकबाट खरिद गरी ल्याउने प्रक्रियामा रहेकोले असार पहिलो साता भित्र युरिया मल आउने आश्वासन मन्त्रालयबाट पाइएको उहाँले जानकारी दिनुभयो। ‘गत साउनदेखि माघसम्म ६०० टन युरिया मल किसानलाई वितरण गरिए पनि त्यसपछि मल आयत नहुँदा किसान मर्कामा परेका छन्’, शर्माले भन्नुभयो।

 युरिया मल अभाव भएकोले बजारमा विभिन्न माध्यमबाट आएको मल बिक्री वितरण गर्न व्यास नगरपालिकाले अनुमति दिएको छ। अनुमति पत्र लिएका र गुणस्तर खाद्य तत्त्व भएको मल बिक्री गर्न निर्णय गरेर बिक्रीका लागि अनुमति दिइएको व्यास नगरपालिका कृषि शाखाका प्रमुख विश्वराज वाग्लेले जानकारी दिनुभयो। उहाँका अनुसार युरिया मल प्रतिकिलो ५५ मा बिक्री गर्न अनुमति दिइएको छ। अनुदानमा युरिया मल कृषकले प्रतिकिलो २० मा पाउने भएपनि अभाव भएपछि बाध्यताले महंगो मूल्यमा बिक्री गर्न अनुमति दिइएको उहाँले बताउनुभयो। 

मल राख्न नपाउँदा बालीमा कुषोषण भएकाले विभिन्न रोग लागेकाले उत्पादन घट्ने अवस्था आएको व्यास नगरपालिका–११ का कृषक वामदेव मिश्रले जानकारी दिनुभयो। ‘मकैमा अमेरिकन फौजी किरा, धानमा गबारो लगायतका विभिन्न किराहरुको आक्रमण गरेको उत्पादनमा करीब ३० प्रतिशत घट्ने अवस्था आएको छ’ कृषक मिश्रले भन्नुभयो।  

भारतबाट चोरी निकासीबाट मल आए पनि पर्याप्त नआएको हुँदा कृषकले महङ्गो मूल्य तिरेर पनि मल नपाएको व्यास नगरपालिका–२  मुख्यचोक, दमौली स्थित तनहुँ विज भण्डारका सञ्चालक वैकुष्ठनाथ मिश्रले बताउनुभयो।