• १९ फागुन २०८१, सोमबार

माघ कसको नयाँ वर्ष ?

blog

थारू समुदायको सबैभन्दा ठुलो पर्व माघ (माघी) हो । यसलाई ठाउँ अनुसार ‘माघ, माघी, खिचरा, तिला सङ्क्राइत, माघेसङ्क्रान्ति’ पनि भनिन्छ । पूर्वका थारूले ‘तिला सङ्क्राइत’ भन्छन् । कपिलवस्तु–चितवनका थारूले खिचरा पर्व भन्छन् । दाङ पश्चिमका थारूले माघ भन्छन् । पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्म तराईमा थारूहरूको बसोबास छ । त्यही भएर ठाउँ अनुसार पर्वलाई आफ्नै शैलीमा मनाउने गरिन्छ । 

नेपाली समुदायले हरेक माघ १ गते माघेसङ्क्रान्ति पर्व मनाउने गरेका छन् । माघ महिनाको नामबाट यो पर्वको नाम नै माघ वा माघी रहन गयो । यो पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा मनाउँछन् । थारू संवत् अनुसार यो वर्षको माघ २६४८ औँ हो । पुस मसान्तसम्म आफ्नो लेनदेन, हरहिसाब गर्छन् । माघ १ गतेदेखि नयाँ खाता सुरु गरिन्छ । गाउँको नेतृत्वको काम गर्न नियुक्त गरिएकाहरूलाई पुस मसान्तमा तलब दिने गरिन्छ । माघ १ गतेदेखि पुनः नयाँ नियुक्ति गरिन्छ । गाउँ सञ्चालन गर्न बरघर, गुरुवा, चिरक्या, घरमुली, अघारी, चौकीदार, कुलापानी गर्ने व्यक्ति, फलामको काम गर्ने व्यक्ति, गोठालो आदि नयाँ नियुक्ति गरिन्छ । वयस्क भएका छोराछोरीको विवाह गरिदिने काम पनि माघबाटै सुरु हुन्छ । नयाँ योजना बनाउने काम सुरु हुने भएकाले थारूहरूले यस पर्वलाई नयाँ वर्षका रूपमा मनाउँछन् । 

थारूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठुलो पर्व माघी हो । माघेसङ्क्रान्तिको अघिल्लो दिन अर्थात् पुसको मसान्तमा थारू गाउँमा सुँगुर काट्ने (जिता मार्ने) चलन छ । सुँगुरको मासुसँग थारू परिकार ढिक्री, माछा, घोँगी, सिपी, गँगटा, अनदीको भात, मुरही, जाँडरक्सी जस्ता परिकार खाने प्रचलन छ । त्यस दिन रातभरि जाग्राम बस्ने गरिन्छ । त्यस राति थारूले दफुको साथमा ‘धमार, धुमरु’ गीत गाउँछन् । भाले नबास्दासम्म गाइने सो गीतमा थारू इतिहास, रहनसहन, खेतीसम्बन्धी गीत गाइन्छ ।

माघ १ गतेलाई पवित्र दिन मानिन्छ । माघ १ गते बाजागाजासहित सामूहिक रूपमा जलाशयमा गई स्नान गरिन्छ । जसलाई थारूले ‘माघ लहान’ भन्छन् । नुहाउने कर्मलाई थारू भाषामा ‘लहैना’ भनिन्छ । यस दिन जलदेवतासँग पानी खरिद गरी स्नान गरिन्छ । त्यसैले स्नान गर्दा पानीभित्र सिक्का छाडिन्छ । जलदेवतासँग पानी खरिद गरेर नुहाउँदा वर्षभरिको पाप कर्म पखालिन्छ भन्ने जनविश्वास छ । 

घरका ज्येष्ठ सदस्य तथा आफन्तबाट लामो समयपछि भेट हुँदा सम्मानस्वरूप निहुरेर ढोग गर्ने र आशीर्वाद लिने प्रचलन छ । थारू समुदायमा अभिभावकको खुट्टा छोएरै आशीर्वाद लिने गरिन्छ । माघ १ गते चोखो जलाशयमा स्नान गरी पुर्खालाई ढोगेर आशीर्वाद लिने चलन पनि छ । यसरी ठुलाको सम्मान गरिन्छ भने आफूले दीर्घायु र सुखी जीवनको आशीर्वाद पनि पाइन्छ ।

स्नान गरेपछि ठुलासँग आशीर्वाद माग्न चामल, नुन, दाललाई साक्षी राख्ने गरिन्छ । घरको देवता कोठा (दिहुरार) मा गुन्द्रीमा राखिएका शुद्ध चामल, नुन र दाललाई छोएर पाँच पाँच अञ्जुली अलग भाँडामा राख्छन् । त्यसपछि मात्र आफूभन्दा ठुलाको आशीर्वाद थाप्छन् । गाउँका सबै अभिभावककहाँ गएर आशीर्वाद लिने प्रचलन छ । यो प्रचलनले एकअर्कासँग सम्बन्ध प्रगाढ बनाउँछ । 

माघ १ गते थारूहरूले विवाहित चेलीबेटीलाई विशेष उपहार दिन्छन् । यसलाई थारू भाषामा ‘निसराउ’ दिनु भनिन्छ । नुहाएर घर आएपछि घरमा सगुनका रूपमा छोएको चामल, नुन र दाल नै निसराउ हो । त्यसमा नगद र अन्य सामग्री थपेर चेलीबेटीलाई उपहार दिइन्छ । माघी पर्वमा विवाहित चेलीलाई अनिवार्य माइत ल्याइन्छ । माइत आउन नपाएका चेलीलाई निसराउ घरमै पुर्‍याइदिने चलन छ । 

 मुना   

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइन प्रकाशनको निमित्त सम्पादक हुनुहुन्छ ।