काठमाडौँ, फागुन १८ गते । रुस–युक्रेन युद्ध सुरु भएको ठ्याक्कै तीन वर्ष भयो । तीन वर्षमा सशस्त्र सहयोग गरिरहेको अमेरिका युद्ध अन्त्य हुनु पर्छ भन्नेविपरीत धारमा उत्रिएको छ । त्यही अनुसार रुस र युक्रेनका नेतृत्वसँग अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले छुट्टाछुट्टै छलफल र प्रस्ताव थाल्नुभएको छ तर यस क्रममा शुक्रबार राति युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको चर्काचर्कीयुक्त वार्ता अत्यधिक चर्चित बनेको छ ।
सन् २०२२ फेबु्रअरी २४ मा रुसले युक्रेनको भूगोलमाथि आक्रमण गरेपछि दुई देशबिच युद्ध सुरु भएको थियो । दुई देशबिच सन् २०१४ देखि बढेको तिक्ततापूर्ण सम्बन्ध सन् २०२२ मा आमनेसामने युद्धमा परिणत भएको हो । प्रत्यक्ष युद्धको तीन वर्षको अवधिमा युक्रेनले आफ्नो भूभागमा ठुलो जनधनको क्षति बेहोर्यो । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायोगका अनुसार युक्रेनमा ४१ हजार ७८३ जनाको मृत्यु यस अवधिमा भएको छ । युक्रेनबाट ४० लाखभन्दा बढी मानिस शरणार्थीका रूपमा अन्यत्र मुलुकमा भासिएका छन् ।
रुसतर्फ पनि कैयौँ सैनिकले ज्यान गुमाएका छन् । अवैध रूपमा रुस पुगेर त्यहाँको सेनामा भर्ती भएका नेपाली नागरिकको पनि ज्यान गएको छ । दुई देशबिचको युद्धले नेपाललगायत विश्व बजारमा तेल र खाद्यान्न निर्यात तथा आपूर्ति बजार प्रभावित बनेको छ । यसबिचमा दुई देशबिच युद्धविरामका पहल नभएका होइनन् तर दुई देशको आपसी अडानका बिच युद्धविरामले दीर्घ रूप लिन सकेन ।
दुई देशबिच युद्ध सुरु भएको चार महिनापछि युद्धविरामको पहिलो पहल भएको थियो । एक महिनाभित्र बेलारुसको मध्यस्थतामा तीन पटकसम्म युद्धविरामको पहल गरिएका थिए, जुन सफल हुन सकेनन् । सन् २०२४ सम्म आइपुग्दा युक्रेनले आफ्नो भूमिबाट रुसले सैन्य टुकडी हटाएमा मात्र युद्धविराम हुने प्रस्ताव राख्यो, जसमा रुसले तत्काल सहमति नजनाउँदा विफल बन्यो । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा रुसले युद्ध अपराध गरेकाले सुरक्षाको माग युक्रेनले गर्यो । उता रुसले पनि युद्धविराम चाहेको मनसाय व्यक्त गर्यो तर आफ्ना सेना र युद्धको तयारीका लागि समय लिएको आरोप युक्रेनले रुसलाई लगाउँदै आयो ।
दुई राष्ट्रपतिबिच चर्काचर्की
फेबु्रअरीको अन्तिम दिन नेपाली समय अनुसार शुक्रबार मध्यरातमा प्रत्यक्ष प्रसारणसहित वार्ता भएको थियो, जहाँ दुई नेतृत्वबिच चर्काचर्की नै पर्यो । युक्रेनलाई ठुलो सहयोग गर्दै आएको अमेरिकामा नयाँ राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्प निर्वाचित हुनुभयो । आफ्नो निर्वाचन एजेन्डाकै रूपमा उहाँले रुस–युक्रेन युद्ध अन्त्य गराउने घोषणा गर्नुभएको थियो । राष्ट्रपति भएको करिब एक महिना बित्न लाग्दा उहाँले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की दुवैसँग वार्ता गर्नुभयो । रुसका राष्ट्रपति पुटिनसँग उहाँको सौहार्द वार्ता भएको थियो । जेलेन्स्कीसँगको वार्ता भने फलदायी हुन सकेन । शान्तिपूर्ण युद्धविरामसँगै युद्ध अन्त्य होस् भन्ने चाहनाका साथ विश्वको ध्यान अमेरिकामा भइरहेका वार्ता र बहसतर्फ केन्द्रित थियो ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसस्थित ओभल कार्यालयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई स्वागत गर्नुभयो । वार्ता सफल हुने आशासहित त्यहाँ प्रमुख मिडियाका क्यामरा तेर्सिएका थिए । उत्साहजनक रूपमा छलफल गर्न बसेका दुई राष्ट्रपतिबिच प्रमुख प्रसङ्गमा राम्ररी प्रवेश गर्न नपाउँदै भनाभनको अवस्था आयो । क्यामरामा रकेर्ड गरिरहेका पत्रकारसमेत वार्ता चर्काचर्कीमा परिणत भएपछि अन्योलमा परे । वार्ताका भिडियोहरू विश्वव्यापी रूपमा भाइरल बन्यो ।
अमेरिकाप्रति कृतज्ञता व्यक्त नगर्न खोजेकै कारण वार्ता भनाभनतर्फ मोडिएको वार्ताको भिडियोमा देखिन्छ । कुराकानीको सुरुवातमै अमेरिकाले युक्रेनका लागि धेरै सहयोग गरिरहेको औँल्याउँदै अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले अमेरिकाले युक्रेनलाई गरिरहेको सहयोगप्रति कृतज्ञ हुन भन्दै गर्दा जेलेन्स्की आवेशमा आउनुभयो । उपराष्ट्रपति भान्सले युद्ध अन्त्यका लागि राम्रो कूटनीति आवश्यक पर्ने औँल्याउनुभए पनि जेलेन्स्कीले कस्तो प्रकारको कूटनीति हो भनेर प्रतिप्रश्न गर्नुभयो । त्यो कुरामा भान्सले राष्ट्रपतिसामु त्यो कुरा अपमानजनक भएको टिप्पणी गर्नुभएपछि जेलेन्स्की पनि आक्रोशमा आउनुभएको थियो ।
भिडियोमा देखिएको दृश्य अनुसार दुईको कुराकानीकै बिचमा आफ्नो कुरा राख्न अमेरिकी राष्ट्रपति ट्रम्प अघि सर्नुभयो । त्यसपछि अमेरिकाका राष्ट्रपति ट्रम्पले जेलेन्स्कीसँग भन्नुभयो, “तपाईंहरू (रुस र युक्रेन) सम्झौता गर्न तयार हुनु पर्छ । अब अमेरिका युक्रेनलाई सहयोग गर्ने बाटोबाट बाहिरिसकेको छ ।” त्यसपछि जेलेन्स्कीले “युक्रेनले बारम्बार युद्धविराम गर्न चाहे पनि रुसले के गर्न खोजेको हो,” भन्नुभयो । “रुसले युद्ध अन्त्य गर्न चाहेको छ, तपाईं युद्धविराम भन्दै हुनुहुन्छ, शान्ति र युद्धको अन्त्य युक्रेनले नचाहेको हो वा के भन्नुभएको हो,” भनेर फेरि ट्रम्पले आपत्ति जनाएपछि जेलेन्स्की थप आक्रोशित हुँदै रुसले बारम्बार युद्धविरामको सम्झौता भङ्ग गरेर आक्रमणमा उत्रिएको औँल्याउनुभयो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले अब भने कड्किँदै भन्नुभयो, “तपाईं लाखौँ मानिसको जीवनसँग जुवा खेल्दै हुनुहुन्छ । तपाईं तेस्रो विश्वयुद्ध निम्त्याउने जुवा खेल्दै हुनुहुन्छ र तपाईं जे गरिरहनुभएको छ, त्यो तपाईंको देशका लागि पनि अपमानजनक छ ।”
वार्ता चर्काचर्कीमा परिणत भएपछि त्यसपछि गर्ने भनिएको संयुक्त पत्रकार सम्मेलन पनि प्रभावित हुन पुग्यो । त्यसअघि नै युक्रेनका राष्ट्रपति जेलेन्स्की ह्वाइट हाउसबाट बाहिरिनुभएको थियो । त्यस घटनापछि दुवै राष्ट्रपतिले अवस्था साम्य पार्ने मनसायले आफ्नो धारणा फक्स टेलिभिजनमार्फत व्यक्त गर्नुभएको थियो ।
जेलेन्स्की अमेरिका सहयोगबाट पछि हटेको अवस्थामा भावी पुनर्निर्माणका लागि सम्भावित सहयोगको अपेक्षासहित युक्रेनको खनिजमा अमेरिकालाई पहुँच दिने सम्झौतामा हस्ताक्षरसहित युद्ध अन्त्यको वार्ता गर्ने उद्देश्यका साथ राष्ट्रपति ट्रम्पको निमन्त्रणामा अमेरिका पुग्नुभएको थियो । उहाँहरूबिचको गर्मागर्मी बहसले विश्वमञ्चमा पक्षपाती बहस निम्त्याएको छ । कुनै देश खुलेर युव्रmेनको पक्षमा रहेको जिकिर गरिरहेका छन् । कुनैले अमेरिकी राष्ट्रपतिको कुरा मानेर अगाडि बढ्न सुझाइरहेका छन् । रुस–युक्रेनबिच युद्ध अन्त्य हुने वा नहुने भन्ने विषयले सिङ्गो युरोपको भविष्य फेरि युद्ध वा शान्ति, कता मोडिन्छ यकिन गर्न नसकिने अनुमान विज्ञहरूले गरेका छन् ।