• १७ फागुन २०८१, शनिबार

‘कमरेड जलजला’ यथार्थ र कल्पनाको मिश्रण होः सिंह

blog

पत्रकार विजय कुमारसँगको छलफलमा सहभागी नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह। तस्बिरः गोरखापत्र

फडिन्द्र अधिकारी 

लेखनाथ, फागुन १७ गते। नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको बृहत् आख्यान ‘कमरेड जलजला’ हालै बजारमा आएको छ। ९० वर्षीय कम्युनिष्ट नेता सिंहले यो उपन्यास वास्तविकता र कल्पनाको मिश्रण भएको उल्लेख गर्नुभएको छ। एक हजार तीन सय २० पृष्ठको उपन्यासमा सिंहले आफ्नो जीवनका परिघटना र राजनीतिक सिद्धान्तसमेत समेट्नुभएको छ।

पोखरामा जारी साहित्य महोत्सवमा शनिबार पत्रकार विजयकुमारसँगको संवादमा उहाँले कृति आफ्नी प्रेमिकामाथि लेखिएको स्वीकार्नुभयो। उहाँले आफ्नो जीवनप्रतिको दृष्टिकोण, दर्शन, पूरा समाजको विषयबारे कृतिमा लेखेको सुनाउनुभयो।

“त्यसमा जीवन पूरै काल्पनिक छैन। यद्यपि कल्पनाको पनि त्यसमा मद्दत लिएको छु। कयौं वास्तविक घटना पनि छन् मेरा,” उहाँले भन्नुभयो, “त्यसैले वास्तविकता, सत्य र कल्पनाको एउटा मिश्रण हो। त्यो सबैको निष्कर्ष हो।” 

साहित्य र राजनीति दुवैलाई जीवनका अङ्ग ठान्दै उहाँले ती एकअर्काबाट अलग हुन नसक्ने दाबी गर्नुभयो। उहाँले साहित्य लेखे पनि वा राजनीति गरे पनि लक्ष्य भने समान रहेको सुनाउनुभयो। महामन्त्री सिंहले भन्नुभयो, “जुन उद्देश्यले मैले आफ्नो राजनीतिक जीवनमा प्रयत्न गरेको छु ठीक त्यही साहित्यद्वारा पनि गरेको छु।” 

उहाँले आफू अझै पनि अर्धभूमिगत अवस्थामै रहेको जनाउनुभयो। सरकारले आफूविरुद्ध वारेन्ट जारी नगरे पनि पार्टीलाई अर्धभूमिगत राखेकै कारण आफू पनि अर्धभूमिगत भएको उहाँको स्पष्टोक्ति छ। महामन्त्री सिंहले तत्कालीन नेकपा (माओवादी) ले गरेको सशस्त्र सङ्घर्ष माक्र्सवादी, लेनिनवादी सिद्धान्त अनुरूप नभएको जिकिर गनुभयो।

व्यवस्था र मुलुकमा परिर्वतनका निम्ति सशस्त्र सङ्घर्ष अनिवार्य भए पनि त्यसको विधि, पद्धति हुने उहाँको भनाइ छ। “सशस्त्र सङ्घर्षको सिद्धान्त नै गलत भो भनेर हामीले भन्दैनौं। त्यो गल्ती कहाँ भयो भने माक्र्सवादी लेनिनवादी सिद्धान्तले सङ्घर्षको प्रक्रिया, परिस्थिति निर्माण गरेको छ। त्यसलाई उहाँहरूले सही किसिमले प्रयोग गर्नुभएन”, उहाँले भन्नुभयो। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई र माओवादी नेता कृष्णबहादुर महरा लगायतलाई आफ्ना शिष्यभन्दा पनि आन्दोलनका सहकर्मीका रूपमा लिने उहाँले सुनाउनुभयो। 

विश्वभर नै कम्युनिस्टको पतन भएको देखिएको औंल्याउँदै उहाँले नेपालमा पनि त्यस्तो भएको उल्लेख गर्नुभयो। “यो संसार विश्वव्यापी रुपमा भएको हो। त्यसको असर नेपालमा पनि देखियो,” उहाँले भन्नुभयो।