• २१ वैशाख २०८१, शुक्रबार

जमुनाहा नाकाको सुरक्षा व्यवस्थामा कडाइ

blog


नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, जेठ १७ गते । बाँकेस्थित नेपाल–भारत सीमाको जमुनाहा नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । यो नाकाबाट ठूलो परिमाणको लागूऔषधसहित साना हातहतियारसमेत भित्रिने आशङ्कामा नाकामा सुरक्षा व्यवस्था कडा पारिएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । 

सुरक्षा कडाइ गर्न दुवै देशका सुरक्षा अधिकारीहरूबीच सहमति नै भएको छ । नेपालगञ्ज भित्रिने भारतीय साना गाडीबाट अवैध हातहतियार भित्रिन सक्ने आशङ्कालाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख वरिष्ठ नायब निरीक्षक माधवप्रसाद रिजालले बताउनुभयो । 

विगतझैँ यो नाकाबाट लागूऔषध भिœयाउने समस्या चुनौतीपूर्ण बन्दै गएकाले उक्त अवैध कार्य नियन्त्रण र अन्य गैरकानुनी सामान भित्रिन नदिन नाकामा कडाइ गरिएको छ । भारतबाट आउने सवारी साधनमाथि थप निगरानी बढाइएको उहाँले बताउनुभयो । 

नाकामा चेकजाँच कडाइ गर्नुका साथै आवागमन गर्ने सर्वसाधारण र भारतीय पर्यटकसँग राम्रो व्यवहार गर्न मातहतका प्रहरीलाई निर्देशन दिएको उहाँले बताउनुभयो । उहाँले सीमापारि गएर घरायसी सामान किनमेल गर्ने नाममा तस्करी बढ्दै गएको पाइएको जनाउँदै त्यसमा पनि नियन्त्रण गर्ने कार्य सुरु गरिएको बताउनुभयो । सीमापारिको रुपैडिहा बजारमा लागूऔषध खुला रूपमा विक्री वितरण हुने गरेको छ । लागूऔषध खरिद गर्न दैनिक ठूलो सङ्ख्यामा नेपाली युवा रुपैडिहा पुग्ने गरेका छन् । 

प्रहरीका अनुसार उक्त अवैध कार्य रोक्न नाकामा सुरक्षा निगरानी कडा पारिएको प्रहरीले जनाएको छ । दैनिक रूपमा सीमापारि गएर आउने व्यक्तिको पहिचान, खानतलासी र सोधपुछ गर्ने गरिएको छ । 

नेपालतर्फको जमुनाहा नाकामा चेकजाँच कडा पारिएपछि भारतीय सुरक्षा निकाय भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पनि चेकजाँच कडा गर्दै गएको छ । यसअघि स्थानीय तह निर्वाचनको समयमा पनि नाकामा सुरक्षा व्यवस्था कडा पार्नुका साथै थप सुरक्षाकर्मी परिचालन गरिएको थियो ।